भारत अध्ययन : रोजाइमा प्यारामेडिकल तथा इन्जिनियरिङ

- साप्ताहिक संवाददाता

असार १७, २०७५

सांस्कृतिक सामीप्यता, भाषा बुझाइमा सजिलो, सहज प्रक्रिया एवं मध्यमवर्गीय नेपालीहरूले समेत खर्च गर्न सक्ने कारणले भारत पढ्न जाने नेपाली विद्यार्थीहरूको संख्या उच्च छ । अध्ययनका लागि कति विद्यार्थी भारत जान्छन् भन्ने आधिकारिक तथ्यांक नभए पनि प्रत्येक वर्ष १० हजारभन्दा बढी विद्यार्थी अध्ययनका लागि भारत पुग्ने अनुमान रहेको नेपाल इन्डिया काउन्सिल फर एजुकेसनका उपाध्यक्ष रमेश जोशी बताउँछन् । भारतमा विशेष गरी प्यारामेडिक तथा इन्जिनियरिङ पढ्न जाने विद्यार्थीको ताँती लाग्छ । केही वर्ष अघिसम्म व्यवस्थापनका विद्यार्थीको पनि रोजाइमा थियो भारत, तर नेपालमै चारवर्षे कक्षा सञ्चालन हुन थालेसँगै त्यो संख्या भने घट्दै गएको छ । 

प्यारामेडिकतर्फ रेडियोलोजी, बीएस्सी नर्सिङ, प्याथोलोजी, फिजियोथेरापी, अप्टोमेट्रिक्स, बीएमएलटी तथा रेडियोलोजीका लागि नेपाली विद्यार्थीको रोजाइमा भारतका कलेजहरू नै पर्छन् भने इन्जिनियरिङतर्फ कम्प्युटर इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ एवं इन्फरमेसन टेक्नोलोजी रोजाइका विषय हुन् । 

आधिकारिक कन्सल्टेन्सीबाटै

दुई वर्ष अघिसम्म भारतका विभिन्न राज्यबाट कलेजका प्रतिनिधिहरू नेपालका विभिन्न सहरहरू पुगी सीधै विद्यार्थी भर्ना लिन्थे । त्यसो हुँदा कतिपय छात्र–छात्रा विश्वविद्यालयसँग सम्बन्धन नै नलिएका कलेज तथा पर्याप्त सिट नै नभएका मेडिकल कलेजमा भर्ना भएर अन्तिममा परीक्षामा सामेल नै हुन नपाई लाखौं रुपैयाँ डुबाउन बाध्य हुन्थे ।

यद्यपि अहिले सरकारले भारतीय क्याम्पसहरूलाई सिधै विद्यार्थीकहाँ पुग्न रोक लगाएको छ । भारतमा पढ्न जाने विद्यार्थीले सरकारी निकायमा दर्ता भएका कन्सलटेन्सीमार्फत मात्र जान प्रोत्साहित गरिएको छ । त्यही भएर भारतीय कलेजहरूमा अध्ययन गर्न जानेहरूलाई दिइने नो अब्जेक्सन लेटर दिँदा नै सरकारमा दर्ता भएको कन्सलटेन्सीमार्फत गएको हो कि होइन भनेर कडाइ गर्न थालिएपछि त्यो समस्या हल हुँदै गएको जोशी बताउँछन् ।

त्यसो त व्यवसायीहरूले विद्यार्थीलाई भारतमा गएर पढ्दा केही झन्झट नहोस् भनेर नेपाल इन्डिया काउन्सिल फर एजुकेसन नामको छाता संस्थासमेत स्थापना गरेका छन् । उक्त संस्थामा अध्ययनका लागि भारत पठाउने २४ वटा कन्सल्टेन्सी आबद्ध छन् । 

काउन्सिलमा आबद्ध संस्थाको माध्यमबाट गएका विद्यार्थीले यहाँ तोकिएको भन्दा अतिरिक्त शुल्क तिर्नु नपर्ने उपाध्यक्ष जोशीको दाबी छ । ‘यहाँबाट पठाइएका विद्यार्थीलाई केही समस्या भयो भने काउन्सिलले सहयोग गर्छ ।’ जोशी भन्छन्– यहाँ जति शुल्क भनिएको हुन्छ त्योभन्दा एक रुपैयाँ बढी तिर्नु पर्दैन, बढी तिर्नुपरे विद्यार्थीले हामीलाई जानकारी गराए हामी सीधै सम्बन्धित निकायमा कम्प्लेन गर्छौं । 

कसरी गर्ने आवेदन

भारतमा अध्ययन गर्न चाहने विद्यार्थीले पहिले आफू कुन विषय अध्ययन गर्ने हो निक्र्यौल गर्नुपर्छ । उक्त कुरा निक्र्यौल गरिसकेपछि आफूले पढ्न चाहेको विषय अध्ययन गराउने कलेजको खोजी गर्नुपर्छ । त्यसरी कलेज खोज्दा मान्यताप्राप्त विश्वविद्यालयमा दर्ता छ/छैन बुझ्नु आवश्यक हुन्छ । यदि आफूले चाहेको विषय मिल्ने कलेज पाए मान्यताप्राप्त कन्सलटेन्सीमार्फत सम्बन्धित विश्वविद्यालयमा निवेदन दिनुपर्छ ।

विश्वविद्यालयले विद्यार्थीको सबै कागजात हेरेर स्वीकृति दिएपश्चात् कन्सलटेन्सीमार्फत नै भर्ना प्रक्रिया अघि बढाउन प्रोभिजनल एडमिसन लेटर प्रदान गरिन्छ । उक्त पत्र पाएपछि शिक्षा मन्त्रालयबाट भारत गई अध्ययन गर्नका लागि नो अब्जेक्सन लेटर लिनुपर्छ । प्यारामेडिकल विषय अध्ययनका लागि जाने विद्यार्थीको हकमा भने स्वास्थ्य अनुसन्धान परिषद्बाट पनि नो अब्जेक्सन लेटर लिनु आवश्यक हुन्छ तर इन्जिनियरिङ पढ्न चाहनेहरूका लागि परिषद्को नो अब्जेक्सन लेटर आवश्यक छैन ।

आवश्यक कागजात

एसएलसीको मार्कसिट तथा क्यारेक्टर सर्टिफिकेट

प्लस टुको माइग्रेसन, क्यारेक्टर तथा मार्कसिट 

शिक्षा मन्त्रालयको नो अब्जेक्सन सर्टिफिकेट

पारामेडिकलका लागि राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को 

नो अब्जेक्सन लेटर

कुन विषय पढ्न कति खर्च ?

इन्जिनियरिङ : कम्तीमा ६ देखि २० लाख भारतीय रुपैयाँ (कलेजअनुसार फरक छ)

प्यारामेडिकल :

बीएस्सी निर्सिङ : ४ देखि ६ लाख भारतीय रुपैयाँ (होस्टलसहित)

रेडियोलोजी : ३ वर्षे कोर्स ५ लाख भारतीय रुपैयाँ 

फार्मेसी : ५ देखि ८ लाख भारतीय रुपैयाँ

फिजियोथेरापी : ५ देखि ८ लाख भारतीय रुपैयाँ 

फाम डी : लागि १४ देखि २२ लाख भारतीय रुपैयाँ (५ वर्षे)

प्रकाशित :असार १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्