तीज गीतले चिनायो

  • अनिता चलाउने, गायिका

- साप्ताहिक संवाददाता

असार २५, २०७५

रेडियो नेपालको स्वर परीक्षामा उत्तीर्ण 

म पत्रकारिताकी विद्यार्थी हुँ । पत्रकारिता अध्ययनका क्रममा प्राक्टिकलका लागि रेडियो नेपाल गएकी थिएँ । त्यतिबेला रेडियो नेपालमा स्वर परीक्षाका लागि आवेदन खुलेको रहेछ । मलाई पनि गीत–संगीतमा रुचि भएकाले आवेदन दिएँ । म आधुनिक गायनतर्फको स्वर परीक्षामा उत्तीर्ण भएँ । मैले स्वर परीक्षा दिएको थाहा पाउने सबैले मेरो प्रशंसा गर्न थाल्नुभयो । त्यही प्रशंसाले मलाई गीत–संगीतमा लाग्न प्रेरित गर्‍यो । 

जब पहिलो गीत गाएँ

आधुनिक गायनतर्फको स्वर परीक्षामा उत्तीर्ण भएपछि चन्दन श्रेष्ठसँग आधुनिक संगीत सिक्न थालें । त्यतिबेला म रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता अध्ययन गर्दै थिएँ । बिहान क्याम्पस जान्थेँ दिउँसो संगीत सिक्थें । यही क्रममा मैले विष्णुबाबु देवकोटाको शब्द तथा सुशील विश्वकर्माको संगीतमा ‘जति अघि बढे पनि क्षितिज पर सर्छ’ गीत गाएँ । त्यो नै मेरो पहिलो गीत थियो । उक्त गीतले राम्रो प्रतिक्रिया त पायो तर त्यसको खासै चर्चा भने भएन । 

तीज गीतले चिनायो 

म अछाममा जन्मिएर बर्दियामा हुर्किएकी हुँ । त्यतातिर लोकभाका असाध्यै रुचाइन्छ । मेरी आमालाई पनि लोकभाका निकै मनपर्छ । त्यसैले उहाँले मलाई एउटा तीज गीत गाउन सुझाव दिनुभयो । २०७२ सालको तीजमा पशुपति शर्मा र मेरो स्वरको ‘नाचिदेऊ झिल्के भाँचिदेऊ कम्मर’ गीत बजारमा आयो । त्यो गीत हिट पनि भयो । त्यही गीतले मलाई दर्शक–श्रोतामाझ चिनाउन थाल्यो । त्यही गीतबाट मैले देश–विदेशका स्टेज कार्यक्रमहरू पनि पाउन थालें । दर्शक–श्रोताहरूको हौसलाले गर्दा मैले त्यसलगत्तै रामजी खाँडसँग ‘आहा मेरो मायालाई कति साह्रो सुहायो चट्ट टोपी ढाकाले’ गीत निकालें । जुन गीत हिजोआज पनि त्यत्तिकै बजिरहेको छ ।

 

२०७३ मा वैदेशिक सांगीतिक यात्रा 

२०७३ को तीजमा पशुपति शर्मा र मेरो स्वरको झ्याप्पै बरीलै गीत सार्वजनिक भयो । त्यसपछि मेरो चर्चा चुलिँदै जान थाल्यो । यही सिलसिलामा बाँके बर्दियाली समाज, माल्दिभ्सले मलाई पहिलो पटक वैदेशिक भ्रमण गर्ने मौका प्रदान गर्‍यो । यसरी सबैतिरबाट राम्रो प्रतिक्रिया पाउँदै गएपछि मलाई गीत–संगीतमा अझै अघि बढ्ने हौसला मिल्यो । यही क्रममा गत वर्ष शान्तिप्रियको शब्द तथा दीपक शर्माको संगीतको ‘मेरो जवानी’ गीत सार्वजनिक गरें । त्यसका साथै डीबी खड्काको शब्द तथा विनोद बाजुरालीको संगीतमा प्रमोद खरेल र मेरो स्वरको ‘देउडा खेल्छ चट्टै’ देउडा गीत बजारमा आयो । भर्खरै मात्र रामजी खाँड र मेरो स्वर रहेको ‘बिना पर्मिसन दिलमा इन्ट्री मार्‍यो मायाले’ गीत रिलिज भएको छ । यो गीतले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ, जसले गर्दा मैले पछाडि फर्केर हेर्नुपरेको छैन । 

 

 

प्रकाशित :असार २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्