अमेरिकामा बढ्दै नेपाली चलचित्र

- शिव शर्मा

श्रावण २, २०७५

टेक्ससको ड्यालस बस्दै आएका नेत्र पौडेल यहाँ प्रदर्शन हुने नेपाली चलचित्र प्राय: छुटाउँदैनन् । नेपाली चलचित्रका पारखी पौडेलले लोकप्रिय नेपाली चलचित्र सपरिवार हलमा पुगेर हेर्दै आएका छन् । विदेशमा रहँदा नेपाली चलचित्रको मोह बढी हुँदोरहेछ उनले भने– ‘चलचित्र हेर्दा आफ्नै देशमा पुगेको अनुभूति हुन्छ ।’ नेपाली दर्शकको मोह बढ्दै गएपछि अहिले अमेरिकाका विभिन्न राज्यमा नेपाली चलचित्र प्रदर्शन हुने क्रम बढ्दो छ । चलचित्र निर्मातासँग सम्झौता गरेर आयोजकहरूले यहाँ नेपाली चलचित्र प्रदर्शन गर्दै आएका छन् । कुनै बेला निर्माता आफैं आएर दुई चार महिना यतै बसेर आफ्नो चलचित्र देखाएर फर्कने चलन रहेको स्थानीय चलचित्र प्रेमीहरू बताउँछन् । 

अहिले व्यवसायिक रूपमा विभिन्न संस्थाले सिधै निर्मातासँग सम्पर्क गरी नेपाली चलचित्र देखाउने क्रमले व्यापकता पाएको छ । पाँच वर्षयता अमेरिकाका विभिन्न राज्यमा व्यवसायिक रूपमा नेपाली चलचित्र प्रदर्शन हुन थालेको हो । फ्युजन इन्टरनेसनल नेपसिने तथा प्लानेट थ्री फिल्म्सले सन् २०१२ देखि निरन्तर रूपमा दर्शकको मागअनुसार अमेरिकी राज्यहरूमा नेपाली चलचित्र देखाउँदै आएको छ । 

अमेरिकामा प्रदर्शन हुने ८० प्रतिशत चलचित्र हामीले संयोजन गरेर प्रदर्शन गर्दै आएका छौं, फ्युजन इन्टरनेसनल नेपसिनेका प्रमुख रायन रेज भन्छन्– यो क्रमसँंगै अमेरिकामा नेपाली चलचित्रप्रतिको मोह पनि बढेको छ । चलचित्र हेर्ने दर्शक बढे पनि यसरी प्रदर्शन भएका एक दुईवटा चलचित्र बाहेक अन्यले आयोजकलाई आर्थिक फाइदा नपुर्‍याएको उनी बताउँछन् । कतिपय अवस्थामा घाटा सहेर पनि निर्मातालाई पैसा बुझाएका छौं– रेजले बताए । अमेरिकामा छक्कापन्जाले राम्रो आम्दानी गरे पनि अरुले भने औसत मात्र आम्दानी गर्न सकेको बताइन्छ । 

अमेरिकाको पनि विशेष गरी नेपाली समुदायको अधिक बसोबास रहेको टेक्सस, न्युयोर्क, सनफ्रान्सिसको, बाल्टिमोर तथा बोस्टन आदि राज्यमा नेपाली चलचित्रको प्रदर्शनमा दर्शकको उपस्थिति बाक्लो रहने आयोजकहरूको अनुभव छ । नेपालमा रहँदा पनि चलचित्र निर्देशनसँगै चलचित्र पत्रकारिता गर्दै आएका सुरेश दर्पण पोखरेलले पनि क्यालिर्फोनियामा रहेर माया इन्टरटेनमेन्टमार्फत नेपाली चलचित्र स्थानीय चलचित्र हलमा प्रदर्शन गराइरहेका छन् । भर्खरै मात्र उनले शत्रुगतेको प्रदर्शन गरे । पोखरेल भन्छन्– दर्शकको चाप बढ्दै गएपछि नेपाली चलचित्र नियमित रुपमा प्रदर्शन गरिहेका छौं । 

अमेरिकामा नेपाली चलचित्रको सार्वजनिक प्रदर्शन त्यति सजिलो भने छैन । सामान्यत: चलचित्र प्रदर्शन गर्न नेपाली १ लाखदेखि ३ लाख रुपैयाँसम्म भाडा तिर्नुपर्छ । चलचित्र हेर्न १ हजार ५ सयदेखि ३ हजार रुपैयाँ शुल्क लाग्छ । दर्शकले रुचाएका चलचित्रको ४० देखि ५० वटा शोका लागि ४० लाख रुपैयाँसम्म खर्च हुँदै आएको आयोजकहरू बताउँछन् । 

टेक्ससमा युवा फिल्म्सले नेपाली चलचित्र प्रदर्शनसँगै स्थानीय रूपमा नेपाली चलचित्र सफर निर्माण गरेर टेवा पुर्‍याएको थियो । अहिले संस्था निष्क्रिय भए पनि अन्य नयाँ तथा व्यक्तिगत रूपमा नेपाली चलचित्र प्रदर्शन गर्ने लहर बढेको छ । केटिएम इन्टरटेनमेन्ट एवं अन्य व्यक्तिहरूको पहलमा नेपाली चलचित्र नियमित प्रदर्शन हुन थालेका हुन् । नेपाली चलचित्रले दर्शकको साथ पाउन थालेपछि नेपाली समुदायले समेत नेपाली चलचित्रको प्रवद्र्धनमा सघाउ पुर्‍याउँदै आएको छ । 

प्रकाशित :श्रावण २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्