Teej banner

विश्वकपको फिभर

- अधिकारी रवीन्द्र

असार १७, २०७५

हरेक व्यक्तिमा केही न केही कुराको रस पसेकै हुन्छ । फुटबलको रस त झन् धेरैमा अलि गढेरै पसेको हुन्छ । खेलाडीहरूलाई खेलप्रति विशेष दिलचस्पी त हुने नै भयो, त्यसका डाई–हर्ट फ्यानहरूलाई पनि प्रत्येक वर्ष बाह्रै मास कुन कपमा कुन टिमले कति गोल हान्यो भनेर दिनरात पिरलो हुन्छ । एकछिन कुरा गर्नासाथ त्यस्ता फ्यानहरू फुटबलतिरै कुरा मोड्छन् अनि फुटबलका बारेमा बात मार्न पाए घण्टाँै बितेको चाल पाउँदैनन् । खेल खेल्न वा हेर्न त छोडिदिनुस्, फुटबलको गफ गर्नमा पनि त्यत्तिकै आनन्द छ । 

अनि आउँछ घुमिफिरी हरेक चार वर्षमा— विश्वकप । यो भाइरल फिभरजस्तै सरुवा संक्रमण हो । अहिले विश्वकपको ज्वरोले सबैलाई गाँजेको छ । हामीजस्ता खासै फुटबल नहेर्नेहरूलाई पनि यतिबेला फुटबलको रापले झ्वाप्पै छोप्छ ।

नछोपोस् पनि किन, फुटबल दुनियाँबाट टाढा रहेर त यो एक महिना टिक्नै पो सकिँदैन । यस क्रममा कुनै न कुनै देशको जर्सी नभिरी हिँड्यो भने ‘ओल्ड फेसन्ड’ भइन्छ । चिया पसलमा बूढाखाडाहरू पनि फुटबलकै बहसमा चम्किरहेका देखिन्छन् । सबैले फेसबुकमा प्रोफाइल फ्रेम ‘आई सपोर्ट फलानो र तिलानो’ भनेर राखेका छन् । पर्ती जग्गा र खाली ठाउँ देख्नै हुन्न, भुराहरू लुगा हिल्लाम्मे हुने गरी कुदिरहेका हुन्छन् । चोकचोकमा रहेका फुटसलका ग्राउन्डमा राति ११ बजेसम्म हस्याङ–फस्याङ चलिरहन्छ । सेयर बजारको तुलनामा फुटबलको बाजीमा दाउ हान्ने बढी फेला पर्छन् ।

खेलपूर्व भविष्यवाणी गर्ने महापण्डितहरू पनि विभिन्न पेज र च्यानलमार्फत सलबलाइरहेका छन् । वातावरणलाई अझ रोमाञ्चक तुल्याउन किसिम–किसिमका जीव–जन्तुलाई अघि सार्ने बेला पनि यही हो । हरेक गेमको नतिजा पहिल्यै भन्ने उहिले अक्टोपस थियो, अहिले सेतो बिरालो छ रे ! आखिर हल्लैहल्लामा त चलेको छ संसार, किनभने सिजनअनुसारका कुरा बिक्ने हुन् अनि मज्जा पनि यसमै छ ।

बसमा यात्रा गरिरहेका बेला एकदिन सँगै बसेको एउटा विदेशीले कोट्याएर सोध्यो– ‘होइन, तिमीहरूको कुनै पर्व चल्दै छ हो ? सबै जना एकै खालका पहिरनमा हिँडिरहेका देखिन्छन् नि ?’ आफूलाई त बानी परिसक्यो जर्सीको दृश्य, यसो ध्यान दिएर हेरेको त बसमा रहेका प्राय: सबै कुनै न कुनै देशको जर्सीमा थिए । हामी नेपालीको भोक निद्रा हराम गरिसकेको छ वल्र्डकपले, बिचरो त्यो आइरिसले ब्राजिल र अर्जेन्टिनाको जर्सीधरि चिनेको रहेनछ । नेपालमा त्यस्ता धेरै भाग्यशाली बालबालिकाहरू छन् जो दुई वर्ष नपुग्दै ब्राजिलको पहेंलो जर्सी लगाउने भाग्य लिएर जन्मिएका हुन्छन् ।

भन्ने नै हो भने नेपालमा फुटबलका फ्यानहरू आवश्यकताभन्दा बढी नै छन् । यो सब समय, बेरोजगारी र स्वतन्त्रताले जन्माएको कुरा हो । देशलाई उत्कृष्ट खेल र खेलाडीहरू चाहिएको छ, फ्यान होइन । फ्यानहरू बढ्दा व्यापारीलाई फाइदा हुन्छ, देशलाई होइन । फुटबल किट, टिभी, प्रोजेक्टर, विज्ञापन आदि बेचेर, बाजी खेलाएर वा ग्राउन्ड भाडामा दिएर व्यापारीहरूले मनग्य आम्दानी गर्छन् । कतिपय फ्यान आफ्नो जीवनशैली मात्र नभै अर्काको जीवनमा समेत प्रतिकूल असर पर्ने गरी होहल्ला गर्ने, मदिरा सेवन गर्ने, तोडफोड तथा मारपिट जस्ता कार्यमा संलग्न हुन्छन् । यो पागलपन हो, यसलाई फ्रिडम भनिँदैन । 

हामीसँग फुर्सद कति छ भन्ने प्रमाण एउटा उदाहरणले दिन्छ । अर्जेन्टिनाले खेल जितोस् भनेर चार सदस्यीय एउटा परिवारले हिन्दू मन्त्रोच्चारण गर्दै ग्रहशान्ति गरेको भिडियो सामाजिक सञ्जालमा चर्चित भयो । देवेन्द्र ओलीले अपलोड गरेको उक्त भिडियोको भ्युज र सेयरको आँकलन नै छैन । केही घण्टामै अनेकन पेजले ट्रोल बनाएर उक्त भिडियो फेसबुकभरि छरपस्ट गरे । यदि सबै काममा व्यस्त हुन्थे भने यस्ता उत्पादनहीन क्रियाकलाप गर्ने र त्यसैलाई सेयर गरेर मलजल पुर्‍याउने काममा कोही लाग्दैनथे होला ।

एक मनले लाग्छ, हामी नेपालीहरू देश कङ्गाल भए पनि सुखी छौं । थोरै काम गरे पनि (अपवादलाई छोडेर) हामीलाई खान–लाउन पुगेकै छ, राज्यलाई चर्को ट्याक्स तिर्नुपर्ने होइन । उता विकसित देशका नागरिक अहोरात्र काममा घोटिइरहेका हुन्छन्, यता हामी भने केही घण्टाको काम सकेर विश्वका खेलाडीहरूको गुनगान अनि छि:छि: र दूरदूरको कोकोहोलो मच्चाउँछौं ।

आफ्नो देश फुटबल वरियतामा कता हो कता ? अत्तोपत्तो छैन, कहिल्यै नदेखेको देशको सपोर्ट गरेर जुहारी खेल्ने र हानाहानसमेत गर्न पछि नपर्ने प्रवृत्तिले आफैलाई घाटा पुयाउँछ । जीवनभर अर्काको फ्यान बनेर ताली पिटिरहनुभन्दा कम्तीमा क्षेत्रीय स्तरको खेलाडी बन्नु वा कसैलाई बनाउन भूमिका खेल्नुचाहिँ धेरै ठूलो कुरा हो ।

                                                      ravinems@iom.edu.np 

प्रकाशित :असार १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्