उच्च रक्तचाप यौन उत्तेजना

- डा. राजेन्द्र भद्रा

असार २२, २०७५

 

 

म ५० वर्षीय पुरुष हुँ । मलाई २०५५ सालदेखि प्रेसर तथा २०६३ सालदेखि सुगर छ । हालसम्म नियमित औषधि सेवन गरिरहेको छु । एक वर्षयता मलाई यौनसम्पर्क गर्न मन लाग्छ र त्यसका लागि कुनै समस्या पनि छैन जस्तो लाग्छ । यद्यपि यौन सम्पर्कका बेला मेरो लिंग लुलो हुन्छ । पहिले जस्तो दह्रो हुँदैन । सुगर तथा प्रेसरका कारणले भनौं भने त्यतिका वर्षसम्म समस्या आएन, अहिले १ वर्षदेखि यो समस्या देखा परिरहेको छ । म अरू बिरामी छैन । मेरो यो समस्या समाधानको उपाय के होला ? 

                                                                                                -एम.

 

 

उच्च रक्तचाप तथा लिंग उत्तेजनाको समस्या

तपाईंले प्रेसर भनेर उच्च रक्तचापको कुरा गर्नुभएको हुनुपर्छ । उच्च रक्तचापमा विभिन्न किसिमले लिंगको उत्तेजनामा समस्या सिर्जना हुन सक्छ । उच्च रक्तचाप भएका व्यक्तिको लिंगमा रगत लाने रक्तनसा जसरी लचिलो भएर खुल्नुपर्ने हो खुल्दैन, जसले गर्दा लिंगमा आवश्यक रूपमा रक्तप्रवाह नहुँदा लिंगमा दह्रोपन आउँदैन । उच्च रक्तचाप भएका कतिपय व्यक्तिको टेस्टेस्टेरोन हार्मोनको मात्रा कम हुन सक्छ र त्यसको प्रभाव पनि यौन उत्तेजनामा पर्न सक्छ । पर्याप्त यौन उत्तेजना नहुँदा लिंग दह्रो नहुन सक्छ । उच्च रक्तचापका साथै यसको उपचारका लागि प्रयोग गरिने औषधिको नकारात्मक असरले पनि लिंगको दह्रोपनमा नकारात्मक प्रभाव पार्न सक्छ । रक्तचापको उपचारमा दिइने पिसाब लगाउने औषधिले लिंगमा हुने रक्त प्रवाहलाई प्रभावित तुल्याउँछ । त्यसैगरी बिटा ब्लकर समूहका औषधिले पनि लिंगमा उत्तेजना गराउने स्नायुलाई नै प्रभावित तुल्याउँछन्, जसले लिंगको दह्रोपनमा नकारात्मक असर पर्छ । 

 

मधुमेहले कस्तो प्रभाव पार्छ ?

तपाईंले आफूलाई सुगर भएको भनेर पक्कै मधुमेहको कुरा गर्नुभएको हुनुपर्छ । सजिलो भाषामा भन्नुपर्दा मधुमेह भएका व्यक्तिको रगतमा चिनी (ग्लुकोज)को मात्रा बढी हुन्छ । तपाईंले यतिका वर्ष भए पनि मधुमेहलाई नियन्त्रणमै राख्नुभएको होला भन्ने आशा गर्छु । रगतमा चिनीको मात्रा नियन्त्रण भएन भने अनेकौं समस्या देखा पर्न सक्छन् । 

 

लामो समयसम्म अनियन्त्रित रूपमा चिनीको मात्रा बढी भैरहे त्यसले रक्तनसा अनि स्नायुलाई समेत हानि पुर्‍याउँछ । पछि गएर यसको प्रभाव यौन उत्तेजना, योनि रसाउने वा लिंग उत्तेजनमा पर्छ । लिंगमा रगत भरिन ठीक समयमा नाइट्रिक एसिड नामको रसायन निस्कन्छ, जसले रक्तनसाका मांसपेशीलाई खुकुलो हुन रसायनिक सन्देश वाहकका रूपमा काम गर्छ । मधुमेहका कारणले रक्तनसा वा स्नायुमा खराबी आउँदा त्यसले राम्रोसँग कार्य गर्न सक्दैन । यी कारणले लिंग जति दह्रो हुनुपथ्र्यो, नहुन सक्छ । 

 

त्यसबाहेक मधुमेह भएका व्यक्तिमा अन्य कतिपय कारणले पनि यौन जीवनमा नकारात्मक असर परेको हुनसक्छ, जस्तै— उच्च रक्तचापको समस्या, जसले पनि रक्तनसामा हानि पुर्‍याउँछ । त्यसैगरी खराब किसिमको कोलेस्टेरोलको मात्रा बढी भएको हुन सक्छ, जसले रक्तनसालाई साँघुरो बनाउन सक्छ । जीवनशैलीको कुरा गर्ने हो भने पनि मधुमेह भएका कतिपय व्यक्तिले धूमपान गर्ने, खानामा परहेज नगर्ने हुन सक्छ । धूमपानले स–साना रक्तनसामा रगतको प्रवाह कम गर्छ । अनियन्त्रित रूपमा चिनीको मात्रा कम वा बढी हुँदा थकाइ लागेजस्तो हुने वा जाँगर वा स्फूर्ति नहुने स्थिति हुन्छ, जसले यौन क्रियाकलापमा संलग्न हुने कुरामा नकारात्मक असर पार्छ । त्यसबाहेक मधुमेह भएको व्यक्तिमा आफ्नो स्वास्थ्यका सम्बन्धमा नकारात्मक भावना हुनसक्छ । कतिपयले चाहेर पनि आफ्नो जीवनशैली परिवर्तन गर्न सकेका हुँदैनन् वा तौलको उचित व्यवस्था गर्न सकेका हुँदैनन् । यस्तो हुँदा उसको आत्मसम्मानमै धक्का पुगेको हुन सक्छ, जसले मधुमेह भएका व्यक्तिको यौनेच्छा वा यौन लगावमा नकारात्मक असर पारिरहेका हुनसक्छ । 

 

उमेरका कारणले पुरुषमा देखिने परिवर्तन 

उमेर बढ्दै जाँदा युवावस्था सरह यौन क्रियाकलापलमा संलग्न हुन नसक्ने स्थिति सिर्जना हुन सक्छ । एजिङ ९ब्नष्लन० अर्थात् समयको गतिसँगै उमेर बढ्नु र त्यसका साथै शरीर अनि यसको कार्य सम्पादन क्षमता परिवर्तन हुनु एक सामान्य तथा निरन्तर भैरहने प्रक्रिया हो । यसको प्रभाव हाम्रो शरीरका सबै अङ्गप्रत्यङ्ग तथा कार्य सक्षमतामा देखिन्छ । त्यस क्रममा यौनसम्बन्धी कुरासमेत प्रभावित हुने नै भयो । पुरुषमा देखिने केही मुख्य परिवर्तन :

 

 यौन सम्पर्क गर्दा–गर्दै लिंगमा भएको उत्तेजना हराउन अर्थात् शिथिल हुने क्रम बढ्न सक्छ । लिंग उत्तेजित हुन धेरै समय तथा मेहनत लाग्ने 

हुन सक्छ ।

 

 चरमसुखको स्थितिमा पुग्दा पहिलेजस्तो वीर्य स्खलन नहुन सक्छ । वीर्य स्खलन नै नहुने वा थोरै हुने हुन सक्छ । पौरुष ग्रन्थि तथा अन्य अवयवमा आएको परिवर्तनका कारण यस्तो भएको पाइन्छ ।

 

 पहिलेको तुलनामा यौन चाहनाको तीव्रतामा कमी आउन सक्छ । तुलनात्मक रूपमा एकपटक चरमसुख पाइसकेपछि फेरि लिंग उत्तेजित हुन बढी समय लाग्न सक्छ । 

 

 लिंग उत्तेजित गर्न तथा चरमसुखसम्म पुग्न बढी समय लाग्न सक्छ, त्यसैले यौनसम्पर्कको समय बढ्छ । उत्तेजित नै भए पनि युवा अवस्थाको तुलनामा जस्तो कडा नहुन सक्छ ।

 

 वीर्य स्खलन युवावस्थाको जस्तो बेस्सरी ननिस्कन सक्छ र वीर्यको मात्रा पनि कम हुन सक्छ ।

 

 

समाधान

सर्वप्रथमत: उच्च रक्तचाप तथा मधुमेहलाई नियन्त्रणमा राख्नुपर्छ । यसो गर्दा त्यसका प्रभावलाई न्यूनीकरण गर्न सकिन्छ, तैपनि लामो समयसम्म यी कुरा भएकाले त्यसको असर त परेन भनेर पक्का गर्न चिकित्सकबाट जाँच गराउनुहोस् । कतै तपाईंले प्रयोग गरिरहनुभएको औषधिको प्रभाव त होइन भनेर नलजाई चिकित्सकसँग सोध्नुहोस्, उहाँले अर्को औषधि दिन सक्नुहुन्छ । 

 

बढ्दो उमेरका कारण पनि यौन सक्षमतामा नकारात्मक असर पर्न सक्छ, तसर्थ अव्यवहारिक अपेक्षा राख्नु मनासिव हुँदैन । युवा अवस्थामा जस्तै कार्य सक्षमता नरहन सक्छ । तनाव, चिन्ता वा भय कम गर्न सक्नुपर्छ । सहज वातावरण र तनावरहित भएर यौन क्रियाकलापमा संलग्न हुँदा फाइदा मिल्छ । आवश्यकताभन्दा बढी पिर गर्दा समस्या थप बल्झिन सक्छ ।

प्रकाशित :असार २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्