मिस नेपाल नर्थका अन्तिम २० सार्वजनिक

- रामजी ज्ञवाली

असार २१, २०७५

न्यूयोर्कमा आयोजना हुने मिस नेपाल नर्थ अमेरिका–२०१८ का लागि अन्तिम २० प्रतियोगीको नाम सार्वजनिक गरिएको छ । 

अन्तिम चरणमा छनोट हुने प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरु मेक्सिको र क्यानडाबाट समेत रहेको वताईएको छ । छानिएकामध्ये क्यानडा मिसीसौगाकी अनुशा अधिकारी, टोरोन्टाकी प्रतिमा उपाध्याय, भ्यानकुभर ब्रिटिश कोलम्बियाकी सुजाता लामा,  क्यालिफोर्नियाकी आकृती शाह, सृजना राई, मिचिगनकी भविष्य लामा, अलाबामाकी दिलाशा कोइराला, इण्डियानाकी ज्योति गुरुङ, टेक्सासकी करुणा अधिकारी, पेनसेल्भेनियाकी माया अधिकारी, न्युयोर्ककी मोनिका घले, रिदिका प्रधान, सृजना राना, भर्जिनियाकी पूजा थापा, सिम्रन चुडाल, टेक्सासकी संयुक्त पुरी, मेरिल्याण्डकी सनम थापा, म्यासाचुसेट्सकी श्रद्धा केसी, स्वेता लामा तथा मिनिसोटाकी स्मृति लामिछाने रहेका छन् । 

पहिलोपटक आयोजना हुन लागेको यो प्रतियोगीतामा सहभागी हुन चाहाने प्रतिस्पर्धी धेरै भएकाले अन्तिम २० निकाल्न निकै हम्मे परेको आयोजकमध्येका एक निराकार उप्रेतीले वताए । उनले भने, ‘यस पटकका प्रतियोगीहरु उच्च शिक्षा हासिल गरेका, ईन्जिनियर, सामाजिक अभियन्ता, चिकित्सा पेशामा अध्ययनरत डाक्टरसमेत रहेकोले निकै उत्साहित छौं, पहिलोपटक आयोजित यो कार्यक्रममा यो खालको उत्साहजनक सहभागीता होला भनेर हामीले सोचेका पनि थिएनौं ।’

प्रतियोगीहरु अगस्ट ५ भित्र न्यूयोर्कमा आउने छन् । अगस्ट ६ तारिख देखि सबै प्रतियोगीहरुले प्रशिक्षणमा सहभागिता जनाउने छन् । मिस नेपाल नर्थ अमेरिकाको अन्तिम प्रतियोगिता न्यूयोर्कस्थित मेलरोज बलरुममा अगस्ट ११ तारिखमा सम्पन्न हुदैछ । 

अगस्ट ६ देखि १० सम्म हुने तालिममा सन् २०१० कि मिस नेपाल सदिक्षा श्रेष्ठले कोरियोग्राफी र विविध क्षेत्रको तालिम प्रदान गर्नेछिन् । यसैगरी मिस वुमेन न्यूयोर्क २०१७ की विजेता फतेना क्वासेमले पनि तालिम दिने छिन् ।

प्रतियोगिताको ग्राण्ड फिनालेमा बर्तिका एम राई, हेमन्त राना, धर्माविर लामा तथा झंकार डान्स केन्द्र न्यूयोर्क लगायतको प्रस्तुति रहनेछ । यो कार्यक्रमको आयोजना उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्मेन्टको सहकार्यमा गर्न लागेको हो । 

 

प्रकाशित :असार २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्