आकर्षक र मेहनती अनुपविक्रम शाही

- कृष्ण भट्टराई

श्रावण ३, २०७५

मोडलिङबाट अभिनयमा आएका अभिनेता अनुपविक्रम शाही यतिबेला व्यस्तताको शिखरमा छन् । उनले अभिनय गरेका चलचित्रको संख्या केही दर्जन नाघिसकेको छ भने प्रदर्शनको तयारीमा रहेका चलचित्रको संख्या झन्डै आधा दर्जन छ । अनुपका पछिल्ला चलचित्र कमलेको बिहे, झमकबहादुर, विरंगना, जय शम्भो आदि प्रदर्शनको क्रममा छन् । कृसहित केही चलचित्रमा नकारात्मक भूमिकामा प्रस्तुत भएका अनुप विज्ञापन तथा म्युजिक भिडियोमा समेत उत्तिकै सक्रिय छन् । 

विशाल भण्डारी, निर्देशक

अनुप जब नेगेटिभ क्यारेक्टर प्ले गर्छन्, उनको हरेक एक्सप्रेसन मलाई बेस्ट लाग्छ । उनको ड्ेरसिङ सेन्स उत्कृष्ट छ । हरेक समय फिट एन्ड फाइन अनि आकर्षक देखिन्छन् । अन्य अभिनेताहरूले उनको फिटनेसप्रतिको लगावबाट धेरै कुरा सिक्नु पर्छ । त्यसबाहेक अनुप निकै मेहनती छन् । क्यारेक्टरमा भिज्न सक्ने क्षमता छ । समग्रमा उनी राम्रा कलाकार हुन् । 

प्रदीप खड्का, अभिनेता

अनुप विक्रम शाही मलाई पहिलेदेखि नै राम्रा लाग्थे । मैले उनीसँग काम नै गरेको चाहिँ चलचित्र लिलिबिलीमा हो । म उनलाई चलचित्रको क्यारेक्टरमा प्रशस्त मेहनत गर्ने प्रतिभाशाली अभिनेताका रूपमा चिन्छु । व्यक्तित्वसमेत आकर्षक भएको उनी नेपालकै एक उत्कृष्ट अभिनेता हुन् । 

समीर बलामी, निर्देशक/सञ्चारकर्मी 

अनुप एक्सन भूमिकाका राम्रोसँग जम्न सक्ने कलाकार हुन् । यद्यपि उनले धेरै कुरामा धैर्य गर्न सक्नुपर्छ । प्रस्ताव गरिएका सबै चलचित्रमा अभिनय गर्नै पर्छ भन्ने सोच त्याग्नुपर्छ । चलचित्र छनोट गरेर अभिनय गर्न सके उनी अझै माथि जाने कलाकार हुन् ।

देविका बन्दना, गायिका

म त अनुपको फ्यान नै हुँ । अभिनयसँगै अनुप व्यक्तिगत रुपमा पनि धेरै असल छ । कामप्रति जिम्मेवार र समयको इज्जत गर्ने मानिस हो । अनुपको बारेमा जति बयान गरे पनि शब्द कम हुन्छ ।

नीलडेभिड कटवाल, हेयर स्टाइलिस्ट

मलाई अनुपविक्रम शाहीको व्यक्तित्व आकर्षक लाग्छ । उहाँको व्यक्तित्व विदेशका अभिनेताहरूसँग तुलना गर्न मिल्ने खालको छ । अग्लो कद भएकाले पनि होला उहाँलाई रोमान्टिकभन्दा एक्सन दृश्यमा आकर्षक देखिन्छ ।

 

प्रकाशित :श्रावण ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्