विश्वकप संस्मरण

- अधिकारी रवीन्द्र

असार ३२, २०७५

विश्वकप फुटबल–२०१८ को अन्त्यतिर आइपुग्ने क्रममा टिनएजको सुरुवाती क्षणहरू झलझल्ती सम्झना आँउछ जतिबेला विश्वकप फ्रान्समा भएको थियो र फ्रान्सले नै जितेको थियो । १९९८ साल थियो त्यो विश्वकप । किशोर अवस्थामा जस्तो क्रेज सायद अरू बेला हुँदैन, कुनै खेल हेर्न छुट्दैनथ्यो । प्राय: सबै खेलाडीका नाम कन्ठस्थ थिए । डेभिड बेक्याम, रोनाल्डो, रिभाल्डो, रोबर्टो कार्लोस, जिनेदिन जिदान, गाब्रिएल बाटिस्टुटा त्यतिबेलाका चर्चित नाम थिए । सेमी फाइनल खेल ब्राजिल र नेदरल्यान्ड अनि फ्रान्स र क्रोएसियाबीच भएको थियो । 

गाउँ–गाउँसम्म विश्वकपको बेग्लै रौनक थियो । ठाउँ–ठाउँबाट फुटबलका बालटोलीहरू मैदानमा उत्रन्थे । फुटबल हेर्न टिभी हुनेहरूको घरमा मानिसहरूको लाभालस्कर नै हुन्थ्यो । प्राय: चार गाउँभरिमा एउटा घरमा टिभी हुन्थ्यो । रङ्गीन टिभी हेर्नुपरे त कलाँतीस्थित बासुको घर नै पुग्नुपथ्र्याे । फेरि त्यही घरमा भोटे कुकुर पनि पालेका थिए । वल्र्ड कप लागेपछि अरू बेलाजस्तो मोजा, बिमिरा वा भोगटेको बलले साथीहरूलाई पुग्दैनथ्यो । रोइ–कराइ गरेर गाउँका ठूलाठालुसँग पैसो मागमुग पारी फुट्बल किनिथ्यो । ३८ केजी हुनुपर्ने उमेरमा म २८ केजीको थिएँ होला । हो, त्यही बेला कक्षा सातमा पढ्दा साउने झरीमा भुराहरूको गाउँव्यापी फुट्बल प्रतियोगिता हुने भयो । 

४ नम्बर वडामा खेलाडी नपुग्ने, फुटबल भनेपछि हान्निएर आएको बलले ठाउँ–कुठाउँमा लागेर ‘स्पट डेथ’ नै भइन्छ भन्ने लाग्थ्यो आफूलाई । म कुनै पनि हालतमा खेल्नेवाला थिइनँ, तर केटाहरू वरिपरि आइलाग्छन, पाँच मिनेटजति मलाई ओलिभर काँन, ओलोभर काँन भनेर गफैगफमा मख्ख बनाउँछन् । हुन त उचाल्या कुकुरले कसरी मृग माथ्र्याे र ? यद्यपि म गोल किपर पदमा जान पाँच मिनेटमै तयार भैहाल्थें । केटाहरूले मेरो खासै भर त गर्दैनथे, त्यही भएर मेरा अगाडि दुई–दुई जना हाफ ब्याक तेस्र्याउँथे । बडा बडा लबटा भएका देख्दै ज्यान लेलान् जस्ता दुई हाफ ब्याकी भएपछि के चाहियो ? बल बिर्सेर नि मेरो पोस्टमा आउँदैनथ्यो । एक घन्टे खेलमा झँन्डै ५८ मिनेट म र दर्शकमा केही फरक हुन्नथ्यो । आँखा मात्र दुख्ने, हेर्दा हेर्दा पट्टयार लागेर । बाँकी दुई मिनेटचाहिँ दुई गोल खान छुट्टयाएको ।

 हाफ ब्याकी बसेको केसे अन्टेटारको त्यो आलो चिप्लो माटोमा लडिगो, पारीको जीवनले छलाँउदै भकुन्डो पोस्ट नजिकै ल्याएको थियो । छेकँे तर पहिल्यै पोस्टभित्र पो रहेछु । हातले समाउनुअघि गोल भैसकेको थियो अनि म के–को ओलिभर काँन ? दुई–चार दिनमा सिरान घरदेखि पुछार घरसम्म हल्ला चलाएछन्– जीवनको फ्रिकिकमा लिखुरे बाहुन बल सहित् पोस्टभित्र छिरेछ, हन सद्दे त छ त्यो ? राम–राम दुब्लो भएपछि जस्तो हल्ला पनि पत्याउने रहेछन् गाउँलेले । त्यो अन्टेटारको कुरा त पुरापुर हल्लैमात्र थियो, तर पछि भञ्जिङमा भएको मिनी फुट्बलमा रत्नेको पेनाल्टीमा म डङ्रङ्गै भित्तातिर ढलेको चाहिँ पक्कै हो, तर त्यसमा पनि इम्ब्रोइडरी गरी भ्याए, ‘बाहुन रत्नेको पेनाल्टीमा हुत्तिएर कान्लैमा टाँसियो रे ।’ 

ए बाबा भन्नँ पनि कति सक्ने ? काँन्लो तीन हात पर थियो, म कसरी कान्लाँमा टाँसिएँ ? यद्यपि कथित खाइलाग्दाहरूको अगाडि मेरो बोली बिक्दैनथ्यो, जिब्रो सद्दे भएर पनि मलाई लाटो बनाइदिन्थे । त्यसपछि मैले करिब–करिब फुटबल खेलबाट संन्यास लिएँ । नलिउँm पनि कसरी ? बल जति पटक पोस्टमा चार्ज हुन्थ्यो त्यो किटानीका साथ गोलमा परिणत भएरै छाड्थ्यो । अझ आफू किपर भएका बेला त लाग्थ्यो, बाङगो सुट पनि बीच तिरबाट सोजिएर पोस्ट नै ताकेर आउँछ । सबका सब बनाना किकमा पारङ्गत जस्ता ।

 भनिन्छ किपरहरू भनेका चुम्बक हुनुपर्छ, तिनीहरूलाई थाहै होला, चुम्बकले आकर्षण मात्र होइन विकर्षण पनि गर्छ । हो, म बल देखेपछि विकर्षित हुने खालको चुम्बक परेँ । साथीहरू पनि कमका थिएनन् । झरी बादल नभनी जुनसुकै बेला चिप्लो चौरमा दौडन उद्यत रहन्थे । सर्वाधिक गोल गरेर सुनौलो जुत्ता जितेका फ्रान्सेली फर्वार्ड डेभोर सुकरजस्तै बन्ने लालसामा धेरै पटक धेरैले हात खुट्टा मर्काएका थिए । वास्तवमै त्यो बेलाको जस्तो फुटबलको नशा कहिल्यै लागेन । जति–जति पटक विश्वकप दोहोरिएर आँउछ, त्यतिबेलाको सम्झना अझ ताजा भएर आँउछ ।

 

प्रकाशित :असार ३२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्