Teej banner

इन्द्रेणी गीत

  • राष्ट्रिय कविता महोत्सव–२०७५ को प्रथम कविता

- फूलमान वल

असार १९, २०७५

वर्षौंदेखि तिम्रो इतिहासले—

विस्मृतिको बुइँगलमा मिल्काइदिएको 

पेङदोर्जेको उही प्राग्ऐतिहासिक डम्फू बजाउँदै 

गाएकै हो मैले, 

नयाँ युगको फापरे व्हाई

यसको मतलब यो हैन कि— 

मैले मादलको ताल बिगारें 

मादललाई त

लाउँदै मायाको खरी 

पागलप्रेमीले झैं 

भिर्दै आएकै हो— दिलको कम्मरमा

गाउँदै आएकै हो— तिम्रै एकोहोरो समला र चुट्की

हो मित्र, 

वर्षौंदेखि तिम्रो इतिहासले 

विस्मृतिको बरन्डामा बाँधिराखेको 

आँखे म्हेम्हेको उही पुरानो टुङ्ना बजाउँदै 

गाएकै हो मैले 

नयाँ युगको म्हेन्दोमाया

यसको मतलब यो हैन कि— 

मैले सितारको धुन बिगारें 

सितारलाई त 

झन तन्काउँदै प्रणय तार 

पागलप्रेमीले झैं 

राख्दै आएकै हो— मनको देब्रे कुनामा

गाउँदै आएकै हो— तिम्रै एकोहोरो वसन्त बन्दना

बरु कुनै समय,

सहगोत्री सहनाई र सारंगीलाई 

मिल्काएर ढोका बाहिर तिमीले

बनाइदिएका थियौ अछुत 

र, निदाएका थियौ लामो समय तिमी

घमन्डको राजपलङ

देखाएर मुर्चुङ्गा, ढोल, डम्फु र बाँसुरीमन 

जुन दिनदेखि तिमी निदायौ त्यसरी

त्यही दिनदेखि, 

कमजोर बनेको हो हाम्रो आँगनको चिरबिर लय

सुश्क सुनिएको हो स्वाभिमानी सारंगी

रुन थालेको हो सहगोत्री सहनाई 

हो, त्यही दिनदेखि नै

बज्न थालेको हो हाम्रो आँगनमा

आतंकको डरलाग्दो ड्रमसेट

सुनिन थालेको हो चारैतिरबाट 

एकसरो–एकसरो अहंको आलाप

हो मित्र, 

वर्षौंदेखि तिम्रो इतिहासले 

विस्मृतिको बँुइगलमा मिल्काइदिएको 

पेङदोर्जेको उही प्राग ऐतिहासिक डम्फु बजाउँदै 

गाएकै हो मैले, 

नयाँ युगको विहानी गीत

तिमीले सदियौंदेखि गाउँदै आएको 

एकसरो गीतमा

मात्र मैले, 

चाहेको हो थप्न एउटा रंगीन लय

जसरी सप्तरंगमा उभिन्छ इन्द्रेणी 

जसरी सप्तक–स्वरमा गुन्जिन्छ संगीत

त्यसरी नै गाउन चाहेको हो

मैले पनि समयको 

एउटा इन्द्रेणी गीत ।

प्रकाशित :असार १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्