हामी कहिलेसम्म अविवाहित बस्ने

- नरेन्द्र रौले

श्रावण २, २०७५

काठमाडौंकी एन्जल लामा बोल्ड र ब्युटिफुल छिन् । १९ वर्षमा पाइला टेकेकी लामा केटाका रूपमा जन्मिइन्, तर उनमा महिलाको स्वभाव र व्यवहार विकसित हुँदै गयो । साढे दुई वर्षअघि तेस्रोलिंगी महिलाका रूपमा खुलेर आउनुअघि समाजका अनेक लान्छना सहँदै, संघर्ष गर्दै अघि बढेकी लामासँग बलियो आत्मविश्वास छ । उनी सफल वकिल बन्न चाहन्छिन् । राजनीतिमा रुचि राख्ने एन्जल उमेरभन्दा परिपक्व देखिन्छिन् । ब्लु डायमण्ड सोसाइटीसँग आबद्ध एन्जलले साप्ताहिकसँग गरेको कुराकानीको सारसंक्षेप :

मिस पिंक–२०१८ को उपाधि हात पर्दा कस्तो महसुस गर्नुभयो ?

समाज तथा घर–परिवारसँग लडेर यो स्टेजसम्म आउने सबै तेस्रोलिंगी मिस पिंक हुन् । सबैले एवार्ड पाएजस्तै हो । म एकदमै खुसी छु— मेरो प्रस्तुतिलाई मूल्यांकन गरेर उपाधि प्रदान गरिएकोमा । थप जिम्मेवारी पाएको महसुस भएको छ । अब नेपालको प्रतिनिधित्व गर्दै मिस इन्टरनेसनल क्विनमा भाग लिन थाइल्यान्ड जाँदैछु । 

एवार्ड हात पार्दा सबैभन्दा पहिले कसलाई सम्झनुभयो ? 

मैले मेरो हुनेवाला जीवनसाथीलाई सम्झिएँ, जो त्यही कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । मैले यसो फर्केर हेर्दा उहाँलाई छेउमै पाएँ । उहाँकै अनुहारमा मेरो आँखा गयो । मैले जितें है भन्ने भावले हेर्दाको त्यो खुसी व्यक्त गर्न सक्दिनँ । एकदमै खुसीका साथ हेरिरहें । मेरी आमा पनि त्यही हुनुहुन्थ्यो । मामुलाई मैले बोलाएकी थिएँ । उहाँ केही बोल्नै सक्नु भएन । शब्दविहीन हुनुभयो । भाबुक बन्नुभयो र ट्वाल्ल पर्नुभयो । 

तपाईले संकेत गर्नुभएको उहाँका बारेमा अलिकति खुलाउन मिल्छ ?

उहाँको नाम सौरभ श्रेष्ठ हो । मेरो बाहिरी रूप नहेरी भित्री मनदेखि नै मलाई माया गर्नुहुन्छ, मलाई राम्रोसँग बुझ्नुहुन्छ । म साढे २ वर्षदेखि उहाँसँगको सम्बन्धमा छु । समाज र परिवारका अनेक बाधा, व्यवधानबीच उहाँले मलाई साथ र सहयोग दिनुभयो । दु:खका हरेक पलमा उहाँ मेरै साथमा हुनुहुन्छ । यो कार्यक्रमको तयारी सुरु भएदेखि नै उहाँले मलाई हौसला दिइरहनुभएको थियो । नजिते पनि यो कार्यक्रमको अन्तिम प्रतियोगीमा छानिनु नै ठूलो कुरा हो भनेर ढाडस दिइरहनुहुन्थ्यो । 

तपाईंहरूको पहिलो भेट सम्झनुहुन्छ ?

एउटा फेसन शोमा हाम्रो भेट भएको थियो । उहाँको साथी मोडल हुनुहुन्थ्यो । मेरो साथी पनि मोडल थियो । हामी नजिकै थियौं । एकै नजरमा माया बस्यो । हाम्रा निर्दोष आँखाहरू जुझे । हेराहेर भैरह्यो । मलाई उहाँको बोली, हिँडाइ, मुस्कान सबै मन पर्‍यो । मन पर्ने मान्छेको सबै कुरा मन पर्दो रहेछ । दुई हप्तापछि फेरि साथीहरूसँगको भेटघाटका क्रममा हाम्रो दोस्रो भेट भयो । त्यसबीच अलिअलि बोलचाल अनि फोन नम्बर साटासाट भयो । 

सौरभले तपाईंको कुन कुराको प्रशंसा गर्नुहुन्छ ?

मेरो मुस्कान र ओठको । तिम्रो मुस्कानमा चार्म छ भन्नुहुन्छ । 

तपाईंलाई उहाँको कुन पक्ष मनपर्छ ?

जुनबेला उहाँलाई देखें । वाउ ! मेरो हुनेवाला श्रीमान् यस्तै भैदिए हुन्थ्यो जस्तो लाग्यो । टक्क हेरें, गुणैगुणले भरिएको, कुनै अवगुण देखिनँ । भविष्यमा मेरा लागि यही व्यक्ति सही हुन्छ जस्तो लाग्यो । मलाई हरेक कुरामा उहाँ पर्फेक्ट लाग्नुहुन्छ । म तेस्रोलिंगी महिला भए पनि उहाँ भित्रैदेखि मलाई माया गर्नुहुन्छ, बुझ्नुहुन्छ, हरेक कुरामा साथ दिनुहुन्छ । 

तपाईंहरूबीचको सम्बन्धलाई घरमा स्वीकार गरिन्छ त ?

हाम्रो सम्बन्धलाई घरमा शतप्रतिशत स्वीकार गरिएको छ । मेरी र उहाँकी आमाले हाम्रो सम्बन्धलाई स्वीकार गरिसक्नुभएको छ । उहाँहरू दुवै जना मिस पिंकको कार्यक्रममा उपस्थित पनि हुनुहुन्थ्यो । मेरो जितमा उहाँकी आमा एकदमै खुसी भएको पाएँ— आँखाबाट पनि खुसी, मनबाट पनि खुसी । उहाँले आफ्नै सन्तानको जितजस्तै मान्नुभयो । मसँग तस्बिर खिचाउन पनि आउनुभयो । मेरो प्रगतिमा कोही यसरी खुसी हुनु मेरा लागी थप खुसीको कुरा हो । 

विवाह कहिले गर्ने सोचमा हुनुहुन्छ ?

आफ्नो खुट्टामा उभिने भैसकेपछि गर्छु, तर कानुनले अवरोध गरेको छ । 

कानुनले कसरी अवरोध पुर्‍यायो ?

अदालतले सँगै बस्न अनुमति दिए पनि समलिंगी, तेस्रोलिंगीसँगको विवाहलाई कानुनी मान्यता दिइएको छैन । धारा १२, १४ र ४२ मा अधिकारको कुरा त उल्लेख छ, तर त्यो लागू भएको पाइँदैन । कानुन र यो समाजसँग मेरो गुनासो छ । हाम्रो अगाडि प्रशंसा गरे पनि पछाडि अपहेलना गरिन्छ । मानसिक यातना दिइन्छ । यस्तो कुराले मन दुख्छ । हामी पनि विवाह गरेर सकारात्मक सन्देश दिन चाहन्छौं । 

आफ्ना सन्तानका रूपमा छोरा वा छोरी के पाउने आशा छ ?

म सन्तान जन्माउन त सक्दिन । हामीले धर्मपुत्र वा पुत्री ग्रहण गर्नुपर्छ । छोरा–छोरी जे भए पनि समाजका लागि राम्रो व्यक्ति होस् भन्ने चाहन्छु । लिंगलाई होइन स्वभाव र कर्मलाई बढी प्राथमिकता दिन चाहन्छु । 

तपाईं भर्खर १९ वर्ष पुग्दै हुनुहुन्छ । चाँडै प्रेममा पर्नुभएछ हैन ?

प्रेममा उमेरको कुनै सीमा हुँदैन । न त यसमा लिंगले नै फरक पार्छ । यही उमेरमा माया बस्नुपर्छ भन्ने पनि छैन । जीवनसाथी अघि वा पछि जहिले पनि फेला पार्न सकिन्छ । कसैले साथ दिन्छ, दिँदैन त्यो त आपसि समझदारी र बुझाइमा भर पर्छ । 

तपाईंको नजरमा प्रेम के हो ?

प्रेम दुई व्यक्तिबीचको पवित्र सम्बन्ध हो । प्रेममै यो संसार अडिएको छ । माया नै नभएको भए यो संसार रोबोटजस्तो हुन्थ्यो । प्रेम नै बाँच्ने आधार हो । 

विवाहलाई कसरी परिभाषित गर्नुहुन्छ ?

विवाह एउटा पवित्र सम्बन्ध हो । एक–अर्कालाई साथ दिने बाचा, बन्धन यसमा जोडिन्छ । 

तपाईं समाजमा खुलेर आउनुभएको साढे दुई वर्ष भयो । त्यसअघि के कस्ता समस्या झेल्नुपर्‍यो ? 

तेस्रोलिंगी महिलाको सन्दर्भमा पुरुष भएर जन्मिए पनि सोचाइ, हिंडाइ, लवाइखवाइ महिलाको जस्तो हुन्छ । म किन खुलेर आइन भने मलाई पहिले यस विषयमा केही थाहा थिएन । म भित्रभित्रै आफैंसँग लडिरहेको थिए । म केटा भएर पनि किन केटाप्रति नै आकर्षित भैरहेको छु जस्तो लाग्थ्यो । मलाई लैंगिक पहिचानका बारेमा उति थाहा थिएन । ब्लु डायमण्ड सोसाइटीको सम्पर्कमा पुगेंपछि केही कुरा जान्ने मौका पाएँ । हामी पनि महिलाको पहिरनमा हिंड्न सक्छौं भन्ने कुरा थाहा पाइयो । भित्रभित्रै थुप्रै समस्या बोकेर बाँच्नुपर्ने अवस्था थियो । मानिसहरू मेरो हिँडाइ, बोलाइ आदिप्रति गुनासो गरिरहन्थे । स्कुलमा शिक्षकले त्यो केटी जस्तो केटालाई बोलाऊ त भनेर जिस्क्याउँथे । म एकदमै डिप्रेसनमा परें । मलाई देखेर विद्यार्थी, शिक्षक सबै हाँस्थे । म आमालाई पनि भन्न सक्दिनथें । यही कारणले मेरी आमा र बुबा पनि अलग हुनुभयो । आमालाई अझ बढी तनाव नहोस् भनेर मैले सहेर बसें ।

किन पहिल्यै खुलेर आउन सक्नुभएन ?

एकै पटक खुलेर आउन गार्‍हो थियो । आफ्नो कुरा कसलाई सुनाउने ? बुझिदिने कोही थिएनन् । साढे २ वर्षअघि म ब्लू डायमन्ड सोसाइटीको सम्पर्क पुगें । त्यहाँ कार्यरत व्यक्तिहरूले परामर्श दिनुभयो । त्यसपछि क्रमश: सहज हँुदै गयो अनि म बिस्तारै खुल्दै गएँ । 

आफू तेस्रोलिंगी भएको कहिले थाहा पाउनुभयो ?

जब हिँड्न थालें, स्कुल जान थालें, मनैदेखि म अरूभन्दा भिन्न छु भन्ने लाग्थ्यो । साढे २ वर्षअघि जब म ब्लु डायमण्डको सम्पर्कमा पुगें, तब थाहा भयो म जस्ता व्यक्तिलाई तेस्रोलिंगी भनिदो रहेछ । म दुई–तीन वर्षको छँदा कुर्ताको सलको सारी बनाएर लगाउँथे रे । लिपिस्टिक लगाएर हिँड्थें । भाँडाकुटी र पुतली खेल्न मन लाग्थ्यो । म केटी नै हँु जस्तो महसुस हुन्थ्यो । कक्षामा पनि केटाहरूभन्दा केटीहरूसँग कुरा मिल्थ्यो । 

आफू पुरुष नै भैदिए हुन्थ्यो भन्ने लागेन ?

कहिल्यै लागेन । यदि पुरुष भैदिएको भए मैले यति प्रगति गर्ने थिइनँ । घरमै हुन्थें होला । विवाह गर्थें हुँदा । यो उपाधि पनि जित्ने थिइनँ । म जे छु, जस्तो छु त्यसमै गर्व छ । 

तपाईंको परिवारमा को–को हुनुहुन्छ ?

मेरो बुबा, आमा हुनुहुन्छ । आमाले सानो होटल व्यवसाय सञ्चालन गरिरहनुभएको छ । म परिवारको एक्लो सन्तान हँु । 

आफ्नो अध्ययन कहाँ पुर्‍याउनुभयो ?

मैले ललितपुरको पवनप्रकृति स्कुलबाट एसएलसी उत्तीर्ण गरें । त्यसपछि कलेज भर्ना भएँ, तर ११ कक्षा पढ्दा–पढ्दै बीचैमा छोडिदिएँ ।

किन बीचैमा पढाइ छोड्नुभयो ?

मलाई गार्‍हो भयो । परिवार र कलेजबाट सोचेजस्तो सहायता मिलेन । बाध्य भएर मैले पढाइ छोड्नुपर्‍यो । म पढाइलाई फेरि निरन्तरता दिन चाहन्छु र कानुन पढेर सफल वकिल बन्ने इच्छा छ । यसलाई जसरी पनि पूरा गर्छु । 

हिजोआज तपाईंको दिनचर्या कसरी बितिरहेको छ ? 

मिस पिंक–२०१८ को उपाधि जितेपछि दौडधुप बढेको छ । जिम्मेवारी पनि थपिएको छ । हरेकजसो कार्यक्रममा सक्रियताका साथ सहभागी भैरहेकी छु । लुकेर बसेका समलिंगी, तेस्रोलिंगी समुदायका साथीहरूलाई हौसला दिन, सचेतना ल्याउन भूमिका खेलिरहेकी छु ।

 

थाइल्यान्ड पनि घुम्नुभयो । पासपोर्टका कारण कुनै समस्या भोग्नुपर्‍यो कि ?

मेरो नागरिकता र पासपोर्टमा सबिन लामा लेखिएको छ । त्यसमा पहिलेको तस्बिर राखिएको छ । थाइल्यान्डको एयरपोर्टमा त मैले कुनै समस्या भोग्नु परेन, तर हाम्रै देशको इमिग्रेसनमा बढी नै केरकार भयो । तपाईंको पासपोर्टको तस्बिर र अहिलेको अनुहार मिल्दै मिलेन । यो त अर्कैको पासपोर्ट हो भनेर दु:ख दिइयो । नागरिकता र पासपोर्टमा लिङ्ग लेखिएको ठाउमा मेल, फिमेल र अदर्स लेखेर मात्र पुग्दैन । त्यहाँ वास्तविक नाम पनि लेख्ने व्यबस्था भए सजिलो हुने थियो ।

सरकारले तपाईंको समुदायका लागि के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?

समलिंगी, तेस्रोलिंगी विवाहलाई कानुनी मान्यता दिनुपर्‍यो । हामी कहिलेसम्म अविवाहित बस्ने ? त्यस्तै बनेका कानुनहरू पनि लागू हुुनुपर्छ । 

 

प्रकाशित :श्रावण २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्