दाउद कनेक्सन

  • सबै ठूला अपराधमा दाउद कै नाम

- साप्ताहिक संवाददाता

असार २०, २०७५

 

९ असार २०७५, काठमाडौंको पानीपोखरीबाट नथमल अग्रवाल ‘नागराज’ पक्राउ परे । क्यासिनो, बुकी र सट्टेबाजीमा सम्लग्नता देखिएको भन्दै उनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । नागराजमाथि इन्डियन प्रिमियर लिग (आईपीएल)को सट्टेबाजीमा २ करोड ४० लाख रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेलगतै नागराज भारतीय प्रहरीको समेत मोस्ट वान्टेडको सूचीमा रहेको खुलासा मात्र भएन्, गोवालाई आधार क्षेत्र बनाएर नेपालमा सट्टेबाजीको साम्राज्य चलाइरहेको रहस्य समेत खुल्यो । कतिपयले त उनको अन्डरवल्र्डका नाइके दाउद इब्राहिमसम्मको कनेक्सनलाई लिएर चर्चा गरे । यद्यपि नेपालमा हुने सट्टेबाजीका मुख्य नाइके भनिएका नागराजको दाउद कनेक्सन प्रहरी अनुसन्धानबाट पुष्टि भने भैसकेको छैन ।

 

१५ असार २०५५, आजभन्दा ठ्याक्कै २० वर्षअघि काठमाडौंको सिफलमा तत्कालीन राप्रपाका सांसद तथा पूर्वमन्त्री मिर्जा दिलसाद बेग मारिए । सांसद बेगको हत्याको कारण उनको ‘अन्डरवल्र्ड कनेक्सन’ मानिन्छ । त्यसका पछाडि स्वभाविक रूपमा जोडिन्छन्, अन्डरवल्र्ड किङ दाउद इब्राहिम । अन्डरवल्र्डका मानिसहरू भारतबाट अपराध गरेर भागेपछि नेपालमा प्रोटेक्सन दिने, नेपाली नागरिकता र राहदानी दिलाएर दुबईलगायतका देशहरूमा भगाउन भूमिका खेलेकै कारण मिर्जाको हत्या छोटा राजन समूहले गरेको प्रतिवेदन हत्यासम्बन्धी छानबिन समितिले दिएको थियो । दाउदसँगकै दोस्तीका कारण मिर्जालाई हिट लिस्ट राखेर मारिएको बताइन्छ । मिर्जाको दाउद कनेक्सन नेपाल प्रहरीले त्यसअघि नै हात पारिसकेको थियो । दाउदको नम्बरबाट दुईवटा नेपाली नम्बरमा फोन आउने ‘गोप्य इन्टिलिजेन्स रिपोर्ट’ प्राप्त गरेको प्रहरीले अनुसन्धान गर्दा ती दुवै नम्बर मिर्जाको भएको पत्ता लाग्यो । एकदमै महत्वपूर्ण इन्टिलिजेन्स डकुमेन्ट एक्स्पोज गरिँदैन, तर त्यतिबेला तत्कालीन एआईजी ढालमन थापा नेतृत्वको अनुसन्धान टोलीले निकै गोप्य भनिएको उक्त ‘इन्टिजेन्स डकुमेन्ट एक्स्पोज’ गरिदियो । 

 

अन्डरवल्र्ड डन दाउद इब्राहिमसँगको कनेक्सनका कारण भएको भनिएको मिर्जा हत्याको दुई दशक बितिसकेको छ । यसबीच ‘कन्ट्याक किलर’मार्फत हत्या भएका झन्डै आधादर्जन व्यक्तिको हत्याको तार पनि अन्डरवल्र्डका नाइकेहरू दाउद, छोटा राजन र बब्लु श्रीवास्तवसम्म जोडिएको छ । अन्डरवल्र्डसँग जोडिएका घट्नाहरू (हेर्नुहोस् बक्समा)। पछिल्लो समय दुबई, मलेसिया, पाकिस्तानलगायतका देशहरूमा आर्थिक गतिविधि गरिरहेका भनिएका दाउदको नेपाल कनेक्सनका अनेकन किस्साले बेला–बेलामा काठमाडौंलाई तताइरहेको हुन्छ । नेपालमा हुने ठूला अपराधिक घटनाहरू, हत्या, हवाई अपहरण, भारतीय नक्कली नोटको कारोबार, ड्रग्स, सुन तस्करी, क्यासिनो, हुण्डी, सट्टाबाजीदेखि बिस्फोटक पदार्थको कारोबारसम्म पनि दाउदको नाम मुछिनु नौलो कुरा होइन् । अझ भारतीय मिडियाले त हतियार तथा नेपालका केही व्यवसायीहरूको लगानीमा समेत दाउदलाई जोडेर प्रचारित गर्दै आएका छन् । कतिसम्म भने केही भारतीय मिडियाले त सन् २०१५ मा दाउदको कराँचीमा हुने जन्मदिनको पार्टीमा नेपालबाट केही सांसदहरू निमन्त्रणा गरिएको खबर समेत प्रवाहित गरे । प्रहरी इन्काउन्टरमा मारिएका रुपन्देहीका मनोज पुनको कनेक्सन पनि कहिले दाउदसँग त कहिले भारतीय अन्डरवल्र्डसँग जोडेर चर्चा गर्ने गरिएको थियो, यद्यपि त्यसको पुष्टि कतैबाट हुनसकेको छैन । 

 

के मिडियामा चर्चा भएझै नेपालमा दाउद (डी कम्पनी)को कनेक्सन र चलखेल यथार्थ हो त ? नाम उल्लेख नगर्ने शर्तमा नेपाल प्रहरीका एक पूर्वउच्च अधिकारी सुन तस्करी, हुण्डी, सट्टाबाजी, फेक करेन्सीमा कुनै न कुनै रूपमा दाउदको कनेक्सन नेपालसँग जोडिने गरेको बताउँछन् । ‘अहिले दाउद व्यापारी भैसकेका छन्,’ ती सुरक्षा अधिकारीले साप्ताहिकसँग भने, ‘उनले आर्थिक ट्रान्जिटका रूपमा कतै न कतै नेपाललाई प्रयोग गरिरहेको देखिन्छ ।’ 

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का निवर्तमान प्रमुख तथा डीआईजी पुष्कर कार्की बेला—बेलामा अन्डरवल्र्डका विषयमा मिडियाहरूमा चर्चा हुने गरेको बताउँछन् । ‘बेला–बेलामा दाउद र अन्डरवल्र्डको नेपाल कनेक्सनका विषयमा चर्चा हुन्छ,’ कार्की भन्छन्, ‘पहिले भएका केही घटनामा पनि बाहिरको नेक्सस देखिएको थियो, त्यसैले यसलाई पूर्णत अस्वीकार गर्न सकिँदैन ।’ 

 

नेपालसँग दाउदको डी कम्पनी तथा भारतीय अन्डरवल्र्डको कनेक्सनका सम्बन्धमा एउटा रोचक तथ्य भारतको बरेलीस्थित कारागारमा जन्मकैदको सजाय भोगिरहेका अन्डरवल्र्ड डन बब्लु श्रीवास्तवको पुस्तकमा समेत उल्लेख छ । ‘सन् १९८९ मा पुलिसबाट जोगिन दिल्लीमा चन्द्रस्वामी कहाँ गएँ, केही दिनमै उनीसँग कुरा ब्रिगियो, त्यसपछि नेपाल गएर केही समय बसे । सन् १९९२ मा दुबई पुगे, दुबईमा मिर्जा दिलसाद बेगले मेरो भेटघाट दाउद इब्राहिमसँग गराए,’ बब्लु श्रीवास्तवको पुस्तक ‘अधुरा ख्वाब’को अंश उद्धृत गर्दै अमरउजालाले सन् २०१३ को एउटा समाचारमा लेखेको छ । मुम्बई बम ब्लास्टपछि बब्लुलगायत केही मानिस डी कम्पनीबाट अलग्गिए र उनीहरूको दोस्ती दुश्मनीमा बदलियो । 

 

दाउदसँग जोडिएका केही घटना

 १५ असार २०५५ सिफलमा मिर्जा दिलसाद बेगको हत्या 

 २४ भदौ २०६३ नयाँ बानेश्वरमा कमलसिंह नेपालीको हत्या 

 १९ असोज २०६४ नेपालगन्जमा अब्दुल मजीत मनिहारको हत्या 

 १० पुस २०६६ रुपन्देहीमा सौकत अलि बेगको हत्या 

 २४ माघ २०६६ मा सञ्चार व्यवसायी जमिम साहको लाजिम्पाटमा हत्या 

 २६ फागुन २०६७ मा युनुस अन्सारीमाथि केन्द्रीय कारागारमा भएको गोली प्रहार 

 ९ असोज २०६८ घण्टाघरमुनि नेपाल इस्लामिक संघका महासचिव फैजन अहमदको हत्या

२९ जनवरी २०१६ मा आजतकले ‘किडन्यापिङ किङको नाममा प्रख्यात थिए यी माफिया डन’ शीर्षकको आफ्नो समाचारमा पनि बब्लुको बारेमा यही कुरा उल्लेख गरेको छ । यसले पनि नेपालमा अन्डरवल्र्डको चलखेल हुने कुरातर्फ संकेत गर्छ । 

अन्डरवल्र्डको नेपाल कनेक्सनबारे सञ्चारकर्मी केपी ढुंगानाले अन्तर्देशीय अपराधका विषयमा लेखेको पुस्तक ‘ओपन सेक्रेट’मा विभिन्न प्रसंग उल्लेख छन् । ‘तत्कालीन सांसद मिर्जा दिलसाद बेग, कमल सिंह नेपाली, जमिम साह । बुटवल र नेपालगन्जमा मारिएका सौकत बेग र मजिद मनिहार अनि प्रहरी हिरासत र केन्द्रीय कारागारमै हत्या योजनासहित भएको आक्रमणमा मुस्किलले बाँचेका युनुस अन्सारी,’ उनले लेखेका छन्, ‘सबै घटना एकआपसमा अन्तर्सम्बन्धित देखिए ।...फरक समय र स्थानमा मारिएका सबै घटनामा भारतीय नागरिक नै संलग्न भेटिए । अधिकांश घटनामा नेपाली सहयोगीहरू पक्राउ परे, मुख्य योजनाकार र आक्रमणकारी पक्राउ परेनन् । उनीहरू सहजै फरार भए । प्रहरीले केही समय खोजेजस्तो गर्‍यो, अनि फाइल थन्क्यायो । सबै घटनाका मुख्य योजनाकार भारतीय अन्डरवल्र्डका सदस्य नै देखिए ।’ 

 

साप्ताहिकले भेटेका अनुसन्धानमा सक्रिय प्रहरीका केही पूर्वउच्च अधिकारी दाउद र अन्डरवल्र्डको नेपाल कनेक्सन, उनीहरूले गर्ने चलखेलका सम्बन्धमा मुख खोल्न त तयार भए तर नाम उल्लेख नगर्ने शर्तमा । ती उच्च अधिकारीकाहरूका अनुसार केही वर्षअघि नेपालमा दाउदको समूहले अपराध संसारका व्यक्तिहरूलाई जुवा खेलाउन काठमाडौंका क्यासिनोमा समेत हात हालेको थियो तर आपसमै विवाद देखिएपछि उनीहरूले क्यासिनोबाट हात झिके । दाउदसँग सम्बन्ध भएका व्यक्तिहरूको काठमाडौंमा हुने चलखेललाई पनि आफूहरूले नजिकबाट देखेको ती प्रहरी अधिकारीको तर्क थियो । 

 

१५ असार ०५५ मा सिफलमा भएको सांसद मिर्जा दिलसाद बेगको हत्यादेखि ९ असोज २०६८ घण्टाघरमुनि नेपाल इस्लामिक संघका महासचिव फैजन अहमदको हत्यासम्ममा अन्डरवल्र्डको कनेक्सन लगभग स्पष्टै देखिन्छ । यी सबै घटनामा प्रयोग गरिएका ‘कन्ट्याक्ट किलर’हरूमध्ये अधिकांश भारतीय नागरिक नै देखिन्छन् भने उनीहरूको कनेक्सन भारतीय जेलमा रहेका कुख्यात डन तथा दाउदका विरोधीहरू छोटा राजन र बब्लु श्रीवास्तवसँग जोडिन्छ । जुन कुरा घटनामाथि अनुसन्धान गर्न बनेका समितिका प्रतिवेदनमा समेत उल्लेख भएको पाइन्छ । 

 

दाउदको डी कम्पनीले ‘ब्ल्याक मनीलाई ह्वाइट मनी’ बनाउन पनि नेपालजस्ता देशहरू रोज्ने गरेको जानकारहरू बताउँछन् । ठूलो मात्रामा भैरहेको सुन तस्करीमा पनि बेला–बेलामा दाउदको नाम जोडिन्छ भने नेपालका केही व्यवसायीलाई समेत दाउदसँग जोड्ने गरिन्छ । यद्यपि त्यसको स्पष्ट नेक्सस के हो ? भन्ने कुरा प्रहरीले खोतल्न नसकेको हो वा त्यतातिर तत्परता नदेखाइएको हो त्यो भने रहस्यकै गर्भमा छ । ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या अभियोगमा पक्राउ परेका चूडामणि उप्रेती ‘गोरे’ले पनि विशेष छानबिन टोलीसँग सुन तस्करी प्रकरणमा ‘दाउदको नाम पोलेको’ बताइन्छ । 

 

अहिले फस्टाइरहेको क्रिकेट र फुटबलको सट्टेबाजीमा पनि दाउदको सम्भावित लगानीका सम्बन्धमा धेरैलाई शंका छ । नागराजअघि पनि प्रहरीले गत जेठमा अनलाइन सट्टेबाजी गरेको आरोपमा पूर्व फुटबलर अन्जन केसी, गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल र विजय श्रेष्ठलाई पक्राउ गरेको थियो । उक्त सट्टेबाजीमा डी कम्पनीको हात रहेको स्पष्ट प्रमाण भने अझै प्रहरीले हात पार्न सकेको छैन । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंह नेपालको सट्टेबाजीका मुख्य नाइके भनिएका नागराजलाई पक्राउ गरेर अनुसन्धान जारी राखेको बताउँछन् । ‘हामीले नेपालमा सट्टेबाजीका माष्टरमाइण्ड मानिने नागराजमाथि अनुसन्धान जारी राखेका छौं,’ सिंह भन्छन्– ‘उनको दिल्लीमा एकजनासँगको कनेक्सन त खुलेको छ तर, दाउदसँगको कनेक्सन भने देखिएको छैन ।’ 

 

बेला—बेलामा नेपालमा चर्चा रहने अन्डरवल्र्ड कनेक्सनको गम्भीर अनुसन्धान आवश्यक भैसकेको तर्क गर्छन्, नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल । ‘संगठित अपराधमा टाइम लिएर गहिरो अनुसन्धान गरिएन भने सेटअप र लिङकेज बुझ्न सकिँदैन,’ मल्ल भन्छन्, ‘वन्डरवल्र्डका कामहरू तल सरफेसमा भैरहेका हुन्छन्, त्यसलाई केलाउन प्यासेन्स र टाइमको आवश्यकता हुन्छ ।’ अझ पछिल्लो समय त अन्डरवल्र्डलाई कतिपयले स्टेट स्पोन्सर्ड अपराध गर्ने समूहका रूपमा पनि हेर्न थालेका छन् । जसले अन्डरवल्र्डमाथिको अनुसन्धान थप जटिल बनाउँदै लगेको पाइन्छ ।

प्रकाशित :असार २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्