एसएलसीको रिजल्ट हुने दिन के सोच्दै हुनुहुन्थ्यो ?

- महेश तिमल्सिना

असार १८, २०७५

 

एक पटक दिएको भए पो सम्झनु । तीन–तीन पटक एसएलसी दिनुपर्‍यो । तेस्रो पटकको नतिजा आउने दिनको चाहिँ सम्झना छ । यसपल्ट पनि फेल भएँ भने नेपालबाट भागेर मुम्बई जान्छु र कलाकार बन्न संघर्ष गर्छु भन्ने विचार मनमा आएको थियो ।

दीपकराज गिरी, अभिनेता 

डिस्टिङ्सन आउँछ कि आउँदैन भनेर सोचिरहेको थिएँ । आखिर डिस्टिङ्सन नै आयो । 

केकी अधिकारी, अभिनेत्री 

मैले ०६० मा एसएलसी दिएको थिएँ । एसएलसीको नतिजा आउने दिन मन एक्कासि आत्तिएको थियो, जिन्दगीको एउटा महत्वपूर्ण खुड्किलो हो, के होला कसो होला भन्ने कुराले मनमा बाढी नै ल्याएको थियो । भोलिपल्ट रिजल्ट आउने कुरा थाहा भएपछि त्यो रातभर निन्द्रा लागेन, बिहानीपख चाहिँ एक दिन निदाएछु । सपना पनि राम्रो देखेँ अनि उत्तीर्ण हुन्छु भन्ने झिनो आशा मनमा पलायो । हुन पनि म द्वितीय श्रेणीमा उत्तीर्ण भएँ । 

याम क्षेत्री, लोकगायक 

म कक्षाको प्रथम विद्यार्थी थिएँ । परीक्षा पनि राम्रो भएको थियो तर नतिजा कस्तो आउला भन्ने डर मनमा थियो । त्यसैले नतिजा आउने अघिल्लो दिन नतिजा राम्रो आओस् भनेर म र मेरी ममीले दुर्गा माताको व्रत लिएका थियौँ । 

विक्रान्त मेहेता

चिकित्सक तथा गायक 

नतिजा प्रकाशित हुने अघिल्लो दिनसम्म चाहिँ उत्तीर्ण भैहालिन्छ नि भनेर खासै वास्ता गरिएको थिएन तर नतिजा आउने दिन चाहिँ साह्रै डर लागेको थियो । 

रेश्मा भण्डारी, खेलाडी 

उत्तीर्ण चाहिँ हुन्छु भन्ने लागेको थियो तर नतिजा आउने दिन मुटु मुखमा पुगेको थियो । 

ऋचा शर्मा, अभिनेत्री 

उत्तीर्ण त हुन्छु भन्ने थियो, तर कुन डिभिजन आउला भन्ने सोचिरहेको थिएँ । द्वितीय श्रेणीमा उत्तीर्ण भएँ ।  

जितु नेपाल, अभिनेता 

कतिबेला रिजल्ट आउला र पास भएँ भने बुबासँग पैसा मागेर फिल्म हेर्न जान पाइएला भनेर सोचिरहेको थिएँ । 

कुमार विनोद पौडेल, कलाकार 

उत्तीर्ण हुन्छु भन्नेमा ढुक्क थिएँ, तर त्यति बेला अहिलेको जस्तो प्रविधिको विकास नभएकाले पत्रपत्रिकामा नतिजा हेर्नुपर्ने बाध्यता थियो । गाउँमा पत्रपत्रिका अलि ढिलो आउँथ्यो । पत्रिका पनि कम आउने भएकाले हारालुछ हुन्थ्यो । त्यसैले कतिबेला पत्रिकामा नतिजा हेर्न पाइएला भन्ने मात्र सोचिरहेको थिएँ ।

प्रदीप भट्टराई, निर्देशक  

एसएलसीको नतिजा आउने दिन मेरो दिमागमा धेरै सपनाहरू  थिए । एसएलसी त पास हुन्छु तर त्यसपछि डाक्टर बनुँ कि पाइलट बनुँ भन्ने मै केन्द्रित थिएँ । 

सुरेन्द्र केसी, हाँस्यकलाकार  

नतिजा आउने दिन निकै डर लागेको थियो । कतिबेला नतिजा सार्वजनिक होला र ढुक्क होला जस्तो भएको थियो । 

पूजन थापा, मोडल

नतिजा आउने दिन मनमा डर थियो । परीक्षा सोचेजस्तो भएको थिएन जसले गर्दा फेल हुन्छु कि भन्ने लागेको थियो तर म प्रथम श्रेणीमै उत्तीर्ण भएँ । त्यो दिन खुसी कै कारण मैले खाजा खाइनँ । 

विदुर फुयाँल, मेमोरी गुरु

परीक्षा त राम्रै भएको थियो तर नतिजा कस्तो आउला भन्ने सोचेर बसेको थिएँ । 

गौरव पहारी, अभिनेता 

एसएलसीलाई आइरन गेट भनिथ्यो त्यो गेट पार गर्छु कि गर्दिनँ भनेर सोचिरहेको थिएँ । 

दुर्गेश थापा, मोडल 

के हुने हो के साथीहरू पास भएर म मात्रै अनुत्तीर्ण हुने हुँ कि भन्ने चिन्ता लागेको थियो । 

शिवहरि पौडेल, हाँस्यकलाकार 

एसएलसी उत्तीर्ण हुन्छु भन्ने कुरामा ढुक्क थिएँ तैपनि नतिजा सार्वजनिक नहुञ्जेल कता–कता डर र तनाव थियो । 

पूर्णकला बिसी, गायिका  

परीक्षा ठिकठिकै भएको थियो । तैपनि उत्तीर्ण र अनुत्तीर्णको दोधारमा थिएँ । 

धीरज राई, गायक 

 

प्रकाशित :असार १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्