दक्षिण अमेरिकामाथि युरोप हाबी

- साप्ताहिक संवाददाता

असार ३१, २०७५

विश्व फुटबलका दुई महाशक्ति महादेश हुन्, युरोप र दक्षिण अमेरिका । विश्वकपमा यिनै दुई क्षेत्रको वर्चश्व रहँदै आएको छ । विश्वकप उपाधिमाथि कहिले युरोपेली टिमले कब्जा जमाउँछ भने कहिले दक्षिण अमेरिकी टिमले । यो एक प्रकारले दुई फरक फुटबल शैली, संस्कृति तथा सोचको टक्कर पनि हो । यसपटकको विश्वकपले फेरि एकपटक सिद्ध गरेको छ, विश्व फुटबलमा दक्षिण अमेरिकामाथि युरोप हाबी हुन थालेको छ । 

यसपटकको विश्वकप–२०१८ को सेमिफाइनलमा कुनै पनि दक्षिण अमेरिकी टिम पुग्न सकेनन । अन्तिम चार खेल्ने चारवटै टिम युरोपका थिए । अन्तिम आठमा भने दुई दक्षिण अमेरिकी टिमले प्रवेश पाए, उरुग्वे र ब्राजिल तथा उनीहरू दुवै पूर्व विश्वकप विजेता हुन् । यद्यपि दुवै टिम क्वाटरफाइनलमै रोकिए । यो चरणमा फ्रान्सले उरुग्वे तथा बेल्जियमले ब्राजिललाई हराएको थियो । अन्तिम १६ मा भने दक्षिण अमेरिकाबाट चार टिमले प्रवेश पाएका थिए, त्यसमध्ये उरुग्वे र ब्राजिल मात्र अघि बढ्न सके । यो चरणमा रोकिनेमा अर्जेन्टिना र कोलम्बिया रहे । अर्जेन्टिनालाई फ्रान्सले हराएका थिए भने कोलम्बिया इंग्ल्यान्डबाट पराजित भयो । 

चार वर्षअघि दक्षिण अमेरिकी भूमिमै जर्मनीले विश्वपकप जितेको थियो । सन् २००२ यता कुनै पनि दक्षिण अमेरिकी टिमले विश्वकप जितेको छैन, त्यसयता इटाली, स्पेन र जर्मनी विजेता भएका छन् । यसपटकको विश्वकप जित्ने युरापेली टिम नै हुनेछ । अब प्रश्न उठ्छ, किन यसरी दक्षिण अमेरिकी टिम पछाडि पर्न थालेको छ त युरोपको तुलनामा ? यसका दुई प्रमुख कारण हुन सक्छन् । 

पहिलो, जसरी युरोपमा फुटबल संघ व्यवस्थित रूपले चल्छ, त्यसरी दक्षिण अमेरिकामा चल्दैन । उदाहरणका लागि पछिल्लो समय सबैभन्दा खराब र विवादास्पद ढंगले चलिरहेको फुटबल संघ अर्जेन्टिनाको हो । त्यहाँ फुटबल भन्दा राजनीति हाबी हुन्छ । त्यसैले पनि अर्जेन्टिनी टिमले राम्रो गर्न नसकेको आरोप छ । 

दोस्रो, अचेल दक्षिण अमेरिकाका जति पनि ठूला खेलाडी छन्, ती सबै युरोपमा खेल्छन् । ब्राजिल, अर्जेन्टिना र उरुग्वेजस्ता पूर्व विश्वकप विजेता टिमका लगभग सबै प्रमुख खेलाडी युरोपका कुनै न कुनै क्लबका लागि खेल्छन् । अब भनिरहनु पर्दैन, ती खेलाडीको खेल्ने शैली पनि युरोपेली जस्तै भएको छ अथवा भनौं, न त त्यो दक्षिण अमेरिकी रह्यो, न त युरोपेली नै । 

सन् ८० को दशकसम्म ब्राजिलका प्रमुख खेलाडी युरोपेली होइन, आफ्नै देशको लिग खेल्थे । आजभोलि युरोपेली क्लब यति धनी र शक्तिशाली भएका छन् कि तिनका अगाडि दक्षिण अमेरिकी क्लबको केही चल्दैन । त्यसैले प्रत्येक दक्षिण अमेरिकी खेलाडीको पहिलो लक्ष्य नै युुरोपमा खेल्ने हुन्छ । त्यसैले युरोपेली टिम प्रस्ट रूपमा दक्षिण अमेरिकी टिममाथि हाबी हुन थालेका छन्, कम्तीमा विश्वकप–२०१८ ले त यही प्रमाणित गरेको छ ।

प्रकाशित :असार ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्