पुरस्कारका लागि लेख्दिनँ

  •  फूलमान वल, कवि/पत्रकार

- नरेन्द्र रौले

असार १७, २०७५

 

नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव–२०७५ मा २ सय २९ वटा कविता सामेल थिए । ती मध्येबाट छानिएर आएका अन्तिम ३६ कवितामध्ये कवि तथा पत्रकार फूलमान बलको ‘इन्द्रेणी गीत’ ले पहिलो स्थान प्राप्त गर्‍यो । धादिङकी सुनिता खनालको ‘श्यामश्वेत फोटो’ ले दोस्रो तथा मोरङकी मेनुका चापागार्इं ‘मेनू’, तेर्‍हथुमकी एलिना दुलाल एवं रामेछापका जीवन खत्रीले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरे । प्रतिष्ठानले हरेक वर्ष असार ९ गते देशव्यापी राष्ट्रिय कविता महोत्सवको आयोजना गर्दै आएको छ । महोत्सवमा पहिलो स्थान प्राप्त गर्ने फूलमानका महाभारतकी मैच्याङ (कविता–संग्रह), काजोल खातुन (कथा–संग्रह) प्रकाशित छन् । उनले लेखेका नाटक म्हेन्दोमाया तथा सोनाम ग्याल्मो मञ्चन भैसकेका छन् । 

 

राष्ट्रिय कविता महोत्सव–२०७५ मा २ सय २९ कविता सामेल थिए । त्यसबाट पहिलो स्थान प्राप्त गर्दाको खुसी कसरी व्यक्त गर्नुहुन्छ ?

लेख्नेले कहिल्यै पुरस्कारका लागि लेखेको हुँदैन । राष्ट्रिय कविता महोत्सवको महत्व भने भिन्नै छ । मैले पहिलो पटक यो प्रतियोगितामा भाग लिएको हुँ । यति ठूलो महत्व बोकेको महोत्सवमा पुरस्कृत हुनु गौरवको कुरा हो । 

पुरस्कृत कविता ‘इन्द्रेणीको रंग’ कसरी लेखियो ? यसको पृष्ठभूमि सुनौं न । 

यो कविता एक वर्षअघि नै लेखिएको हो । गएको महिना यसलाई पुनर्लेखन गरिएको हो । हिजोका दिनमा सबैले पहिचानका मुद्दा उठाए । जनजाती, तेस्रोलिंगी, सीमान्तकृत आदि समुदायले आ–आफ्ना लागि आवाज उठाए । त्यो कसैका विरुद्धमा थिएन । म त्यो इन्द्रेणीको रंग हुन चाहन्छु । समाज मिलेर बस्नुपर्छ । अब कसैले जातको नाममा राजनीति नगरोस् । हामी समृद्धितर्फ जाउँm भन्ने सन्देश दिन खोजिएको हो । 

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने कविता महोत्सव निष्पक्ष हुँदैन । चिने–जानेकालाई पुरस्कृत गरिन्छ भन्ने सुनिन्छ । कत्तिको साँचो हो ? 

मैले सुरुमै भनें, लेख्नेले पुरस्कारका लागी लेख्दैन । यद्यपि प्रतियोगितामा भाग लिईसकेपछि त्यसको स्तर त निर्धारण भै नै हाल्छ । प्रतियोगिता आफैंमा निष्पक्ष किन पनि हुन सक्दैन भने समग्रमा त्यसको मूल्यांकन गर्न कठिन हुन्छ । 

कविता धेरै लेखिने तर कम बिक्ने विधामा पर्छ । किन यस्तो भएको होला ?

कविता कम बिक्छ भन्ने कुरामा म सहमत छैन । सिर्जनाको मूल्य बजारले निर्धारण गर्दैन । पुस्तक कति बिक्यो भन्ने कुराले साहित्य कति सफल भयो भन्ने कुरा पनि निर्धारण गर्दैन । हरेक विधाका आ–आफ्ना सीमा हुन्छन् । कथा, निबन्ध, उपन्यास पढिने विधा हुन्, तर कविता आम मानिसमाझ जाने बिभिन्न माध्यम छन् । कविता वाचन हुन्छ । कविता कन्सर्ट हुन्छन् । रेडियो, टिभीमार्फत सर्वसाधारणसम्म पुग्छ । यो पढ्ने मात्र होइन गाउने तथा पाठ गर्ने विधा पनि हो । 

तपाईंको नामका अघि कवि, लेखक, पत्रकार, नाटककार, चलचित्रकर्मी आदि पहिचान जोडिन्छन् । खास के भनेर चिनाउन चाहनुहुन्छ ?

खासमा म स्रष्टा हुँ । नाटककार, कवि, लेखक जे भने पनि स्रष्टा नै हो । अभिव्यक्तिका माध्यम फरक हुन्छन् । आफूले भन्न खोजेको कुरा कहिले कविता, कथा, उपन्यास, नाटक, चलचित्रमार्फत व्यक्त गरिन्छ । मुख्य कुरा के भन्ने, कसरी भन्ने ? नै हो । 

यतिका क्षेत्रमा हात हाल्नुभएको छ । समय कसरी मिलाउनुहुन्छ ?

पढ्नु, लेख्नु मेरो नियमित काम नै हो । राति एक बजेअघि निद्रा लाग्दैन । कहिलेकाहीँ त दुई नै बज्छ । पढ्दै, लेख्दै बस्छु । त्यसबीच सिर्जना पनि गर्छु । पत्रकारिता मेरो नियमित जागिर हो । चलचित्रको काममा कार्यालयबाट बिदा लिएर लागेको हुँ । 

साहित्यमा नयाँ सम्भाबना के देख्नुहुन्छ ?

बजार र न्यू मिडियाले गर्दा राम्रो सम्भावना छ । अब लेखकहरूले प्रकाशक खोज्दै हिँड्नु पर्दैन । इपेपर तथा युट्युबमै राखे पनि हुन्छ । बजारको खाँचो छैन ।

अबको तयारी के छ ?

मेरा अघिल्ला दुईवटा पुस्तक महाभारतकी मैच्याङ तथा काजोल खातुन पुन:प्रकाशनको तयारीमा छु । नयाँ कविता–संग्रह एवं नाटक पनि छिट्टै प्रकाशन हुँदैछन् ।

प्रकाशित :असार १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्