फुटबल विश्वकपको अर्थतन्त्र

- दिवाकरलाल अमात्य

असार ३१, २०७५

 

 

 

 

रूसमा सञ्चालन भैरहेको विश्वकप फुटबल सफलतापूर्वक सञ्चालन गर्न रूसी सरकारले ठूलो धनराशि खर्च गरिरहेको पाइन्छ । यो प्रतियोगिताका लागि रूस सरकारले १ खर्ब ३२ अर्ब अमेरिकी डलर खर्च गर्दैछ । रूसका विश्लेषकहरूले आर्थिक रूपमा केही अल्पकालीन फाइदा भए पनि सम्पूर्ण देशका लागि यो घाटाको व्यापार हुने प्रक्षेपण गरिरहेको पाइन्छ । रूसका आर्थिक विश्लेषक सेर्गेइ दोब्रीचेभ्कीका अनुसार होटल, रेस्टुराँ तथा सोभिनियर पसलहरूको व्यापार वृद्घिका कारण सम्पूर्ण रूसको जीडीपी शून्य दशमलव २ प्रतिशतले वृद्घि त हुन्छ (अप्रिलदेखि सेप्टेम्बरसम्म), तर दीर्घकालमा भने घाटा नै बेहोर्नुपर्ने हुन्छ । फुटबलका प्रशंसकहरूका कारण रसियन अर्थतन्त्रमा करिब ३ अर्ब डलर बराबरको कारोबार हुने अनुमान गरिएको छ, तर फाइनल म्याच सकिनेबित्तिकै आर्थिक क्षेत्रमा देखिएका पानीका फोकाहरू बिस्तारै सुक्दै जानेछन् । विश्वकप फुटबलका आर्थिक लिगासीलाई निरन्तरता दिन सकिँदैन । 

 

सन् २०१३ देखि २०२३ सम्ममा रूसको अर्थतन्त्रमा २ खर्ब ६ अर्ब अमेरिकी डलर बराबरको कारोबार हुने प्रक्षेपण गरिएको छ । विश्वकपका कारण देशमा २ लाख २ हजार मानिसले रोजगारी प्राप्त गरे पनि, जति पर्यटक रूसमा आउने भनिए पनि अन्तत: त्यो सबै निराशामा परिणत हुने पक्का छ । 

ग्रिसजस्तो सानो देशले ओलम्पिक आयोजना गर्न आफ्नो देशको कुल गार्हस्थ्य उत्पादनको ७ दशमलव ५ प्रतिशतसम्म लगानी गर्‍यो, तर अर्थतन्त्रमा त्यसको सकारात्मक प्रभाव परेन र ग्रिसले सन् २०१० मा ठूलै आर्थिक संकट बेहोर्नुपर्‍यो ।

 

ओलम्पिक वा विश्वकप फुटबलजस्ता बृहत् खेलकुद प्रतियोगिता हुनुअघि र समाप्त भैसकेपछि पनि सञ्चार जगत्मा छाउने, समाचारहरू आइरहने भएकाले आयोजक देशका जनता तथा राजनैतिककर्मीहरूलाई रमाइलो हुन्छ । एथेन्स ओलम्पिकको आयोजना गर्ने ग्रिस तथा सन् २०१० मा दक्षिण अफ्रिकाले आयोजना गरेको विश्वकप फुटबल प्रतियोगिताले ती देशको अर्थतन्त्रमा नकारात्मक असर पारेको पाइन्छ । अन्तर्राष्ट्रिय खेल जगत्मा दक्षिण अफ्रिकाको पुन: प्रवेश भएको प्रमाण विश्वजगत्लाई दिन सन् १९९५ मा रग्बी विश्वकप, १९९९ मा अफ्रिकन नेसन कप तथा २००३ मा क्रिकेट विश्वकप सञ्चालन गरिसकेपछि उसले सन् २०१० मा विश्वकप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । विश्वकप फुटबल प्रतियोगिता आयोजना गरेर देशले के पायो भन्ने विषयमा दक्षिण अफ्रिकी विशेषज्ञहरूले आलोचना गरेको पाइन्छ । विश्वकप फुटबल प्रतियोगिता आयोजना गरेर विविध प्रकारले देशलाई फाइदा हुन्छ भन्ने आधार लागत तथा अनुमान गलत भएको बताइन्छ । अर्थशास्त्री ग्रान्ट थ्रोनटनले विश्वकप हेर्न २ लाख ३० हजार पर्यटक १२ दिनसम्म दक्षिण अफ्रिकामा बिताएर ३ अर्ब डलर आम्दानी गर्ने अनुमान गरेका थिए ।

 

 ठूला प्रतियोगिताहरू हुँदा सहरमा भीडभाड र कोचमकोचको स्थिति सिर्जना हुने, ट्राफिक समस्या, कार पार्किङको समस्या, होटलमा कोठा पाउन गाह्रो हुने हुन्छ, जसले गर्दा लोकल यात्रुहरूलाई पर्यटकहरूले विस्थापित गर्ने सम्भावना हुन्छ । उदाहरणका लागि सामान्य स्थितिमा होटलहरू ८० प्रतिशत ग्राहकले भरिभराउ हुन्थे, तर ठूला प्रतियोगिताहरू आयोजना हुँदा ती कोठा शतप्रतिशत भरिने तर कोठाको भाडा दोब्बर–तेब्बर वृद्धि भए पनि स्थानीय व्यक्तिहरू जसले रिसेप्सन सम्हाल्नेदेखि कोठा सफा गर्नेसम्मको काम गर्छन्, ज्याला/तलब त्यो अनुपातमा वृद्धि हुँदैन । कोठाको भाडा वृद्धि गरे पनि त्यसको फाइदा होटल मालिकलाई मात्र हुन्छ र ती मालिक अन्य देशका भएको खण्डमा उसले गर्ने आम्दानी स्थानीय आर्थिक कारोबारमा खर्च हुन पाउँदैन ।

 

क्लबलाई २३ अर्ब रुपैयाँ 

फिफाले यस पटकको विश्वकपमा क्लब बेनिफिट प्रोग्राम अन्तर्गत करिब २३ अर्ब १० करोड रुपैयाँ खर्च गरेको छ । उक्त रकम फिफाले फुटबल क्लबहरूलाई दिएको हो । जुन क्लबका खेलाडीले विश्वकपमा सहभागिता जनाएका छन्, ती क्लबलाई फिफाले पैसा दिने गरेको छ । क्लबका प्रत्येक खेलाडीलाई प्रतिदिन ९ लाख ३२ हजार रुपैयाँ प्रदान गरिन्छ । फिफाले यस पटकको विश्वकपमा सबैभन्दा बढी रकम स्पेनिस फुटबल क्लब रियल म्याड्रिडलाई दिएको छ । रियल म्याड्रिडलाई फिफाले ४३ करोड ४० लाख रुपैयाँ जति दिएको छ । त्यसपछि दोस्रो नम्बरमा म्यानचेस्टर सिटी र तेस्रो नम्बरमा चेल्सी छन् । यी दुई क्लबले क्रमश: ४१ करोड ७९ लाख तथा ३८ करोड ५८ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

                                                              (अमात्य खेलकुद अनुसन्धानविज्ञ हुन् ।)

 

फुटबलको लोकप्रियता

सन् २००६ मा फिफाले विश्वव्यापी रूपमा एउटा सर्वेक्षण गरेको थियो, जसको नतिजाअनुसार नियमित रूपमा फुटबल खेल्नेहरूको संख्या २६ करोड ५० लाख छ । पुरानो सर्वेक्षणको नतिजाअनुसार (स–साना बालबालिकाहरू यो गणनामा सामेल छैनन्) अमेरिकामा फुटबल खेल्नेहरूको संख्या २ करोड ४० लाख, इन्डोनेसियामा १ करोड २० लाख, चीनमा ७२ लाख, मेक्सिकोमा ७४ लाख, ब्राजिलमा ७० लाख, जर्मनीमा १ करोड ६३ लाख तथा भारतमा ७० लाख भएको पाइन्छ । 

 

विश्वकप फुटबल २०१४– ब्राजिल

ब्राजिलको खेलकुद मन्त्रालयले विश्वकप फुटबल प्रतियोगिताका कारण देशको अर्थतन्त्रमा प्रत्यक्ष रूपमा २ खर्ब ६२ अर्ब डलरको आर्थिक कारोबार हुने प्रक्षेपण गरेको थियो । त्यसका अतिरिक्त अप्रत्यक्ष रूपमा सन् २०१० देखि २०१९ सम्ममा ब्राजिलको अर्थतन्त्रमा करिब १ खर्ब डलरको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको थियो । 

 

विश्वकप फुटबल सञ्चालनका निम्ति ब्राजिल सरकारले गरेको खर्च यस्तो थियो : 

रंगशाला निर्माण – ३ अर्ब डलर 

सहरका बस्ती स्थानान्तरण गर्न – ६३ अर्ब डलर

बन्दरगाह तथा विमानस्थल निर्माण – ३२ अर्ब डलर

दूरसञ्चार तथा विद्युत् – २ अर्ब डलर

सुरक्षामा   – १ अर्ब ९० करोड ६० लाख डलर

स्वास्थ्य         – ५४ करोड ६० लाख डलर

होटल निर्माण           – ७ अर्ब २० करोड डलर

पर्यटकहरूले गरेको खर्च – ५ अर्ब १० करोड डलर

निजी क्षेत्रकाहरूले गर्ने उपभोग – २ अर्ब ७० करोड डलर

 

प्रकाशित :असार ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्