सिफारिस र भनसुनमा भइँदैन लाहुरे

- साप्ताहिक संवाददाता

असार २५, २०७५

ब्रिटिस आर्मी तथा सिंगापुर प्रहरी धेरै नेपाली तन्नेरीहरूको सपना हो । पैसा कमाउने रहर, सुरक्षित भविष्य, इज्जतिलो जीवन उनीहरूको मुख्य लक्ष्य हो । यही सपना बोकेका सयांै युवा अहिले ब्रिटिस आर्मी तथा सिंगापुर पुलिसका लागि तयारी गरिरहेका छन्, तर तयारी गर्ने सबै भर्ना हुन्छन् नै भन्ने छैन । कति बाध्यताले रोकिनुपर्छ त कति दक्षता, क्षमता र योग्यताको कमीले ? कुनै पनि व्यक्ति कुनै पनि कार्यमा सफल हुन उसमा दक्षता, क्षमता, योग्यता, लगनशीलता एवं निरन्तरता आवश्यक छ । 

आफ्नो आवश्यकताअनुसारको सीप र शिक्षा विभिन्न तालिम केन्द्रबाट प्राप्त गर्न सकिन्छ । आफूमा भएको क्षमता र योग्यतालाई निखार्न कुनै न कुनै माध्यम आवश्यक हुन्छ र ती माध्यम तालिम केन्द्रहरू हुन् । ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा भर्ती हुन चाहने युवाहरूलाई यस्ता केन्द्रले फिजिकल, एजुकेसनल तथा मेन्टलजस्ता विभिन्न ज्ञान दक्ष व्यक्तिबाट उपलब्ध गराउँछन्, तर राम्रो तालिम केन्द्रको छनौट कसरी गर्ने दुविधा छ । यद्यपि गम्भीरतापूर्वक मूल्यांकन गर्ने हो भने राम्रो तालिम केन्द्र छुट्याउन कुनै समस्या हुँदैन ।

जुनसुकै देशको सेनामा भाग लिन शरीरको ‘फिटनेस’ पहिलो प्राथमिकता हो । ब्रिटिस आर्मी तथा सिंगापुर पुलिसमा भर्ती हुने निश्चित मापदण्ड छ अर्थात् उमेरको हकमा १८ वर्ष पूरा भै २१ वर्ष ननाघेको, तौल ५० किलोग्राम, उचाइ १ सय ५८ सेन्टिमिटर । व्यक्ति निरोगी र तन्दुरुस्त हुनैपर्छ । यस्तै आफ्नो नागरिकता, आमाबाबुको नागरिकता, हालसालै खिचिएको टोपी नलगाइएको, दुवै कान र अनुहार स्पष्ट देखिने पार्सपोर्ट साइजको फोटो तथा पासपोर्ट पनि आवश्यक हुन्छ । 

शैक्षिक योग्यताको हकमा केही वर्ष अघिसम्म कक्षा ८ उत्तीर्ण गरे पुग्थ्यो तर अहिले एसएलसी उत्तीर्ण हुनैपर्ने, राम्रो अंग्रेजी बोल्न र लेख्न सक्ने तथा सामान्य ज्ञानको जानकारी राख्न सक्ने हुनैपर्ने सर्त छ । एसईईको ग्रेडिङ सिस्टमअनुसार अनिवार्य ५ विषयमा कम्तीमा ३ वटामा सी र २ वटामा डी ल्याउनै पर्छ । ब्रिटिस आर्मीका लागि अनिवार्य अंग्रेजी र गणितमा सी ल्याउनुपर्छ भने सिंगापुर प्रहरीका लागि अनिवार्य अंग्रेजी विषयमा सी ल्याउनैपर्ने प्रावधान छ । यी मापदण्ड पूरा गरेका व्यक्तिले लाहुरे भर्तीका लागि फारम भर्न पाउँछन् । 

इन्टेक २०१८—१९ का लागि सिंगापुर प्रहरी र ब्रिटिस आर्मीका लागि जेठ १४ गतेदेखि सुरु भएको भर्ना प्रक्रिया असार २३ गतेसम्म रहनेछ । यो वर्ष सिंंगापुर प्रहरीका लागि १ सय तथा ब्रिटिस आर्मीका लागि ३ सय २० जना गोर्खा सैनिकको माग भैआएको छ ।

प्रारम्भिक छनौटपछि क्षेत्रीय छनौट हुनेछ जसमा अनुत्तीर्ण हुने सम्भावना बढी हुन्छ । त्यसैले सहभागीहरूले अत्यन्तै ध्यान पुर्‍याउनुपर्छ । क्षेत्रीय छनौटमा प्रोसेसिङ, डकुमेन्टेसन, मेडिकल टेस्ट, एजुकेशन टेस्ट, फिजिकल टेस्ट तथा अन्तर्वार्ता हुन्छन् । क्षेत्रीय छनौटका लागि पूर्वमा धरान तथा पश्चिममा पोखरामा केन्द्र रहने छन् । 

क्षेत्रीय छनौटमा उत्तीर्ण भएपछि केन्द्रीय छनौटमा पर्नेहरूको नाम सार्वजनिक गरिन्छ । फाइनल छनौटमा परेकाहरूको नाम वेबसाइटमा समेत उपलब्ध हुन्छ जसले पोखरामा हुने केन्द्रिय छनौटमा सामेल हुन पाउँछन् । केन्द्रीय छनौटमा क्षेत्रीय छनौटको तुलनामा अझ मिहिन ढंगले सहभागीहरूको जाँच गरिन्छ । यहाँ विशेषत:अनुशासनमा ध्यान दिइन्छ । यस क्रममा शैक्षिक परीक्षा, फिजिकल टेस्ट, मेडिकल टेस्ट तथा अन्तर्वार्ता लिईन्छ ।

अहिले आदिवासी जनजातिसँगै अन्य जातिका युवाहरूमा पनि लाहुरे भर्तीप्रति आकर्षण बढेको पाइन्छ । भनसुन र पैसाको आडमा लाहुरे भर्ती हुन सकिँदैन । निर्धारित प्रक्रिया पूरा गर्नैपर्छ । लाहुरेमा भर्ती हुन चाहने युवाहरूले तालिम शुल्क तथा केही प्रक्रियागत शुल्कबाहेक अन्य रकम खर्च गर्नु पर्दैन । कसैले पैसाका बार्गेनिङ गरेर लाहुरेमा भर्ती गराइदिने सपना देखाएको छ भने समयमै होसियार हुनुपर्छ, किनभने तपाईं ठगिँदै हुनुहुन्छ । 

                                     (सल्युट गोर्खा ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक 

                                         राहुल पाण्डेसँगको कुराकानीमा आधारित)

प्रकाशित :असार २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्