ने मुनि र मञ्जुश्री

- किशोर नेपाल

असार २१, २०७५

ऋषि ने मुनि र देवी मञ्जुश्री अन्तत: मानिस नै थिए । नेपालमा सबैभन्दा पछिल्लो भुइँचालो आउनुअघि उनीहरू कान्तिपुरको यात्रामा आउन लागेका थिए । यता सामान्य यात्राको अनुमति प्रदान गर्न पनि सरकारका अधिकारीले नेमुलाई कार्यकक्षमा बोलाएका थिए । कोलिग्राममा यस्तो चलन थिएन । यो कुरा पटक्कै मन परेको थिएन मञ्जुलाई । आजको जमानामा कम्प्युटरको एउटै क्लिकले गर्न सक्ने त्यति जाबो काम त नगर्ने कर्मचारीले देशको निर्माण कसरी गर्लान् ?

अनौठो कुरो, विश्व–ब्रह्माण्डमा समयको गति सूर्यको प्रकाशजत्तिकै तीक्ष्ण वेगका साथ अघि बढिरहेको अवस्थामा प्रकृतिस्थानको समय पछिल्तिर धकेलिइरहेको थियो । तैपनि उनी चुप थिइन् । यो भूमिमा विद्रोहको खासै अर्थ पनि थिएन । बादल र सूर्यका बीच झुन्डिइरहेको एउटा पराकल्पित अ–राज्यको सुधारमा लाग्नु नै व्यर्थ हो । यो त याक गोठालाहरूले हिउँको थुप्रोमा कुँदेको चित्रलाई यतिको पाइला भन्दै एक्लै यतिको खोजीमा हिउँपहिरोमा पुरिने पर्यटकको कथाजस्तै हो । हिमालयका खोच र जँघारतिर यतिको खोजी गर्नु र प्रकृतिस्थानजस्तो सनातनी राज्यलाई मानवोचित बनाउनु दुवै समान हो । गति त जीवनलाई पो दिन सकिन्छ । जहाँ जीवन नै पाताल गंगाजस्तो लुप्त छ त्यहाँ केको गति ?

नेमु अधिकारीको कार्यालयबाट फर्कंदा मञ्जुश्री आफ्नो फ्याबलेटमा मग्न हुँदै कोलिपिडिया हेर्दै थिइन् । कोलिपिडिया प्रकृतिस्थानका युवा वैज्ञानिक शुक्र शर्माको आविष्कार थियो– सूचना र जानकारीहरूको असीमित भण्डार । सरकारले यो आविष्कारको सार्वजनिक वितरणमा रोक लगाएको थियो । उच्च वर्गका व्यक्तिहरूमा वितरणका लागि भने त्यस्तो कुनै निषेध थिएन । शुक्र आफैंले मञ्जुश्रीलाई कोलिपिडियाको एप उपहार दिएका थिए । उनका लागि यतिखेर यो एप सार्‍है उपयोगी सावित भैरहेको थियो । उनी जानकारीको थुप्रोमा थिइन्, कोलिग्राम भ्रमणमा के गर्ने र के नगर्ने ? के खाने र कहाँ खाने ? कस्तो पहिरनमा सजिने ? आफ्नै सिर्जनाको गन्तव्यमा पुगेर अलमलिनुपर्ने अवस्थाबाट मुक्त थिइन्— मञ्जुश्री । विज्ञानले अन्त्य गरिदिएको थियो उनका कष्टहरू । आफूले सिर्जना गरेको उपत्यकामा भएका अथाह परिवर्तनको जानकारीले उनी भावविभोर थिइन् । मनैदेखि गद्गद । उनी जतिसक्यो छिटो नव कल्पमा प्रवेश गर्न चाहन्थिन् । नव कल्प अर्थात् नयाँ समय, नवीन चेतनाको समय । 

प्रकृतिस्थान आधुनिक विज्ञानसँग जोडिए पनि त्यहाँ मध्य कल्प निरन्तर थियो । शासन–व्यवस्था अनुदार र एकाधिकारवादी भएकाले विकास भए पनि त्यसमा मानवीय तत्व थिएनन । मानिसको जीवन शान्त थियो, तर त्यो शान्ति अत्यन्त उच्चाटलाग्दो थियो । उच्च वर्गका मानिसहरू चामल, तील र जौलाई घ्यूमा मुछेर यज्ञकुण्डमा हवन गर्थे । सामान्य मानिस दिनभरि यज्ञका लागि फलफूल, पुष्प र समीधा बटुल्न जान्थे । यो काम सरकारले जनताका लागि तोकेको आधारभूत राष्ट्रिय कर्तव्यभित्र पथ्र्याे । झिसमिसे बिहानदेखि मध्या्नहसम्म वेद र उपनिषदका एकोहोरो मन्त्रोच्चारणले वातावरण गुन्जिन्थ्यो । आगोमा डढेको अन्नको सुगन्धले वायुमण्डल मगमगाउँथ्यो । 

जीवनका लागि आवश्यक सुख–सुविधा असीमित रूपमा उपलब्ध थिए । तर, सीमित आभिजात्य वर्गका मानिसका लागि मात्र उपलव्ध ती सुविधा अत्यन्त नीरस लाग्थे । सुख र सुविधा जति धेरै मानिसले भोग्न पाउँछन्, त्यति नै ती आनन्ददायक हुन्छन । एक्लाएक्लै कोही पनि आनन्दित हुन सक्दैन । एक–दुई दिन रमझम गर्न आउने पर्यटकका लागि प्रकृतिस्थान निश्चय पनि रमाइलो गन्तव्य थियो । तर कुनै पनि देशसँग सडक यातायातले नजोडिएको, पृथ्वी र आकाशबीच बादलमाथिको यो सांग्रिला गन्तव्य संसारभरिका सामान्य मानिसका लागि अगम्य थियो । केही दुस्साहसीहरू हिमच्छादित पर्वतका उच्च शिखरहरूबाट बेलुनका सहाराले प्रकृतिस्थानमा उक्लिन्थे र रमाउँथे, तर त्यहाँबाट सकुशल, सुरक्षित फर्किने कमै हुन्थे । 

नेमुसँगको अमर प्रेम र गहिरो आशक्तिले मात्र मञ्जुश्री प्रकृतिस्थानमा अड्किएकी थिइन । शरीरका हिसाबले बलिया थिए नेमु । आँखामा तेज थियो र अनुुहारमा ऊर्जा । उनको व्यक्तित्व नजरमा पर्नेबित्तिकै आगोको छेउमा राखिएको नौनीझैं पग्लिएकी थिइन् मञ्जुश्री । त्यसपछि सुरु भएको थियो सिडक्सनको सिलसिला । अन्तत: मञ्जुश्री सफल भएकी थिइन् । मेनकाको हाउ–भाउ र कटाक्षमा फसेका विश्वामित्र ऋषिजस्तै नेमु मञ्जुश्रीको शरीर र सौन्दर्यमा फसेका थिए । यही बिन्दुबाट नागदहलाई निकास दिएर मानव बस्तीको विकास गर्ने योजनाको वीजारोपण भएको थियो । 

पृथ्वीको यो कोल्टेमा मानिसको आवादीका लागि सुन्दर उपत्यकाको निर्माणमा आवश्यक जीवन–दर्शनका महत्वपूर्ण पक्षमा नेमुको असीमित ज्ञानको प्रयोग भएको थियो । सृष्टिकर्ताका रूपमा मञ्जुश्रीका लागि यो अनिवार्य तत्व थियो । उसो त, मञ्जुश्री आफैं विदूषी थिइन्, तर सिर्जना र निर्माण एक्लैले हुन सक्ने कुरा थिएन । कोलिग्राम उपत्यकाको निर्माणमा मञ्जुश्री प्रकृति थिइन, नेमु पुरुष । नेमु आदम थिए, मञ्जुश्री इभ । ‘आयौ नेमु तिमी ? के भने त अधिकारीले ?’ 

नेमु केही बोलेनन् । उनी अपलक मञ्जुश्रीको कोमल अनुहार निहार्न थाले । उनको दृष्टि कहिले मञ्जुश्रीका वक्षमा त कहिले उनका ओठमा पालैपालो ओहोर–दोहोर गरिरहेका थिए । मञ्जुश्री देखिएकी थिइन् अनिन्द्य सुन्दरी । नेमुको मनस्थिति बुझेकी थिइन् उनले । उनका चपल आँखामा अनुरागका थोपाहरू तप्किन थालेका थिए, बिहानका शितका थोपाहरू फूल र पातमा तप्किएजस्तै । कामोद्दीप्त थिए नेमु । वासनाले थरथर काँपिरहेका थिए उनका ओंठ । नेमुको अवस्थाले मञ्जुश्रीलाई पगाल्न थालिसकेको थियो । अचानक उनीहरू दुवै अंगालोमा बाँधिए । शयनागारको पर्दा लाग्यो ।

प्रकाशित :असार २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्