Teej banner

स्मृतिको लोकमा

- सुविन भट्टराई

असार २८, २०७५

मैले बाँचेर आएको एउटा सुन्दर समय छ । के कसैले खोसेर देखाउन सक्छ त्यो अतीतलाई म र मेरो स्मृतिबाट ?

म मर्न नसकेर बाँचेको पल होस्, म बाँच्न नसकेर मर्न चाहेको पल होस्, म बाँच्दाबाँच्दै बाँच्नुकै मोह बढेको पल होस्, म हरेक पल पटक–पटक जिइरहेको छु । मैले समयका हरेक खुड्किलाबाट, मैले समग्र यो जीवनबाट पाएका हर अनुभूतिलाई मस्तिष्कका खण्ड–खण्डमा सुरक्षितसित राखेको छु । 

हो, म विगतलाई विगतमै सीमित राख्न चाहन्नँ । म विगतको औँला समाएर तिनलाई आगतको आँगनसम्म डोर्‍याउन लान चाहन्छु । स्मृतिको खण्ड खोतलेर, म विगतलाई छानी–छानी वर्तमानमा पनि पटक–पटक जिइरहन चाहन्छु । त्यसैले मलाई मानव अंगमा सबैभन्दा सुन्दर यही मस्तिष्क लाग्छ । मस्तिष्कको घडामा स्मृतिहरू टिलपिलाइरहेको, छचल्किरहेको कुनै निष्णात नृत्याङ्गनाको कम्मरको मर्काइभन्दा कम कहाँ होला र ? लाग्छ, मस्तिक कुनै चुरोट हो, जसमा स्मृतिको आगो झोसिएपछि मस्तिष्क मज्जाले सल्कन्छ र भित्रैदेखिको आनन्द धूवाँसरि हावामा फिजिँद, तैरिँदै जान्छ । स्मृतिको लोकमा पुगेर कहिलेकाहीँ म ध्यानस्त हुन्छु । वर्तमानका दु:ख–कष्ट (यदि छन् भने) लाई समेत बिर्साउने हैसियत राख्छन् स्मृतिहरू । यसर्थ स्मृतिहरू मल्हम हुन् । 

अतीत हर मान्छेको हुन्छ, हरमान्छेसित हुन्छ । कसैले अतीतलाई विस्मृतिको दराजमा गुम्स्याएर राख्छन्, कसैले अतीतलाई काँधैमा च्यापी सकी–नसकी घिस्स्याएर हिँड्छन् । अतीत जतिसुकै पतित होस्, राम्रो होस्, नराम्रो होस्, जस्तोसुकै व्यतीत भएको होस्, अतीत चाहे गीत भएको होस् चाहे शीत भएको होस्, अतीत बस् अतीत हो । 

हामी भन्छौँ, ‘त्यो समय, म सम्झन पनि चाहन्नँ ।’

भन्छौँ यसो पनि, ‘बिर्सन पाए हुन्थ्यो त्यो नमीठो पल ।’

नमीठो अतीतले लखेटिएको कुनै साथीलाई सल्लाह दिन्छौँ, ‘बिर्सिदेऊ यार ती सब कुरा !’

यति सजिलो कहाँ छ ? मानिसको मस्तिष्क हो, इरेजर कहाँ हो र ? अतीत कपडा सिलाउँदा उब्रिएको टुक्रा होइन, जसमाथि सजिलै विस्मृतिको कैँची चलाउन सकियोस् । 

मानिसलाई स्मृतीहरूसम्म पुर्‍याउने लाखौँ बाटा छन् । वर्तमानमा तिमी एक त्यान्द्रो धागो देख अथवा एक थुँगा फूल देख, त्यसले तिमीलाई अतीतको मालामा लगेर उनिदिन्छ । वर्तमानमा आकाश एकपटक गड्याङ–गुडुङ मात्र गरोस् त्यसले तिमीलाई अतीतमा लगेर भिजाइदिन्छ । वर्तमानमा गाडीको गुडिरहेको एउटा चक्कामा एकछिन मात्र ध्यान जाओस् त, त्यसले घुमाइदिँदै फनफनाइदिँदै अतीतमा लगेर रनथन्यउँदै पछारिदिन्छ । कहिलेकाहीँ त कुनै गीतको एउटा स्थायी सुन्दा मात्र पनि अतीतका अन्तराहरू आफसेआफ गुनगुनाउँदै सामुन्ने तेर्सिदिन्छन् । कहिलेकाँही हिँड्दा–हिँड्दै वा बस्दाबस्दै कुनै पफर््युमको मन्द गन्धले मात्र सारा बाटाहरू बन्द गराएर अतीतको आकाशमा निर्बन्ध, स्वच्छन्द उडाइदिन्छन् । 

अतीत पो बितिसक्यो, सकिइसक्यो, त्यसले छाडेका अधिकांश अवशेष हाम्रो मस्तिष्कमा हुन्छन् र त्यहाँसम्म लाने हजारौँ बाटा नजिकबाट हामी दिनहुँ गुज्रन्छौँ । नमीठै भए पनि अतीत बिर्सिएर जाने चिज होइन, स्मृतिको खण्डबाट झिकेर सामना गर्ने चिज हो । नमीठो अतीतलाई स्मरण गरेपछि मिठो अतीतलाई स्मरण गर्ने, त्योजति मीठो फेरि अर्थोक के होला र ?

मैले खुला राखेका मेरा मस्तिष्कका झ्याल तथा ढोकाबाट मैले रुचाएका स्मृतिहरू निर्वाध ओहोर–दोहोर गरिरहून् । म तिनै स्मृतीहरूसित विचरण गरिरहन चाहन्छु । 

प्रकाशित :असार २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्