विषय छनौटमा सहजता
श्रावण १, २०७५
मिस्ट कलेजबाट कक्षा १२ को परीक्षा दिएर रिजल्टको पर्खाइमा बसेकी धादिङकी जयन्ती गुरुङको लक्ष्य कृषि वैज्ञानिक बन्ने छ । आफ्नो लक्ष्य पछ्याउन उनी राम्रो कृषि क्याम्पसको खोजीमा आइतबार भृकुटीमण्डपमा सञ्चालित काठमाडौं एडुफेयरमा पुगेकी थिइन् । एडुफेयरमा उनले नेपाल तथा भारतका धेरैवटा कृषि क्याम्पसको जानकारी लिइन् । त्यसमध्ये दुईवटा क्याम्पसले उनको ध्यान खिचे । कक्षा १२ को रिजल्ट आएसँगै उनी बिएस्सी एजीका लागि अघि बढ्नेछिन् । त्यसअघि भने ती कलेजमा अध्ययनका लागि गर्नुपर्ने तयारीमा लाग्नेछिन् । ‘कृषि पढ्ने मेरो इच्छा हो,’ गुरुङले भनिन्, ‘यहाँ आएर अब कसरी अघि बढ्ने भन्ने कुरामा स्पष्ट भएँ ।’
मेलामा काठमाडौंका आदित्य शाह पनि भेटिए । केएमसीबाट विज्ञानमा १२ कक्षा को परीक्षा दिएर बसेका आदित्यले इन्जिनियर हुने सोच राखेका छन् । उनी आफ्नो सोचलाई साकार बनाउन राम्रो इन्जिनियरिङ कलेजको खोजी थिए । उनले मेलामा आफूले खोजी गरेजस्ता धेरै कलेज फेला पारे । शाहले आफ्नो सोचअनुरूपको कलेजको जानकारी लिनुका साथै ती कलेजमा कसरी एप्लाइ गर्ने भन्ने जानकारी पनि लिए । ‘यहाँ आउनुअघि कसरी राम्रो कलेज छान्ने होला भन्ने लागेको थियो ।’ शाह भन्दै थिए, ‘अब त्यो दुविधा हटेको छ ।’ आदित्यसँगै मोरङका रूपेशकुमार यादव पनि मेलाबाट आफूले भविष्यमा पढ्ने विषय तथा रोजाइको कलेजका बारेमा भरपर्दो जानकारी पाएको बताउँदै थिए ।
‘मैले भारत गएर इन्जिनियरिङ अध्ययन गर्ने सोच बनाएको थिएँ ।’ आदित्य भन्दै थिए, ‘यहाँ आएपछि भारतका एकसे एक इन्जिनियरिङ कलेजहरूका बारेमा जानकारी पाएँ र एप्लाइ गर्ने तरिका पनि थाहा पाएँ ।’ कलेज र विषयका साथसाथै कलेजहरूमा पाइने छात्रवृत्तिका बारेमा पनि आफूले जानकारी लिएको उनले बताए ।
मेलामा पुगेकी १७ वर्षीया इन्दिरा थापाको अनुभव भने अलि फरक थियो । उनी नेपालमै कानुन लिएर पढ्ने सोचका साथ नेपाली कलेजको खोजीमा थिइन् । मेलामा कानुन पढाउने नेपाली कलेज पाइनन् तर भारतीय कलेज भने फेला पारिन् । त्यहाँबाट उनी नेपालको नभए पनि भारतका कलेजहरूको विषयमा जानकारी लिएर फर्किइन् । ‘मैले नेपालमा कानुन पढाउने कलेजका बारेमा जान्न चाहेकी थिएँ ।’ थापाले साप्तहिकसँग भनिन्, ‘नेपाली कलेज नपाए पनि भारतीय कलेजमा कसरी अध्यापन गराउँछन् र त्यहाँ कसरी भर्ना लिने भन्ने जानकारी पाएँ ।’
मेलामा नेपाली तथा भारतीय कलेजका साथै तेस्रो मुलुकमा पढ्न चाहनेहरूका लागि जानकारी उपलब्ध गराउने परामर्श केन्द्रहरूसमेत थिए । नेपाल भारत, बंगलादेश, अस्ट्रेलिया, युरोप तथा अमेरिका गएर पढ्न चाहनेहरूले एउटै थलोमा जानकारी पाउने स्थलका रूपमा विद्यार्थीले मेलालाई राम्रो सदुपयोग गरेको मार्सी एजुकेसनका फाउन्डर डाइरेक्टर राम टण्डन बताउँछन् । विद्यार्थीलाई विदेश गएर पढ्दा अध्ययनका साथै आर्थिक रूपमा पनि सहज हुने देश छान्न सुझाव दिँदै टण्डन भन्छन्, ‘स्वदेशमा पढ्न चाहनेहरूका साथै विदेश पढ्न जानेहरूका लागि एकै स्थानबाट धेरै तथा सही जानकारी प्राप्त गर्ने राम्रो प्लेटफर्म हो यो मेला ।’
टण्डनका अनुसार तेस्रो मुलुकमा पढ्न जाँदा फाइन्सियल सपोर्टका लागि सहज हुने देश छान्नुपर्छ । अमेरिका र अस्ट्रेलिया पढ्न जाने विद्यार्थीका लागि काउन्सिलिङमार्फत सहयोग गरिरहेका टण्डन आइटी, नर्सिङ तथा म्यानेजमेन्ट पढ्न चाहनेहरूले ती देश रोज्नु उपयुक्त हुने सल्लाह दिन्छन् ।
व्यवस्थापन विषयमा नेपालमै नयाँ–नयाँ विषय आइसकेको बताउने किङ्स कलेजका गोकुल क्षेत्री विद्यार्थीको इच्छा र क्षमताअनुसार नेपालकै कलेजहरूले स्तरीय शिक्षा दिन सक्ने दाबी गर्छन् । उनी विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका वा नेपाली विश्वविद्यालयबाटै सम्बन्धन पाएका कलेजहरूले उत्कृष्ठ अध्यापन गराइरहेको दाबी गर्छन् । मेलामा नेपाली विश्वविद्यालयबाट सम्बन्धन लिएका, विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर अध्यापन गराइरहेका, ए लेभल अध्यापन गराइरहेका तथा विदेश पढ्न जाने विद्यार्थीहरूलाई जानकारी दिन १ सयभन्दा बढी कलेज उपस्थिति थिए ।
-सुमन श्रेष्ठ, मार्केटिङ एण्ड कम्युनिकेसन हेड, द ब्रिटिस कलेज
यो प्लस टु दिएर बसेका विद्यार्थीहरूलाई लक्षित फेयर हो । नेपालमा पढाइ हुने विषयहरूदेखि लिएर भारत तथा अन्य मुलुकमा पढाइ हुने विषयका बारेमा एकै ठाउँमा जानकारी दिने उद्देश्यले यो फेयरको आयोजना गरिएको हो । यहाँबाट विद्यार्थीले गुणस्तरीय शिक्षा लिन नेपाली विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजदेखि विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेज तथा ए प्लस कलेजहरूका विषयमा जानकारी लिइरहेका छन् । कतिपय विद्यार्थी विदेशमा पढ्न चाहने पनि हुन्छन्, यो उनीहरूले सीधै ती देशका प्रतिनिधिहरूसँग छलफल गर्ने अवसर पनि हो । फेयरहरूले विद्यार्थीलाई आफ्नो क्षमताअनुसारको विषय तथा कलेज छान्न मद्दत पुर्याउँछन् ।
-राम टण्डन, मार्सी एजुकेसन
विदेश पढ्न जान नचाहने विद्यार्थीले सबैभन्दा पहिले आफ्नो क्षमतामा ध्यान पुर्याउनुपर्छ । अस्ट्रेलिया, अमेरिका जाने हो भने आईटी, म्यानेजमेन्ट तथा नर्सिङ पढ्नु उपयुक्त हुन्छ । विदेश पढ्न हामी सबैको आर्थिक अवस्थाले दिँदैन, त्यसैले आर्थिक उपार्जन हुन सक्ने देश छान्न सक्नुपर्छ । अमेरिका वा अस्ट्रेलिया पढ्न जाँदा विश्वविद्यालय तथा कलेजअनुसार फरक–फरक शुल्क लाग्छ । औसतमा भन्ने हो भने १०/१२ लाख खर्च हुन्छ ।
प्रकाशित :श्रावण १, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्