Teej banner

त्यो कालरात्रि नै थियो

- कृष्ण भट्टराई

असार २८, २०७५

नेपाली चलचित्रमा सदावहार अभिनेताका रूपमा स्थापित कलाकार हुन्– सरोज खनाल । झन्डै ३० वर्षअघि रंगमञ्चमार्फत अभिनय क्षेत्रमा उदाएका अभिनेता खनालले त्यो बेला अभिनय गरेका चतुरेको दाउपेच, मौन आकास, भीडदेखि भीडसम्म आदि नाटक अझै पनि दर्शकले बिर्सिएका छैनन् । चलचित्र विजय–पराजयमार्फत चलचित्रमा पदार्पण गर्ने यी अभिनेताले आफ्नो करियरमा दुई दर्जनभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरे, तीमध्ये १९ वटा चलचित्रले त प्रदर्शनको सय दिन नै पूरा गरे । प्रेमपिण्ड, जय बाबा पशुपतिनाथ, निर्मोही, मनकामना, चोखोमाया, नाइँ नभन्नु ल–२, प्रेम गीत, सुब्बा साब, कृ, पञ्चायत हुँदै क्याप्टेनसम्म अभिनय गर्न भ्याएका खनाल झन्डै १७ वर्षको अमेरिका बसाईलाई टुंग्याएर तीन वर्षअघि सधैंका लागि स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएलगत्तै चितवनमा खनाल बायो अर्गानिक फर्टिलाइजर नामको कम्पोष्ट मल उद्योग सञ्चालनमा ल्याएका खनाल अहिले फेरि चलचित्रमै व्यस्त छन् । केही महिनापछि आफ्नै लगानीमा चलचित्र निर्माण गर्ने घोषणा गरिसकेका अभिनेता खनालले साप्ताहिकका कृष्ण भट्टराईसँग लामो कुराकानी गरेका थिए । 

पछिल्लो व्यस्तता कस्तो छ ? 

दुईवटा चलचित्र क्याप्टेन तथा द ब्रेकअपको छायांकनमा व्यस्त छु । हेमराज बिसीको द ब्रेकअपको एउटा सिन र एउटा गीतको छायांकन बाँकी छ भने भुवन केसीको क्याप्टेनको झन्डै एक महिनाकै काम बाँकी छ । 

त्यसपछिको योजना के छ ? 

क्याप्टेनको काम गर्दा–गर्दै बर्खा लागिसक्छ । बर्खामा खासै छायांकन हुँदैन । त्यसपछि दसैं लाग्छ । दसैं मानेपछि मात्र पुन: अभिनयमा सक्रिय हुने योजना छ । वास्तवमा चलचित्रको व्यस्तताले आराम नै गर्न नपाएको महसुस भैरहेको छ । त्यसैले क्याप्टेनपछि केही महिना फुर्सदमा बस्छु । 

अभिनयका लागि प्रस्ताव त आइरहेकै होलान् नि ? 

पत्याउनु हुन्न होला, मेरो घरमा सात–आठवटा नयाँ चलचित्रका स्क्रिप्ट जम्मा भैसकेका छन् । यद्यपि म तीमध्ये कुनै पनि चलचित्रमा अभिनय गर्न तयार भएको छैन । 

किन ? 

पहिलो कुरा त ती चलचित्रका स्क्रिप्ट निकै कमजोर छन् । मेरा लागि छुट्याइएको भूमिका राम्रो भए पनि समग्रमा ती चलचित्रको पटकथा नै कमजोर छ । कमजोर पटकथामा बन्ने चलचित्रमा काम गरेर समय वर्वाद नगरौं कि जस्तो लागेको हो । 

 

अमेरिकाबाट स्वदेश फर्किए लगत्तै अभिनयमै सक्रिय हुनुभयो नि ? 

वास्तवमा मैले अमेरिकाबाट स्वदेश आएर अभिनयमा फर्कन्छु भन्ने सोचेकै थिइनँ । एउटा बिजनेसको प्लानिङसहित म स्वदेश फर्किएको थिएँ । चितवनको मेरो पोल्टी फार्म त सञ्चालन मै थियो, अग्र्यानिक मलको एउटा उद्योग सञ्चालन गर्ने हिसाबले म स्वदेश फर्किएको थिएँ । चितवनमा उद्योगका लागि लोकेसन हेर्ने क्रममै थिएँ, निर्देशक सुदर्शन थापाले चलचित्र प्रेम गीत’ मा मेरै लागि लेखिएको भूमिका छ भन्दै प्रस्ताव राख्नुभयो । थापाले निर्देशन गरेको ‘मेरो एउटा साथी छ’ अमेरिकामै हेरिसकेको थिएँ, ‘प्रेमगीत’ को कथा अनि मेरो भूमिका सुनेपछि आफूलाई रोक्नै सकिनँ । त्यही चलचित्रमार्फत अभिनयमा मेरो पुनरागमन भयो । उक्त चलचित्रले मलाई सर्वोत्कृष्ट सहअभिनेताको एवार्ड समेत दिलायो । 

चलचित्रमा फर्कन नखोज्ने कारण चाहिँ के थियो ? 

मलाई लागेको थियो, १७ वर्ष अमेरिका बसेर फर्किएको कलाकारलाई नयाँ पुस्ताका कलाकारले बिर्सिसक्नु भयो होला । मेरो पालाका अधिकांश निर्देशक रियाटर्ड भैसक्नुभएको थियो, नयाँ पुस्ताका निर्देशकहरूसँग चिनजान पनि थिएन, उहाँहरूसँग काम गर्न असहज हुन्छ होला भन्ने लागेको थियो । यद्यपि ‘प्रेमगीत’ को सफलताले मलाई युवापुस्ताका दर्शकमाझ घुलमिल मात्र गराएन, नयाँ पुस्ताका चलचित्रकर्मीहरूसँग नजिक समेत गरायो । 

प्रेमगीतपछि के–के गर्नुभयो ? 

प्रेमगीतको सफलतापछि मैले रंगमञ्च, टेलिभिजन, म्युजिक भिडियो तथा चलचित्रबाट प्रशस्त प्रस्ताव पाउन थालें । त्यसक्रममा मैले नाइँ नभन्नुल ल–४, म यस्तो गीत गाउँछु, कृ, पञ्चायत, हैरान, हिरो रिटन्र्स तथा बेबी आई लभ यू जस्ता चलचित्रमा अभिनय गरें । 

दुई दशकअघि र अहिलेको चलचित्रमा के फरक पाउनुभयो ? 

पहिले र अहिलेको चलचित्रमा धेरै भिन्नता हुनुका साथै सकारात्मक तथा नकारात्मक पक्षहरू पनि धेरै छन् । चलचित्र प्राविधिक रूपमा सक्षम हुनु, अनुभवी क्यामेराम्यान तथा प्राविधिकहरूको संख्या बढ्नु, डिजिटल प्रविधिमा चलचित्र निर्माण हुनु अनि अभिनयलाई नै करियर बनाउँछु भनेर पढेर, सिकेर तथा पूर्ण रुपमा तयार भएर आउने कलाकारहरूको बढ्दो संख्या सकारात्मक पक्ष हुन् । अनमोल केसी, प्रदीप खड्का, पल शाह, साम्राज्ञी राज्य लक्ष्मी शाह, मरिष्का पोखरेल, आँचल शर्मा आदि यसका उदाहरण हुन् । हाम्रो पालामा हामी त फ्लुकका भरमा हिरो भएका थियौं । कुनै तयारी तथा योजनाबिना नै चलचित्रमा आएका थियौं । आफूलाई तयार पारेर आएका थिएनौं । नकारात्मक पक्ष पनि उत्तिकै छन् । चलचित्र बनाउने माध्यम अत्यन्त सजिलो भएकाले होला, अहिले चलचित्र निर्माण गर्नेहरूको नचाहिँदो भीड लागेको छ । सौख तथा लहडको भरमा चलचित्र निर्माण गर्न खोज्नेहरूको संख्या बढ्दो छ । एक आना जग्गा त जान्छ भन्ने सोचले नराम्रो परिपाटिलाई बढाबा दिइरहेको छ । 

यसबाहेक सुधार्नु पर्ने ठाउँ के–के देख्नुभएको छ ? 

हाम्रो चलचित्र उद्योगमा चलचित्र लेखकहरू त धेरै हुनुहुन्छ, यद्यपि राम्रो पटकथा लेख्ने लेखकको चाहिँ अभाव नै छ । पटकथा भनेको चलचित्रको मेरुदण्ड भए पनि हामीकहाँ त्यही कमजोरी छ । पटकथा नै कमजोर भएपछि उत्कृष्ट चलचित्र निर्माण हुने सम्भावना कम रहन्छ । 

तीन जना नयाँ अभिनेताको भविष्य कस्तो देख्नु हुन्छ ? 

संयोग नै मान्नुपर्छ, मैले छोटो अवधिमै अनमोल केसी, प्रदीप खड्का तथा पल शाह जस्ता होनहार अभिनेतासँग काम गर्ने मौका पाइसकेको छु । कृ तथा क्याप्टेनमा अनमोल केसीसँग काम गर्ने क्रममा मैले उनी डेडिकेटेट एक्टर हुन् भन्ने अनुभव गरें । चलचित्र कृमा उनले गरेको मेहनत देखेर म हैरान भएँ । अहिले क्याप्टेनमा समेत उनले र मैले झन्डै दुई महिना फुटबल सिक्यौं । अनमोलले घाम–पानीको वास्ता नगरी फुटबल सिक्न देखाएको जोशले उनी लामो रेशका घोडा हुन् भन्ने कुरामा दुईमत छैन । चलचित्र प्रेमगीतमा काम गर्दा प्रदीप खड्काले स–सानो दृष्यका लागि मेहनत गरेको देखें । एउटै दृश्यमा १९ टेक खाँदा समेत प्रदीप हतास देखिएनन् । चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा अभिनय गर्ने क्रममा अभिनेता पल शाहसँग भेट भयो । उनले पनि एउटै दृश्यमा धेरै टेक खाँदा समेत असहज मानेनन् । यद्यपि पल शाहको डाइलग डेलिभरीमा केही समस्या देखेको छु । 

नयाँ पुस्ताका निर्देशकहरूको काम तपाईंलाई कस्तो लाग्यो ? 

मैले सबै निर्देशकसँग त काम गरेको छैन, यद्यपि जति जनासंग गरेको छु , केही न केही विशेषता पाएको छु । विकास आचार्य भावनात्मक शैलीका चलचित्र निर्देशनमा सिपालु हुनुहुन्छ । सुदर्शन थापालाई लभ स्टोरी चलचित्रमा अरुले भेट्दैनन् । हेमराज बिसी प्रतिभाशाली छन् । दिवाकर भट्टराई इनर्जेटिक निर्देशक हुन् भन्दा फरक पर्दैन । सुरेन्द्र पौडेलसँग कृमा अभिनय गर्ने क्रममा उहाँ निर्देशक भन्दा सम्पादकका रूपमा उत्कृष्ट लाग्नुभयो । पञ्चायतका निर्देशक शिवम अधिकारी कुशल लेखक हुनुहुन्छ । उहाँमा निर्देशकीय क्षमता त छ, तर युनिटलाई कमाण्ड गर्न सक्ने क्षमता कम पाएँ । कुनै बेला प्रकाश थापा, तुलसी घिमिरे, किशोर राना जस्ता दिग्गज निर्देशकसँग काम गर्ने क्रममा छायांकनस्थलमा जुन प्रकारको वातावरण हुन्थ्यो, आजको सेटमा भने भव्यता भने पाउन सकेको छैन । 

अमेरिकाबाट स्वदेश फर्कने बेला नेपाल आएर के गर्ने सोच्नुभएको थियो ? 

अमेरिका छाड्नु अघि मलाई साथीभाइहरूले फेरवेयल पार्टी दिएका थिए । त्यसक्रममा मैले एउटा अन्तर्वार्ता दिएको थिएँ, जसमा मैले नेपाल फर्किएर अभिनय चाहिँ गर्दिन भनेको थिएँ । मलाई पनि नेपाल आएर अभिनय गर्छु जस्तो लागेको थिएन । यद्यपि अभिनय भन्ने किरो मेरो रगत मै रहेछ । त्यो कीरो अमेरिकामा छँदासमेत हरेक दिन सल्बाउँथ्यो । आफ्नै देश आएपछि त्यो किरो यति सक्रिय भयो कि मैले अभिनयमा नआइ सुखै पाइन । अर्को शब्दमा भन्नुपर्दा एक पटक अभिनयको नशा लागेपछि त्यसलाई चटक्कै छाड्न असाध्यै गाह्रो हुँदो रहेछ । 

नयाँ पुस्ताका दर्शकले समेत सहजै स्वीकार गर्दा कस्तो अनुभव गर्नुभयो ? 

असाध्यै रमाइलो लागेको छ । छोटो समयमै दर्शकको मन जित्न पाउँदा खुसी नहुने कुरै छैन । कम समयमै मैले युवापुस्ताका दर्शकको मन जितेकोमा आफूलाई भाग्यशाली मान्छु । यो अवधिमा मैले रंगमञ्च, टेलिभिजन तथा चलचित्र गरी तीनवटै विधामा काम गरिसकेको छु । हरेक विधाका दर्शकले मलाई सहजै स्वीकार मात्र गर्नु भएन, मनमा समेत राख्नु भएको मानेको छु । 

सधैं अभिनयमात्र गरिरहने कि चलचित्र निर्माण–निर्देशनमा पनि आउने ? 

कलाकार भए पछि अभिनय त छाड्नै मिलेन नि । अब रह्यो निर्माण तथा निर्देशनको कुरा । हरेक कलाकारलाई आफ्नै लगानीमा चलचित्र निर्माण गरौं भन्ने सधैं लागिरहन्छ । मलाई पनि त्यस्तो लागेको छ । नढाँटि भन्ने हो भने म अमेरिकाबाट स्वदेश फर्किए लगत्तै चलचित्र निर्माण गर्न चाहन्थें । त्यसका लागि लेखक विकास आचार्यले स्क्रिप्ट समेत तयार पारिसक्नु भएको थियो । त्यही बेला गएको भूकम्प अनि त्यसपछिको नाकाबन्दीले चलचित्र निर्माणको प्रोजेक्ट केही पछाडि धकेलियो । यद्यपि म निकट भविष्यमै निर्माताका रूपमा दर्शकमाझ आउनेछु । अब बाँकि रह्यो निर्देशनको कुरा, एउटा राम्रो अभिनेता राम्रो निर्देशक बन्न सक्छ भन्ने कुरामा मलाई शंका छ । 

किन ? 

अभिनय गर्ने क्रममा अभिनेतालाई एउटा चरित्र दिइएको हुन्छ । निर्देशकको सोचअनुसार अभिनेताले त्यो चरित्र निर्वाह गर्छ । त्यतिबेला अभिनेताले आफ्नो मात्र चरित्रमा ध्यान दिए पुग्छ । जब एउटा अभिनेता निर्देशक बन्छ, उसले चलचित्रको पूरै टिमलाई सिकाउनु पर्ने हुन्छ । सबै कलाकारलाई निर्देशन गर्नुपर्ने हुन्छ । निर्देशक बनेको त्यो अभिनेताले हरेक कलाकारले आफूले जस्तै अभिनय गरोस् भन्ने चाहन्छ । उदाहरणका लागि नीर शाहलाई लिन सकिन्छ । उहाँ उत्कृष्ट अभिनेता हो, यद्यपि निर्देशकका रूपमा उहाँले ‘वासुदेव’ बाहेक अन्य कुनै पनि चलचित्रलाई उत्कृष्ट बनाउन सक्नु भएन । उहाँका हरेक चलचित्रका अधिकांश कलाकारको अभिनय उहाँकै जस्तो लाग्छ । त्यसो हुँदा चलचित्रका हरेक पात्र उस्तै–उस्तै लाग्छन् । यीनै कारणले म कहिल्यै निर्देशक बन्न चाहन्नँ । 

चलचित्र निर्माणको योजनालाई चाहिँ कसरी अघि बढाउँदै हुनुहुन्छ ? 

सम्भवत: यही दसैंपछि हाम्रो प्रोजेक्ट प्रारम्भ हुनेछ । स्क्रिप्ट तयार भैसकेको छ । अब कलाकार, प्राविधिक तथा निर्देशकको टुंगो लाग्न बाँकी छ । 

चलचित्रको काम थाल्न निकै समय लगाउनुभयो नि ? 

पछिल्लो तीन वर्षको अवधिमा मैले अनुभव गरेको कुरा को हो भने नेपालमा चलचित्र निर्माण गर्नु ठूलो कुरा होइन, चलचित्रलाई सिनेमा हलसम्म पुर्‍याएर सफलतापूर्वक प्रदर्शन गर्नु चाहिँ महत्वपूर्ण कुरा हो । ‘पञ्चायत’ जस्तो उत्कृष्ट चलचित्रले सिनेमा हल तथा वितरकको असहयोग व्यहोर्नु पर्‍यो । सिनेमा हलमा उक्त चलचित्र दुई दिनमात्र अडिएको भए आज त्यसको व्यवासयिक पक्ष निकै सवल हुने थियो । नेपाली चलचित्रलाई नेपालकै सिनेमा हल तथा वितरकको साथ र सहयोग नभएको अवस्थामा चलचित्र निर्माणमा हात हाल्नु निकै चुनौतीपूर्ण छ । सिनेमा हलवालाले नेपाली चलचित्रलाई सकारात्मक रूपले हेर्न थालेकै दिनेदेखि नेपाली चलचित्र तथा निर्माताको भविष्य उज्वल हुने कुरामा दुई मत छैन । 

प्रसंग बदलौं, अमेरिकाको १७ वर्षे बसाईलाई कसरी सम्झनु हुन्छ ? 

कलाकार सरोज खनालका लागि त्यो १७ वर्ष त कालरात्रि नै हो । यद्यपि बुवा सरोज खनाल अनि श्रीमान् सरोज खनालका लागि भने त्यो सुनौलो समय थियो । किनभने जब मैले अमेरिका जाने निर्णय गरें, मैले त्यो बेला आफ्ना स–साना दुई सन्तानको भविष्यमा मात्र हेरें । उनीहरूलाई अमेरिकामा अलपत्र पारेर म स्वदेश फर्कन मिल्दैनथ्यो । कि त हामी अमेरिका नै जानु हुन्नथ्यो । नजानु गएपछि तुरुन्तै फर्कन मिलेन । छोराछोरी हुर्काउन, पढाउन, उनीहरूलाई आफ्नै खुट्टामा उभ्याउन मलाई १७ वर्ष लाग्यो । बुवा तथा श्रीमान् सरोज खनालका रूपमा मैले जे गरें, ठीकै गरें जस्तो लाग्छ । 

सधैंका लागि नेपाल फर्किएपछि एक प्रकारको आलोचनाको शिकार समेत हुनुभयो नि ? 

जसले मेरो आगमनको आलोचना गर्नुभयो, वास्तवमा त्यो उहाँहरूको मप्रतिको माया नै हो । उहाँहरू मलाई असाध्यै माया गर्नुहुन्छ । नत्र त उहाँहरूलाई म आए पनि, नआए पनि मतबल हुनु नपर्ने हो । यद्यपि मैले आफ्ना बारेमा खोइरो खन्नेहरू विरुद्ध एक शब्द बोलिन । अशेष मल्ल लगायतका व्यक्तित्वले अब त अति भयो, केही त बोल भन्नु भएको थियो । त्यसक्रममा उहाँले सर्वनाम थिएटरमा टक नै राख्न सुझाउनु भयो । मैले मानिन, बरु मेरै सल्लाहमा सर्वनाममै १० मिनेट लामो एउटा नाटक मञ्चन गरियो । जसमा मेरो विरुद्ध बोल्ने तथा लेख्ने सञ्चारकर्मी साथीहरूलाई पनि डाक्यौं । त्यो नाटक हेरेदेखि आजसम्म मलाई कसैले ‘तँ किन अमेरिका गएको थिइस् ?’ भनेर प्रश्न गरेका छैनन् । 

तपाईंको विचारमा विदेश जानु उचित हो कि अनुचित ? 

म त के भन्छु भने प्रत्येक नेपालीले एक पटक विदेश जानै पर्छ । युरोप, अमेरिका, अष्ट्ेरलिया जहाँ गए पनि जानु पर्छ, यद्यपि केही वर्ष बिताएर पुन: स्वदेश फर्कनुपर्छ र आफूले जानेको कुरा स्वदेशमै उपयोग गर्नु पर्छ । मैले पनि अहिले त्यही गरिरहेको छु । 

त्यस्तो के गर्दै हुनुहुन्छ ? 

चितवनमा झन्डै दुई करोडको लगानीमा एउटा कम्पोष्ट मल उद्योग सञ्चालन गरेको छु, जहाँ थुप्रै नेपाली युवाले रोजगारी पाउनु भएको छ । त्यहाँ उत्पादन भएको मल चितवनसहित देशका विभिन्न गाउँ–शहरमा पुग्न थालेको छ । भारतमा झण्डै ७५ रुपैयाँ प्रतिकेजी पर्ने उक्त मललाई हामीले ३५ रुपैयाँमै बेच्न सकेका छौं ।

प्रकाशित :असार २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्