विश्वकप दर्शन नियमावली–२०१८

- अधिकारी रवीन्द्र

असार २४, २०७५

 

विश्वकप फुटबल घरेलु दर्शक महासंघको केन्द्रीय कार्यालयको मुख्य सूचनापाटीमा प्रकाशित मिति २०७५ असार १ । गत जेठ ३१ गतेदेखि रसियामा जारी फिफा विश्वकप फुटबल हेरिरहेका दौरान गाउँ, समाज र विशेष गरी घर–परिवारमा हुन सक्ने असमझदारी, झैझगडा वा किचलोलाई न्यूनीकरण गर्ने हेतुले विश्वकप दर्शन ऐन–२०१४ को प्रस्तावनालाई टेकी सर्वसाधारणका घर–घरमा शान्ति र अमनचयनका साथ विश्वकप हेर्ने वातावरण सिर्जनार्थ विश्वकप दर्शन नियमावली सार्वजनिक गर्न वाञ्छनीय भएकाले विश्वकप फुटबल घरेलु दर्शक महासंघले देहाएका नियमहरू बनाएको छ । 

प्रस्तावना 

फुटबल नेपालमा मात्र नभै विश्वभरि नै निकै लोकप्रीय खेल हो जसको औपचारिक सुरुवात सन् १८६३ मा बेलायतमा भएको मानिन्छ तथापि फिफा विश्वकप भने सन् १९३० मा उरुग्वेबाट सुरु भएको हो । प्रत्येक चार वर्षमा आयोजना हुने यो कप फुटबल जगत्को महापर्व भएकाले विश्वभरि नै यसलाई उल्लासका साथ मनाइन्छ । यो खेल पूरै एक महिनासम्म चल्ने भएकाले व्यक्तिगत, पारिवारिक तथा सामाजिक जनजीवनमा समेत खेलका दर्शकलाई प्रभाव पार्ने देखिएकाले सबैले सुविस्ताका साथ नियममा रहेर खेल हेरून् र हेराऊन् भन्ने अपेक्षासमेत गरिएको बेहोरा जानकारी गराईन्छ । 

परिच्छेद १ : प्रारम्भिक (१) संक्षिप्त नाम र परिचय (क) यो नियमावलीको नाम विश्वकप दर्शन नियमावली २०१८ छ (ख) यी नियमहरू तत्काल लागू हुनेछन् । 

(२) विषय र प्रसङ्गले अर्को अर्थ नलागे यो नियमावलिमा (क) ऐन भन्नाले विश्वकप दर्शन ऐन २०१४ सम्झनुपर्छ । (ख) बल भन्नाले मैदानमा २२ जनाले यता र उता हल्लाउने गोलो वस्तु सम्झिनुपर्छ । (ग) विश्वकप भन्नाले फिफा विश्वकप–२०१८ सम्झनुपर्छ । (घ) भिजिलान्ते भन्नाले खेलमा वास्तविक रुचि नभै दर्शक भाँड्न वा सच्चा दर्शकलाई र्‍याग गर्न आएका जमातको सदस्य सम्झनुपर्छ । (ङ) हल्लागिरी भन्नाले विपरीत टिमका अल्लारे समर्थक सम्झनुपर्छ जसले विपरीत टिमका जुनसुकै लुलेलाङ्ग्रे खेलाडीको खुट्टामा बल पर्नासाथ ‘गोल गोल’ भनेर सच्चा दर्शकलाई टिक्नै नसक्ने गरी हुटिङ गर्छ । (च) रुन्चे भन्नाले आफूले समर्थन गरेको टिमले गोल खाएपछि रुवाबासी गर्ने दर्शक सम्झनुपर्छ । (छ) पिन्चे भन्नाले खेल नबुझ्ने तर रुन्चे रोएको देखेर सहानुभूति स्वरुप रोइदिने आसेपासे बुझ्नुपर्छ । (ज) घाँस भन्नाले खेल चलिरहेका बेला विभिन्न बहानाबाजी वा नाटक गरी रिमोट माग्ने वा खोस्ने, प्लग खुस्काउने तथा डकार्ने र गन्हाउने ग्याँसहरू उत्पादन गर्ने सदस्य बुझ्नुपर्छ । 

परिच्छेद २: ३) खेल हेर्नेसम्बन्धी व्यवस्था । यो नियमावलीमा निम्न व्यवस्था गरिएको छ :–

३.१) यो खेल घरको काम लठिभद्र छाडी बिहान–बेलुकाको दानापानी नै बन्द हुने गरी सपरिवार एकसाथ हेर्न मनाही गरिएको छ । उमेरले १५ वर्ष नाघेको कम्तीमा एक जना सदस्य भान्सा विभागमा हुनैपर्छ । रुचि र आवश्यकताअनुसार सदस्यहरूले आलोपालो गर्न सक्छन् । ३.२) आफूलाई मन पर्ने टोलीलाई जर्सी लगाएर वा अरूलाई असर नपर्ने गरी हुटिङ गरेर समर्थन गर्न पाइन्छ तर हार्‍यो भन्दैमा हार्ने टोलीका प्रशंसकलाई होच्याउन, पेल्न, लछारपछार गर्न, ट्रोल बनाऊन वा बेइजत गर्न पाइँदैन । त्यसैगरी आफ्नो टोलीले हार्‍यो भने रुने, चिच्याउने, मान्छे अत्याउने गरी घण्टाँै घोप्टो पर्ने, जर्सी च्यात्ने, जलाउने तथा मोबाइल टिभी फुटाउने वा बन्द गर्ने जस्ता हर्कत गर्न पाइनेछैन । ३.३) खेलको अन्तिम नतिजा आउनुपूर्व यसले जित्छ र उसले जित्छ भन्दै फुइँ लगाउने, इच्छाविपरीत बाजी थाप्न लगाउने र विपरीत टिमका समर्थकको मनोबल गिर्ने गिराउने क्रियाकलाप गर्न पाइनेछैन । ३.४) अन्य निषिद्ध कार्यहरू: (क) मुख छाड्न र हात हालाहाल गर्न पाइनेछैन (ख) धारिलो र पड्किने हतियार लिएर खेल हेर्ने स्थानमा जान पाइनेछैन (ग) खेल हेर्ने क्रममा जम्मा भएका गाउँले दिदीबहिनी, भान्जी, साली, भतिजी, बुहारी वा सोल्टिनीमाथि गिद्दे नजर लगाउन पाइनेछैन । ३.५) आफै जिम्मेवार हुनुपर्ने : (क) मध्यरातका खेलहरू पूरै हेरेर स्कुल कलेज वा कार्यालयमा दिउँसो उँघ्ने कार्य गरे स्कुल कलेजबाट रेस्टिकेट अथवा जागिरबाट नक आउट भए (ख) खेल हेर्दा उत्तेजनामा उफ्रिँदा लडे, अङ्गभङ्ग वा हर्ट एट्याक भए (ग) हेर्ने स्थानबाट घडी, मोबाइल, सिक्री, पैसा, पर्स, रुमाल वा अन्य बहुमूल्य सामान खसे वा हराए ।

परिच्छेद ३:(४) अन्य नियम विनियममा असर नपर्ने : यो नियमावलीमा उल्लेख भएका नियमहरूले क्षेत्रगत रूपमा बनेका, चलनचल्तीमा रहेका नियम बिनियमलाई कुनै प्रकारले असर गर्ने–गराउने छैन । (५) संयोग हुने : यसमा व्यवस्था भएका बुँदाहरू अन्य नियम, विनियमसँग मेल खाए संयोग मात्र हुनेछ । (६) अमान्य हुने : यो नियमावलीमा बाझिएका कुनै पनि कुरा बाझिएको हदसम्म अमान्य हुनेछ । (७) बाधा–अड्काउ फुकाउने : यो नियमावलीमा व्यवस्था भएका कुराबाहेक अन्य परिस्थिति सिर्जना भै विवाद आए आपसी समझदारीबाट बाधा–अड्काउ फुकाउन कुनै बाधा पर्नेछैन ।

अध्यक्ष

विश्वकप फुटबल घरेलु दर्शक महासंघ, केन्द्रीय कार्यालय

(बोधार्थ : रुन्चे, पिन्चे, हल्लागिरी, घाँस र खेलसँग सम्बन्ध राख्ने सबै ।)

                                                                       ravinems@iom.edu.np

प्रकाशित :असार २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्