प्रभुत्व जमाएका क्लब र लिग

- साप्ताहिक संवाददाता

असार ३१, २०७५

इंग्ल्यान्ड र स्वीडेनबीचको अन्तिम आठको खेल एउटा तथ्यांकका दृष्टिले निकै रोमाञ्चक र उल्लेखनीय रह्यो । प्रतियोगिता खेलिरहेको इंग्ल्यान्डका सबै २३ खेलाडी आफ्नै देशको घरेलु लिग खेल्थे, अर्थात् इंग्लिस प्रिमियर लिग । स्वीडेनका भने सबै २३ खेलाडीमध्ये केहीले मात्र आफ्नो घरेलु लिग खेलिरहेका थिए भने अधिकांश खेलाडी विदेशी लिग खेल्थे । प्रत्येक विश्वकपलाई यसरी खेलाडी र क्लबका दृष्टिले पनि विश्लेषण गरिन्छ । 

विश्वकपको अन्तिम चारमा पुग्ने टिमलाई आधार मान्दा सबैभन्दा बढी सफल इंग्लिस प्रिमियर लिग क्लब टोटनहम देखियो । किन भन्दा उसका ८ जना खेलाडीले विश्वकप–२०१८ को सेमिफाइनल खेले । टोटनहमका ८ जना खेलाडीले अर्थात् इंग्लिस टिमका लागि ४, बेल्जियमका लागि ३ तथा फ्रान्सका लागि १ खेलाडीले सेमिफाइनल खेले । टोटनहमका समर्थकका लागि यो खुसीको उपलब्धि हुनेछ । समग्रमा भन्दा टोटनहम भन्दा धेरै अगाडि छ, म्यानचेस्टर सिटी । 

इंग्लिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन सिटीका १६ जना खेलाडी यसपटकको विश्वकपमा थिए भने युरोपेली च्याम्पियन्स लिग विजेता १५ जना खेलाडीले रूसको भ्रमण गरे । रियलको पुरानो प्रतिद्वन्द्वी बार्सिलोना पनि यो मामिलाका धेरै पछाडि रहेन, उसका १४ जना खेलाडी विश्वकप खेल्ने टिममा थिए । टोटनहमसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) तथा चेल्सीका १२/१२ जना खेलाडी विश्वकप टिममा थिए । 

यसमध्ये ८ जना खेलाडीको टिम सेमिफाइनल पुग्नुले देखाउँछ, टोटनहम टिममा केही त उत्कृष्टता छ । यसपटकको विश्वकपमा बायर्न म्युनिख, युभेन्ट्स तथा म्यानचेस्टर युनाइेटडका ११ जना खेलाडीको पनि प्रतिनिधित्व रह्यो । भलै यसपटकको विश्वकपमा इटाली छनोट हुन सकेन, तर क्लबको आधारमा सिरी ‘ए’ टिम युभेन्ट्सको राम्रै प्रतिनिधित्व रह्यो । जर्मनी पहिलो चरणबाटै बाहिरिए पनि उक्त टिममा बुंडेसलिगा क्लब बायर्नको राम्रो सहभागिता थियो । 

एउटा सिंगो टिममा दुई टिमको मात्र उल्लेखनीय सहभागितालाई आधार मान्ने हो भने यसमा अगाडि रहनेछ, साउदी अरेबिया र त्यहाँका दुई परस्पर विरोधी क्लब अल हिलाल तथा अल अल्ही । दुवै क्लबका नौ–नौ खेलाडी साउदी अरेबियाको टिममा थिए । अरू बाँकी साउदी अरेबियन खेलाडीमध्ये अधिकांश स्पेनमा व्यावसायिक फुटबल खेल्नेहरू थिए । 

विश्वकपमा सहभागी खेलाडीले खेल्ने लिगका आधारमा विश्लेषण गर्ने हो भने इंग्ल्यान्ड सबैभन्दा अगाडि छ । इंग्ल्यान्ड आफै अन्तिम ४ मा पुगेका आधारमा त्यहाँको फुटबल अब्बल दर्जाको रहेको मान्न सकिन्छ । यसपटकको विश्वकपमा इंग्लिस प्रिमियर लिग खेल्ने १ सय २४ जना खेलाडी रूस पुगे । त्यसपछि स्पेनको नाम आउँछ । स्पेनी ला लिगका ८१ जना खेलाडीले विश्वकपमा आ–आफ्नो देशको प्रतिनिधित्व गरे । तेस्रोमा जर्मनीको बुंडेसलिगा छ, जसबाट ६७ जना खेलाडीले विश्वकप–२०१८ को यात्रा 

तय गरे ।

प्रकाशित :असार ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्