महिला दर्शकको ध्यान तान्ने खेलाडीहरू

- साप्ताहिक संवाददाता

असार १९, २०७५

विश्वकपमा राम्रो खेल्ने खेलाडीहरूको चर्चा सधैं हुन्छ । आकर्षक देखिने खेलाडीहरूले मैदानमा राम्रो प्रदर्शन गरे भने त सुनमा सुगन्ध नै हुने भैहाल्यो । एक्काइसौं संस्करणको यो विश्वकपमा को चम्किन्छ भन्ने विषयमा फुटबलका विश्लेषकदेखि प्रशंसकहरूले पुराना खेलाडीहरूकै नाम दोहोर्‍याइरहेका छन् । यो विश्वकपमा यी खेलाडीहरूको प्रदर्शन कस्तो होला भनेर अहिले नै अनुमान गर्न नसकिए पनि उनीहरूलाई देखेर धेरै महिला प्रशंसकहरूले मन थाम्न सक्दैनन् । यो विश्वकपमा महिला दर्शकहरूले धेरै नै मन पराउन सक्ने केही खेलाडी ।

म्याट्स ह्युमिल्स

जर्मनीका म्याट्स ह्युमिल्सको आकर्षक व्यक्तित्वलाई देखेरै धेरै पटक ग्ल्यामर म्यागजिनहरूले उनलाई आफ्नो आवरणमा प्रस्तुत गरेका छन् । ६ फिट ४ इन्च अग्ला म्याट्सलाई केही म्यागजिनले मैदान बाहिर आकर्षक पहिरनमा सजिने फुटबलरसमेत घोषित गरेका छन् । ३२ वर्षीय म्याट्स विवाहित भए पनि उनका धेरै नै महिला प्रशंसक छन् । सन् २०१५ मा क्याथे फिस्चरसँग पारिवारिक जमघटबीच विवाह गरेका म्याट्स ब्रायन म्युनिखवाट डिफेन्डर पोजिसनमा खेल्छन् । म्याट्सकी श्रीमती क्याथे ‘मम्मी ब्लग’ चलाउँछिन् । गत जनवरी महिनामा पहिलो सन्तान भएपछि उनले अरू आमाहरूलाई सजिलो होस् भनेर उक्त ब्लग सञ्चालनमा ल्याएकी हुन् । प्रतिसाता १ करोड ९७ लाख रुपैयाँ पारिश्रमिक बुझ्ने म्याट्सले उक्त रकमबाट राम्रैसँग घर खर्च चलाइरहेका छन् । 

 जेम्स रोड्ग्विेज

कोलम्बियाका २६ वर्षीय फुटबलर जेम्स रोड्ग्विेजको हाँसोलाई हलिउड स्माइल भनिन्छ । उनको हाँसोकै कारण लाखौं युवती उनको फ्यान भएका छन् । कोलम्बियाकै आकर्षक फुटबलर जेम्स अन्डरवेयरको मोडलिङ गरेपछि उनका महिला प्रशंसकहरूको संख्या ह्वात्तै बढेको छ ।  प्रोफेसन भलिबल खेलाडी ड्यानियला ओस्पिनासँग विवाह गरेका जेम्स ब्रायन म्युनिखबाट वार्षिक ३ अर्ब ४ करोड ५० लाख रुपैयाँ तलब बुझ्छन् । म्यानचेस्टर युनाइटेडमा स्थानान्तर हुने समाचार बाहिरीएपछि धेरै इंग्लिस फ्यानहरू उनको प्रतीक्षामा छन् । 

रडामेल फाल्काओ

गोल मेसिनको उपनाम पाएका कोलम्बियाका रडामेल फाल्काओका महिला प्रशंसकहरूको संख्या अत्यधिक छ । आकर्षक शरीरका रडामेलले अर्जेन्टिनाकी गायिका लोरेली तारोनसँग विवाह गरेका छन् । श्रीमतीप्रति वफादार मानिने रडामेल हाल एएस मोनाको क्लबमा छन् । कोलम्बियन टिमका कप्तान समेत रहेका रडामेल कोलम्बियन टिममा सर्वाधिक गोल गर्ने खेलाडी मानिन्छन् । 

ओलिभर गिरोड

इंग्लिस प्रिमियर लिगमा चेल्सीवाट खेल्दा ओलिभरको चर्चा खेलको भन्दा पनि उनको लुक्सको भएको थियो । यही कारणले उनी निकै हैरानसमेत भएका थिए । केही अण्डरवेयर कम्पनीले उनलाई विज्ञापनमा अनुबन्ध गरेपछि उनको स्टाइल र लुक्सलाई डेभिड बेकह्यामसँग तुलना गरियो । स्टाइलिस देखिन रुचाउने ओलिभरले आफूलाई सुहाउँदो हेयर स्टाइल र टाटु बनाएपछि उनको फेसन सेन्सलाई बेकह्यामसँग तुलना गरिएको थियो ।  ३१ वर्षीय ओलिभरलाई ह्युगो बोस फ्याग्रेन्सले ब्रान्ड एम्बेसडर बनाएर क्यालेन्डरनै प्रकाशित गरेको थियो । उनलाई सन् २०१५ मा हटेस्ट प्लेयर इन ब्रिटेनको उपाधि पनि दिइएको थियो । इंग्लिस प्रिमियर लिगवाट चर्चा पाए पनि ओलिभर विश्वकपमा भने फ्रेन्च टिमबाट खेल्छन् ।

क्रिष्टियानो रोनाल्डो

विश्वमा सर्वाधिक महिला प्रशंसक बनाउन सफल खेलाडी क्रिष्टियानो रोनाल्डो नै हुन् भन्दा फरक पर्दैन । मैदानमा गोल मेसिनका रूपमा प्रस्तुत हुने रोनाल्डो क्लबमा मनी मेकिङ हुन् भने मैदान बाहिर फिमेल फ्यान मेकिङ पनि हुन् । मैदान बाहिर धेरै महिलासँग आत्मीय सम्बन्ध गाँसेका रोनाल्डो पिता भएपछि भने उनीसँग जोडिने युवतीहरूको संख्यामा कमी आएको छ । पुरुषले लगाउने अन्डरवेयर सीआर सेभेन ब्रान्डको निर्माता समेत रहेका रोनाल्डोको पछिल्लो प्रेम जर्जिना रोडिग्वेजसँग छ । प्रेमकै अवस्थामा जर्जिना रोनाल्डो मार्फत एक सन्तानकी आमा भैसकेकी छिन् भने रोनाल्डो सरोगेट मदर मार्फत् तिन सन्तानको पिता भैसकेका छन् । सम्भवत: आफ्नो अन्तिम विश्वकप भएका कारण पनि रोनाल्डो यो विश्वकपमा धेरै महिलाको आकर्षणमा छन् । 

प्रकाशित :असार १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्