वल्र्डकप फिभर

- मनोज गजुरेल

असार १८, २०७५

आज अर्जेन्टिनाले जितेन भने कान काटेर पातमा राखिदिन्छु ।’ ‘रसियाले हारेछ भने पात काटेर कानमा राखिदिन्छु ।’ ‘सर्बिया देश त झुरै रहेछ नि ।’ ‘कोरियाले खोरिया फांड्न गए हुन्छ ।’ ‘कालो भएकाले घानाले खेल्न सकेन ।’ ‘भन्नु मात्रै पानामा रहेछ, खेल त चिडी, भोटे, गुलाम 

केही रहेनछ ।’

 ‘मेस्सी जिन्दाबाद ।’ ‘अर्को मुर्दाबाद ।’ ‘खबरदार फलाना खेलाडीका बारेमा केही भन्लान् ।’ ‘ढिस्कानो टिम त देउता हो देउता ।’ ‘यसले जित्यो भने भातै खान्नँ ।’ ‘त्यसले हाऱ्यो भने रक्सी खान्छु ।’

रसियामा चलिरहेको विश्वकपका विषयमा नेपाली सोसियल मिडियामा आएका भन्न मिल्ने विचारहरू हुन्— माथिका वाक्यहरू । भन्न मिल्ने र नभन्दा पनि हुने अरू कुरा यहाँ उल्लेख गरिनँ । आउनुहोस्, आज यही विषयमा कुरा गरौं ।

संसारलाई केवल विश्वकप लागेको छ तर हामीचाहिं ब्रह्माण्डकप मानिरहेका छौं । यस्तो लाग्छ, संसारमा फुटबलबाहेक अरू कुनै गतिविधि भैरहेको छैन । संसार मात्र होइन, सिंगै ब्रह्माण्ड अहिले फुटबलमय भएको छ । सामाजिक सञ्जालका क्रिया–प्रतिक्रिया देख्दा यस्तै लाग्छ । 

सिंगो नेपाल ब्रह्माण्डकपमा अल्झिरहेका बेला अरू विषयमा बोल्नु भनेको ट्रेन्डिङबाट बाहिर पर्नु हो । समाजबाट बाहिष्कृत हुनु हो । सर्कलबाट आउट हुनु हो । सोसाईटीलाई डाउट हुनु हो । त्यसैले आजको बसाइमा विश्वकपकै मंगल बोल्नेछु ।

संसार चल्न एउटा गति चाहिन्छ । व्यक्तिमा गति, समाजमा गति, देशमा गति, विश्वमा गति । गति भन्नाले गतिविधि बुझ्नुहोस् । जसरी गतिबिनाको शरीरलाई मृत मानिन्छ त्यसैगरी गतिविधिबिनाको समाजलाई पनि प्राणहीन मानिन्छ । यस अर्थमा विश्वकप एउटा सुन्दर गतिविधि हो ।

यद्यपि सबैथोक यही मात्र हो, यसबाहेक अरू केही पनि छैन जस्तो गर्नुचाहिं दुर्गति हो । एउटा देशको जित–हारलाई जीवन–मरणको सवाल मान्ने, कुनै खेलाडीको सहभागितालाई नाम/बदनामको विषय बनाउनेजस्ता कुरा दुर्गति नै हुन् । एउटा विषयलाई मात्र विषय मान्ने, बाँकी विषयप्रति संशय गर्नेजस्ता कुराले मानिसलाई मानिस होइन, मूर्ति बनाइदिन्छ ।

हो, ठुल्ठूला देशका लागि खेल एउटा राजनीति हो । खेललाई आधार बनाएर ठूल्ठूला झेल पनि हुन्छन् । खेलभित्रको राजनैतिक झेल नबुझेका हामीचाहिँ बिनासित्ति कसैको पक्ष र विपक्षमा लागेर विवाद गर्छौं । राजनीति गर्नेहरूले टिमको फ्यान फलोइङ देखाएर अझ मज्जाले राजनीति गरिरहेका हुन्छन् । हामीलाई यो कुरा पत्तै हुँदैन ।

खेल एउटा व्यापार पनि हो । लाइभमा देख्नुभएको होला नि, करोडौं डलरका विज्ञापन । ती त देखिने दाँत मात्र हुन् । खेल व्यापारका नदेखिने दाँत कति हुन्छन् कति ? झन् आँतभित्रका दाह्राहरूको त कुरै नगरौं । सट्टेबाजी, जुवागेम, ग्याम्लिङजस्ता दाह्राले खेललाई भित्रभित्रै नराम्रोसँग घोचिरहेको हुन्छ । त्यसैले हामी दर्शक दर्शकमात्र हुन सक्छौं । आफूलाई फुटबल टिमको म्यानेजर नै मान्नु हुँदैन ।

माथिका कुरा मनन गरेपछि अब आउनुहोस्, खेलभित्रका अनमोल कुराहरूको चर्चा गरौं ।

स्वास्थ्यका लागि खेल । मित्रताका लागि खेल । प्रतिस्पर्धाका लागि खेल । अर्थोपार्जनका लागि खेल । सम्बन्ध स्थापनार्थ खेल । भ्रातृत्व पुनस्र्थापनार्थ खेल । मनोरञ्जनका लागि खेल । आत्मारञ्जनका लागि खेल । खेललाई यति मात्र सीमित राख्न सके खेलमा चलखेल हुन सक्दैनथ्यो ।

अँ, खेलभित्रको एउटा अनमोल कुरा त झन्डै छुटेछ । खेलले देशलाई चिनाउँछ । खेलाडीले जनतालाई चिनाउँछ । राम्रो खेल्ने टिमले आफूलाई उन्नत बनाउँछ, देशलाई समुन्नत गराउँछ, तर त्यसका लागि एउटा सर्त हुन्छ, खेलाउनेको मनमा देश हुनुपर्छ, खेल्नेको मनमा देशप्रेमको दियो बल्नुपर्छ । 

प्रकाशित :असार १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्