कर्णालीको कथा

- किशोर नेपाल

श्रावण १, २०७५

अहिले त विनायक पनि नगरपालिका भैसक्यो । साइघाटमा पक्की पुल बनेपछि कर्णाली सुगम भयो । राम्रो सडकको एउटा फाइदा के छ भने मोटर कुँद्छ । मानिसलाई हल्लाउने र उनीहरूको पेट हुँडल्ने काम गर्दैन । साइघाटबाट उकालो लाग्यो रायनाको जिप । त्यतिखेर सूर्य धमिलिन थालिसकेका थिए । रायना चारैतिर नियालेर हेर्दै थिई । कर्नालीका हल्का नागवेली तस्बिर उसको आँखामा चढेका थिए । ढुंगामा कुँदिएको मूर्तिजस्तै । प्रकृतिका रोमाञ्चक दृश्यहरूले उसको पूरै शरीर रोमाञ्चित भैरहेको थियो । ऊ त्यो परको ढुंगामा बसेर ब्वाइफ्रेन्डसँग रोमान्स लडाउन पाए कति मोज हुने थियो ! बेलाबेलामा ऊ तरंगित हुन्थी ।

यताका मानिसहरूको जीवन देखेर रायना लट्ठ परेकी थिई । शोक न सुर्ता भोक न भकारी । न समयको चिन्ता, न दूरीको ज्ञान । ‘कति छ विनायक यहाँबाट ?’ उसको चालक मानिस देख्यो कि सोधिहाल्थ्यो । जवाफमा कोही ऊ त्यहीँ पर हो भन्थे । कोही एक घन्टा लाग्छ भन्थे । कसैको जवाफमा पनि समानता थिएन । समय आफ्नै चालले निरपेक्ष चलिरहेको थियो । मानिसहरू आफ्नै सुरले समयसँग निरपेक्ष थिए ।

रायना सोच्दै थिई, उसले अहिलेसम्म केही जानेकै रहेनछ । देशको सीमा बाहिरका सहरहरूको दर्जनौं नक्साका बारेमा जानकारी राखे पनि आफ्नै देशको काठमाडौं सहर र त्यसमा पनि दरबार मार्गभन्दा बाहिरको नक्सा यस्तो होला भन्ने त उसले कल्पना नै गरेकी थिइन । फेसबुक भन्यो, ट्विटर भन्यो, पव भन्यो, डान्स भन्यो । सहरका नाममा व्यवस्थित कुवाभित्रको भ्यागुतोभन्दा बढी ऊ केही पनि त रहिनछ । 

उनीहरू विनायकको सानो बजार पुग्दा साँझ झम्किइसकेको थियो । सोलार बत्तीको उज्यालोमा बजारको एउटा पसलमा ‘यहाँ खाने र बास बस्ने उत्तम प्रबन्ध छ’ लेखिएको साइनबोर्ड टल्किएपछि उसको चालक त्यतै लाग्यो । चालकलाई आफ्नो भन्दा पनि रायनाको चिन्ता थियो । तै पसलको मालिक भलाद्मी निस्कियो । उसले रायनाका लागि आफना छोरीहरू सुत्ने एउटा कोठा खाली गरिदियो र भन्यो–‘लौ नानी, थाकेर आउनुभएको होला, अब आराम गर्नुस् । म दाल–भात पकाइ दिन्छु । मीठो–मसिनो पाइँदैन नानी ! गाउँको सुख–दु:ख यस्तै हो ।’ 

साँच्चै थाकेकी थिई रायना । कोठामा पुगेर खाटमा पल्टिनासाथ ऊ झकाउन थाली हाली । निकै बेरपछि कसैले बोलाएको आवाजले ऊ ब्युँझी । हातमा मैनबत्ती बोकेकी एउटी केटी उसलाई खाना खान बोलाउँदै थिई । रायना तल ओर्लिई । हातमुख धोई र खाना खान बसी । तल्लो डुंगेश्वरमा माछा खाएपछि उसको पेटमा केही परेको थिएन । उसले खपाखप दाल–भात खाई । रायोको सागको स्वाद बेग्लै थियो । गोलभेंडाको अचार त झन दिव्य थियो । प्योर अग्र्यानिक ! कतै कुनै मिसावट थिएन । 

रायना बिहान उठ्दा विनायकमा झलमल्ल घाम लागिसकेको थियो । उठ्नासाथ ऊ तल ओर्लिई । गाउँका मानिसहरू पसलमा झुम्मिएर चियापानमा राजनीतिको गफ गर्दै थिए, ‘संविधान त नबन्ने भन्दाभन्दै बन्यो । प्रचण्डले पनि रोक्न सकेनन् । झलनाथ–बाबुरामको त कुरै नगरे भो । कांग्रेस गिरिजा बाबु परलोक गएपछि सुत्न थालेको, निदाएको निदाएकै छ ।’ 

दृश्यमा रायनाको अचानक प्रवेशले उनीहरू झसंग भए । रायनाले साहूजीसँग सोधी, ‘ट्वाइलेट कता छ होला ?’ जवाफमा हिजो साँझ हातमा मैनबत्ती बोकेर उसलाई खाना खान बोलाउन आएकी केटी मुसुक्क हाँस्दै आइपुगी र भनी, ‘ल, जाऊँ दिदी ।’

रायनाले जीवनमा यस्तो बाथरुमको प्रयोग त के कल्पनासमेत गरेकी थिइन । प्यानमा बस्ने उसको आदत थिएन । जसोतसो रायनाले आफूलाई चर्पीमा एडजस्ट गरी । उसको पेट साफ हुन निमेषभर पनि लागेन । कान्तिपुरमा प्राय: ल्याक्जेटिव्स नभै हुन्नथ्यो उसलाई । तर, अछामको प्योर अग्र्यानिक खाना ! शरीरमा कुनै समस्या थिएन । हातमुख धोएर फर्किदा ऊ फ्रेस थिई । व्रेकफास्टमा भैंसीको प्योर दूध, गहुँको रोटी र सागको तरकारी भेटेपछि अझ फ्रेस भई । हिसाब चुक्ता गर्ने बेलामा त रायनाको फ्रेसनेसले सीमा नै नाघ्यो । उसले र उसको चालकले उपभोग गरेको सुविधाको जम्मा मूल्य थियो मात्रै ६ सय ५० रुपैंयाँ !

रायना बेलैमा पुगी मंगलसेन । ऊ त्यहाँको होटलको कोठामा पुग्दा दुई बजेको थियो । उसले सोचेकी थिई, सदरमुकामको होटल हो । सुर्खेतको होटलको जति सुविधा त होला नि । उसको सोचाइ विपरीत त्यस्तो केही थिएन । सफा थियो, त्यति नै हो । होटलमा सामान थन्क्याएर ऊ बजारका नेताहरूसँग भेट्न निस्किई । व्यापार संघका नेताको मोबाइल अफ थियो । होटल संघका नेता मिटिङमा थिए । रायनाले बजारको क्विक सर्भे गरी । यहाँ कमोडिटी मार्केटका कुनै आधार नै थिएनन् । काम सकेपछि ऊ होटलमा आई र होटलवालासँग सोधी, ‘कमल बजार कता पर्छ ?’

‘त्यो त तपाईंले छोडेर आउनुभयो त दिदी,’ होटलवालाले रायनालाई अछामको भौगोलिक नक्सा बताइदियो । रायना निराश भई । उसले आफ्ना बाबा जन्मिएको गाउँ हेर्न नपाउने भई । क्या वोर !

ऊ आराम गर्ने विचारले कोठामा पस्नै लाग्दा एउटा सुपरिचित स्वर उसको कानमा गुन्जियो । यो वरुणको आवाज थियो, उसको फुपूको छोरा वरुण । वरुण नेपाली सेनाको अधिकारी थियो । केही महिनाअघि ऊ आछामको सदरमुकाम मंगलसेन सरुवा भएको थियो ।

‘तिमी आएको पनि हल्ला सुनेर थाहा पाउनुपर्ने ? खबर गर्नु पर्दैन ?’ वरुण गुनासो गर्दै थियो । यो अनकन्टारमा वरुणलाई भेटेर ऊ दंग परेकी थिई । वरुणले रायनाको बसोबासको प्रबन्ध आफ्नो व्यारेकको गेस्ट रुममा मिलायो । अफिसर्स मेसमा खानाको इन्स्ट्रक्सन दियो । त्यसपछि उनीहरू वरुणको जिपमा घुम्न निस्किए । रायना वरुणको सामीप्य पाएर चहकिएकी थिई ।

प्रकाशित :श्रावण १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्