Teej banner

समूह ए मा अब्बल उरुग्वे र रूस

- साप्ताहिक संवाददाता

असार १७, २०७५

विश्वकप–२०१८ सुरु हुनुअघिसम्म कतिसम्म भनियो भने रूसले आयोजकका रूपमा मात्र विश्व फुटबलको यो सर्वोच्च प्रतियोगिता खेल्न पाएको हो, अन्यथा यो टिमको कुनै सम्भावना छैन । तर सबै खाले आलोचनालाई निस्तेज पार्दै रूस समूह ‘ए’ बाट नकआउट चरण पुग्न सफल भयो । 

उरुग्वे अपेक्षा अनुसार यो समूहको विजेता रह्यो । अधिकतम ९ अंक पाएको उरुग्वेले लिग चरणको अन्तिम तथा निर्णायक खेलमा रूसलाई ३–० ले पराजित गर्‍यो । उरुग्वेले यसअघि इजिप्ट र साउदी अरेबिया दुवैलाई समान १–० ले हराएको थियो । उरुग्वेले कुनै गोल नखाई विपक्षीमाथि ५ गोल गर्‍यो । 

रूसले सुरुवाती दुई खेलमा साउदी अरेबियालाई ५–० तथा इजिप्टलाई ३–१ ले हराएको थियो । यसपल्टको विश्वकपको उद्घाटन खेलमै रूस सान्दार सुरुवात लिन सफल भयो । रूस इजिप्टमाथि पनि हाबी भयो ।  प्रतियोगिता सुरु हुनुअघि इजिप्टमाथि धेरैको विश्वास थियो, अफ्रिकाको यो टिमले राम्रो गर्नेछ । यसको कारण टिमका स्टार खेलाडी मोहम्मद सलाह थिए । सलाहले चोटबाट मुक्त हुँदै अन्तिम दुई खेल खेले र आफ्नो उपयोगिता सावित गरे, तर उनको खेललाई सुहाउँदो प्रदर्शन उनको टिमले देखाउन सकेन । एउटा खेलाडीले मात्र टिमका लागि सबथोक गर्न नसक्ने तथ्य यसक्रममा फेरि प्रमाणित भयो । इजिप्टको प्रदर्शन अन्तत: निराशाजनक नै रह्यो । 

लिगको अन्तिम चरणमा इजिप्टसामु साउदी अरेबिया थियो । उक्त खेल दुवै टिमका लागि प्रतिष्ठाको लडाइँ थियो । सुरुवाती दुवै खेल गुमाएर यी दुवै टिम अन्तिम खेल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए । त्यसमा पनि इजिप्ट फिक्का सावित भयो । साउदी अरेबियाले इजिप्टलाई २–१ ले जित्यो । साउदी टिम पनि उत्तिकै आलोचनाको सिकार भएको थियो, तर अन्तिम खेल जितेर उसले पनि आफ्ना आलोचकहरूलाई उत्तर फर्कायो । साउदी अरेबियाले विश्वकपमासन् १९९४ यता पहिलो जित हात पारेको हो । यसबीच यो टिम १२ खेलमा जितविहीन थियो । घर फर्कंदा साउदी टिमले राहत महसुस गर्नेछ ।

प्रकाशित :असार १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्