प्रकृतिसँग आत्मसमर्पण

- मनोज गजुरेल

असार ३१, २०७५

सबैलाई थाहा हुन्छ, प्रत्येक वर्षायाममा बाढी आउँछ, बजार डुबाउँछ । पहिरो जान्छ, गाउँ बगाउँछ । जनधनको क्षति हुन्छ । पशुधनको नोक्सानी हुन्छ । यी सबै प्राकृतिक विपत्तिहरू हुन् । 

यद्यपि उस्तै खाले विपत्ति बर्सेनि दोहोरिन्छ भने त्यसलाई चाहिं माननवीय मुख्र्याइँ मान्नुपर्छ । पहिरो जान्छ भन्ने जानकारी हुँदाहुँदै त्यहीं घर बनाउनु, बाढी आउने थाहा पाउँदा–पाउँदै त्यहीं खेती गर्नु मुख्र्याइँ मात्र होइन, प्रकृतिसँग निहुँ खोजेको हो ।

मानिसले जहाँ–जहाँ प्रकृतिसंग लड्न खोजेको छ, त्यहाँ–त्यहाँ उसको हार भएको छ । भूकम्पप्रभावित क्षेत्रमा ठूल्ठूला महल ठड्याउनु, बाढीप्रभावित क्षेत्रमा बस्ती बसाउनु, पहिरो सम्भावित क्षेत्रमा बसोबास गर्नु भनेको हार्ने लडाइँमा सहभागी हुनु हो ।

प्राकृतिक विपत्तिमा आफ्नो ज्यानको सुरक्षा आफैं गर्नुपर्छ । अनिकालमा बीउ जोगाउनु, हूलमूलमा जीउ जोगाउनु भनेको यही हो । यो उखान मात्र होइन, हाम्रा पुर्खाको सयौं वर्षको अनुभव हो । जहाज चढ्दा पनि सुन्नुभएको होला, अक्सिजन कम भए पहिले आफूले अनि बालबालिकालाई अक्सिजन मास्क लगाइदिनुहोस् भन्ने कुरा । यसको विज्ञान पनि यही हो ।

आफू सुरक्षित रहियो भने मात्र अरूलाई सुरक्षा प्रदान गर्न सकिन्छ । 

हो, नागरिकको सुरक्षाको जिम्मा राज्यको हो, तर हाम्रो राज्य त्यति बलियो छैन कि सबै आपत्कालमा उद्धार गर्न सकोस् । सरकारमा बस्ने पनि त्यति महान् छैनन् कि जनताको जीउज्यानको सुरक्षालाई पहिलो प्राथमिकतामा राखून् ।

बाँच र बाँच्न देऊ भन्ने भनाइ हामी सबैले सुनैकै छौं । बाँच्न देऊ र बाँच भन्ने कतै सुनिएको छैन । पहिले आफू बाँच्नुपर्छ अनि अरूलाई बचाउनुपर्छ, आफू नबाँची अरूलाई बचाउन सकिँदैन । यो भनाइको सार पनि यही हो ।

आपत्कालमा सरकार कुर्नु मुर्खता हो । स्वयम्सेवीलाई पर्खनु गलत हो । भगवान् पुकार्नु अन्धविश्वास हो । आफ्नो जीवनको रक्षा सबैभन्दा पहिले आफैंले गर्नुपर्छ । भाग्य बलियो रहेछ भने सरकार पनि आउला, स्वयम्सेवी पनि देखा पर्लान् । भगवान्ले पनि पुकार सुन्लान् तर कुर्नु कसैलाई हुँदैन । 

तात्कालिक उद्धारमा आफ्नै पहल गर्न जरुरी छ तर दीर्घकालीन उद्धार राज्यको दायित्व हो । राज्यका बारेमा भने म धेरै भन्न सक्दिनँ । किनभने धेरै जान्ने मान्छे सत्ता, सरकार र प्रशासनमा छन् ।

यद्यपि एउटा अचम्मको कुरा छ— उनीहरूको घैंटामा घाम किन दशा लागे पछि मात्र लाग्छ ? किन विपद्ले घेरेपछि मात्र उद्धारका योजना बनाइन्छन् ? आघौं खडेरी पर्ने पूर्वानुमान गर्ने सरकारले अहिलेदेखि नै त्यसबाट जोगिने उपाय किन पहिल्याउन नसकेको होला ?

यसको चितबुझ्दो जवाफ कतैबाट आए फेरि केही लेखौंला । अहिलेलाई भने यति भनौं, आपत् आउनुअघि नै आत्मसुरक्षाको उपाय अपनाऔं । विपद् पर्नुअघि नै जीवन रक्षाको उपाय खोजौं । हामी जहिले पनि जब पर्छ राति अनि बूढी ताती भन्ने खालका छौं । 

प्राकृतिक विपत्तिबाट जोगिने सबैभन्दा सजिलो उपाय हो, ऊसँग लाप्पा नखेल्ने । जस्तो, सर्पले कहिल्यै कसैलाई खेदेर टोक्दैन । जब उसमाथि आक्रमण हुन्छ, सर्पले आफूमाथि खतरा महसुस गर्छ अनि मात्र टोक्छ । प्रकृति पनि त्यस्तै हो । ऊ हामीलाई सिध्याउँछु भनेर कहिल्यै कसैको पछि लाग्दैन । उसको यात्रामा कुनै अवरोध भयो भने मात्र सर्पले मानिसलाई सिध्याउने हो ।

रूखलाई बढ्न दिनुपर्छ, काट्नु हुँदैन । पानीलाई बग्न दिनुपर्छ, रोक्नु हुँदैन । जमिनलाई स्थिर रहन दिनुपर्छ, खन्नु हुँदैन । हावालाई चल्न दिनुपर्छ, छेक्नु हुँदैन । हामी प्रकृतिको यो नियम बुझ्न चाहँदैनौं । बुझे पनि मान्दैनौं । एक–दुई जनाले माने पनि सबैलाई भन्दैनौं । त्यही भएर मानिसले बारम्बार प्राकृतिक विपत्तिको सामना गरिरहनुपर्छ । 

विकासको नाममा बाटो बनाउँदा रूख–बिरुवाको अधिकार खोस्छौं । समृद्धिको नाममा हाइड्रो निर्माण गर्दा खोलाको नियम तोड्छौं । व्यापारको नाममा प्लटिङ गरेर खेतबारीको सतित्व लुट्छौं । जब प्रकृतिमाथिको यातनाले सीमा नाघ्छ तब मात्र प्रकृतिले आफ्नो विद्रोही रूप देखाउँछ ।

विश्वको जलवायु परिवर्तनदेखि सुनामी, बाढी तथा भूस्खलन सबै प्रकृतिले गरेका विद्रोह हुन् । प्रकृतिको विद्रोह रोक्न सकिँदैन, रोकथाम मात्र गर्न सकिन्छ । प्रकृतिको विद्रोहको शान्तिपूर्ण समाधान भनेको प्रकृतिसँग आत्मसमर्पण हो, उसको दोहन होइन— मंगल होस् ।

प्रकाशित :असार ३१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्