कुन ग्रेड आउनेले के पढ्ने ?
असार १६, २०७५
विगतका वर्षहरूमा राम्रो र गाह्रो भनिएका विषय अध्ययन गर्न सबै विषयमा प्रथम श्रेणी तथा विशिष्ट श्रेणी अनिवार्य मानिन्थ्यो तर ग्रेडिङ प्रणाली सुरु भएसँगै राष्ट्रिय परीक्षा बोर्डले निश्चित विषयमा निश्चित ग्रेड ल्याए मात्र चाहेको विषय लिएर कक्षा ११ मा भर्ना हुन पाउने नयाँ व्यवस्था समेत लागू गरेको छ । कतिपय शिक्षाविद्ले यसलाई विद्यार्थी वर्गीकरणको हद भनेर आलोचना गरिरहेका छन् । परीक्षाफलकै आधारमा यति ग्रेड ल्याएका विद्यार्थीले यो विषय पढ्न पाउने भन्ने कुराले विद्यार्थीको मनोभावलाई बुझन सक्दैन । शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्– एसएलसीमा प्रतिशतका आधारमा परीक्षाफल निकाल्दा विद्यार्थी वर्गीकरण भयो भनियो तर ग्रेडिङका आधारमा विषय छान्ने परिपाटीले अझ ठूलो वर्गीकरण भएको छ ।
एसईई ग्रेडिङमा गएसँगै बोर्डले कुनै पनि विद्यार्थीले २ जीपीएभन्दा बढी ल्याए मात्र विज्ञान अध्ययन गर्न पाउने व्यवस्था लागू गरेको छ । यो व्यवस्थाअनुसार न्यूनतम जीपीएस २ सहित एसईईको परीक्षामा विज्ञान र गणित विषयमा कम्तीमा सी प्लस, अंग्रेजीमा सी, सामाजिक शिक्षा तथा नेपालीमा कम्तीमा डी प्लस ग्रेड प्राप्त विद्यार्थीले मात्र कक्षा ११ मा विज्ञान समूहका भौतिक, रसायन, जीव, गणित वा कम्प्युटर विज्ञान पढ्न पाउँछन् ।
११ कक्षा अध्ययनका लागि एसईईमा कम्तीमा १ दशमलव ६ जीपीए ल्याउनैपर्छ । १ दशमलव ६ ल्याउँदैमा पनि चाहेको विषय अध्ययन गर्न पाइँदैन । त्यसका लागि तोकिएको विषयमा निश्चित ग्रेड ल्याउनुपर्छ । सामान्यत: विज्ञान, गणित तथा अंग्रेजीमा सी ग्रेड एवं सामाजिक शिक्षा तथा नेपालीमा डी प्लस गरी कम्तीमा १ दशमलव ६ जीपीए आए प्राविधिकतर्फ जीव विज्ञान, वनस्पति विज्ञान तथा इलेक्ट्रोनिक, सिभिल वा कम्प्युटर इन्जिनियरिङ पढ्न पाइन्छ । गणितमा सी, अंग्रेजी, नेपाली, सामाजिक शिक्षा र विज्ञानमा डी प्लससहित जीपीए १ दशमलव ६ भन्दा बढी ल्याएकाले मात्र गणित, लेखा, कम्प्युटर साइन्स, टिचिङ म्याथमेटिक्स, इलिमेन्ट अफ साइन्स, ज्योतिष, बिजनेस म्याथमेटिक्स, कोअपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, जियोग्राफी एवं साइकोलोजी अध्ययन गर्न पाइन्छ ।
शिक्षातर्फका विषय अध्ययन गर्न विद्यार्थीले एसईई परीक्षामा विज्ञान र गणितमा कम्तीमा सी तथा अंग्रेजी, नेपाली एवं सामाजिक शिक्षामा डी प्लस प्राप्त गर्नुपर्नेछ । ती विषयमा तोकिएको ग्रेडिङ प्राप्त गरे मात्र फिजिक्स, केमेस्ट्री, बायोलोजी तथा टिचिङ साइन्स अध्यापनका लागि योग्य मानिन्छ । त्यस्तै अंग्रेजीमा सी, नेपाली तथा सामाजिक शिक्षामा डी प्लस ल्याए अंग्रेजी, अल्टरनेटिभ अंग्रेजी, टिचिङ अंगेजी एवं भाषा विज्ञान अध्ययनका लागि योग्य मानिन्छ ।
राष्ट्रिय परीक्षा बोर्डले तोकेको मापदण्डअनुसार एसईई परीक्षामा अंग्रेजीमा सी तथा नेपाली, गणित र सामाजिक शिक्षामा डी प्लस ग्रेड प्राप्त भए मास कम्युनिकेसन, होटल म्यानेजमेन्ट तथा ट्राभल्स एन्ड टुरिज्म अध्ययन गर्ने ढोका खुल्छ । नेपाली विषयमा सी, अंग्रेजी तथा सामाजिक शिक्षामा डी प्लस प्राप्त भए नेपाली र टिचिङ नेपाली विषय अध्ययनका लागि बाटो खुल्छ । बोर्डका अनुसार सामाजिक शिक्षामा सी र नेपाली तथा अंग्रेजीमा डी प्लस ल्याउने विद्यार्थीले कक्षा ११ मा पोलिटिकल साइन्स, इतिहास, संस्कृति, गृह विज्ञान, समाजशास्त्र, दर्शनशास्त्र, लाइब्रेरी तथा इन्फरमेसन साइन्सजस्ता विषय अध्ययन गर्न पाउँछन् ।
जनसंख्या तथा शारीरिक शिक्षामा सी तथा नेपाली, अंग्रेजी एवं विज्ञानमा डी प्लस ल्याउने विद्यार्थीले इन्ट्रोडक्ट टु एजुकेसन, इन्स्ट्रक्सन पोडागोजी, स्वास्थ्य एवं शारीरिक शिक्षा, जनसंख्या र वातावरण शिक्षा अध्ययन गर्न पाउँछन् भने नेपाली, अंग्रेजी एवं सामाजिक शिक्षामा डी प्लस आए ह्युमन भ्यालु एजुकेसन, जनरल ल, संस्कृत, व्याकरण, साहित्य, न्याय, वेद, नीति शास्त्र, बौद्ध एजुकेसनजस्ता विषय अध्ययन गर्न पाइन्छ ।
विभिन्न भाषा अध्ययन गर्न रुचाउने विद्यार्थीहरूले भने अंग्रेजीमा डी प्लस ल्याउनैपर्छ । अंग्रेजीमा डी प्लस ल्याए मैथिली, हिन्दी, नेपाली, फ्रेन्च, जापानी, उर्दू, जर्मन, चिनियाँका साथै अन्य भाषा अध्ययन गर्न पाइन्छ । त्यसैगरी डान्स, म्युजिक, मूर्तिकला, एप्लाइड आटर््स, स्पोर्ट्सजस्ता विषय अध्ययन गर्न अंग्रेजीमा डी प्लस ल्याउनैपर्छ ।
व्यवस्थापकीय पक्ष पनि हेरौं
लोकबहादुर भण्डारी
महासचिव, हिसान
काठमाडौंलगायत मुलुकका मुख्य सहरहरूमा दस जोड दुई विद्यालयहरू पर्याप्त मात्रामा स्थापित भैसकेका छन् । यस्ता धेरै विद्यालयले आफ्नो व्यवस्थापन पक्षलाई राम्रो बनाइसकेका छन् भने विद्यार्थीहरूप्रति पनि उत्तिकै उत्तरदायी हुन थालेका छन् । त्यसको उदाहरणका रूपमा परीक्षाफलमा देखिने प्रतिस्पर्धालाई लिन सकिन्छ । एसईई उत्तीर्ण भएका भाइबहिनी तथा अभिभावकले अघिल्लो यात्रा तय गर्न विद्यालय छनौट गर्दा केही विषयवस्तुमा गहन रूपमा छलफल गर्नु उपयुक्त हुन्छ ।
विद्यालयको शैक्षिक वातावरण विद्यार्थी सुहाउँदो छ/छैन हेर्नुपर्छ ।
विद्यालयको इतिहास कति लामो र कति व्यवस्थित छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।
विद्यालयले अध्यापन गराउने विषयवस्तुका पछाडि ती विषयसँग सम्बन्धित विज्ञको उपलब्धता, आवश्यक शैक्षिक सामग्री सम्बन्धित विद्यालयमा भए/नभएको जानकारी लिनुपर्छ ।
विगतका परीक्षाफलमा पनि विद्यार्थी तथा अभिभावकहरू चनाखो हुनुपर्छ ।
अतिरिक्त क्रियाकलापमा विद्यालयको सहभागिता कस्तो छ, बुझ्नुपर्छ ।
विद्यालयमा विद्यार्थीहरूको संख्या कति छ भन्ने कुराले पनि महत्व राख्छ ।
विद्यार्थीको राम्रो अध्ययन–अध्यापनसँगसँगै विद्यालयको व्यवस्थापकीय पक्षका बारेमा पनि बुझ्नुपर्छ ।
विद्यालयका बारेमा इमेल इन्टरनेटबाट क्रियाकलापहरू हेर्नुका साथै त्यहाँ अध्ययन गरेका वा गरिरहेका विद्यार्थीहरूसँग जानकारी लिनु आवश्यक हुन्छ ।
प्रचारमा होइन, गुणस्तरमा ध्यान दिऊँ
कुमार प्याकुरेल
प्रिन्सिपल, जिलेट स्कुल, कालिमाटी
एसईईको नतिजा प्रकाशन भएसँगै अहिलेको व्यवस्थाले कक्षा १० उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनका क्रममा रहेका विद्यार्थीहरूमा अन्योल उत्पन्न गरेको छ । नेपाल सरकारले कक्षा ११ तथा १२ लाई सिद्धान्तत: विद्यालय शिक्षाको परिधिभित्र राखे पनि पर्याप्त तयारी नभएकाले यस्तो अन्योल देखिएको हो । लेटर ग्रेडिङ प्रणालीअन्तर्गत प्रकाशित नतिजा त्यति सन्तोषजनक नभएको र गुणस्तर खस्किएको यथार्थ हामी सबैले अनुभव गरेका छौं । विद्यार्थीहरूले कक्षा ११/१२ अध्ययन गर्दा कस्ता विषय तथा विद्यालय रोज्ने भन्ने कुरा केलाइनुपर्छ । प्रथमत: आफ्नो क्षमता र पहिचानलाई विद्यार्थी आफैंले मूल्यांकन गर्नुपर्छ । म कुन विषय अध्ययनका लागि सक्षम छु भन्ने निर्णय आफैंले लिनुपर्छ । साथीभाइ परिवार तथा छरछिमेकको दबाब तथा देखासिकीमा आफ्नो चाहना एवं क्षमता विपरीतका विषय अध्ययन गर्दा त्यो प्रत्युत्पादक हुनसक्छ । तसर्थ आफ्नो क्षमतालाई पहिलो प्राथमिकतामा राखी आफ्नो ज्ञानको दायरा र रुचिसँग सम्बन्धित विषय एवं विद्यालय छान्नुपर्छ ।
प्राप्त नतिजा मात्र नभै आफ्नो क्षमता पहिचान गरी विषय छनौट गर्ने ।
अध्ययनका लागि प्राविधिक तथा व्यवसायिक विषयलाई प्राथमिकतामा राख्ने ।
विद्यालय छनौट गर्दा आफूलाई सहज एवं सुविधाजनक हुने विद्यालयको छनौट गर्ने ।
समय एवं उमेरका कारणले विद्यार्थीहरूमा परेको र पर्न जाने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै अभिभावकत्व ग्रहण गर्न सक्ने विद्यालय छनौट गर्ने ।
विद्यार्थीको रुचिलाई बाँध्नु हुँदैन
विद्यानाथ कोइराला
शिक्षाविद्
अहिले एसईईमा ग्रेडिङ सिस्टमअन्तर्गत परीक्षाफल प्रकाशित भएपछि उत्तीर्ण–अनुत्तीर्णको प्रक्रिया हटेको छ, तर सरकारले लागू गरेको ग्रेडिङको व्यवस्थाले कतिपय विद्यार्थीले आफ्नो रुचि र क्षमताअनुसार सीप सिक्नबाट वञ्चित हुनुपर्ने अवस्था छ । परीक्षाफलकै आधारमा यति ग्रेड ल्याएका विद्यार्थीले यो विषय पढ्न पाउने भन्ने कुराले विद्यार्थीको मनोभावलाई बुझ्न सक्दैन । यसले बाँध्ने काम गरिरहेको छ । एसएलसीमा प्रतिशतका आधारमा परीक्षाफल निकाल्दा विद्यार्थी वर्गीकरण भयो भनेर ग्रेडिङ सिस्टममा गइयो तर अव फलानो ग्रेडिङ आएकाले मात्र यो विषय पढ्न पाउँछ भन्नु झन् ठूलो वर्गीकरण हो । अहिले यस्तो क्षमता भएका विद्यार्थीले यो विषय रोज्नु उपयुक्त हुन्छ भनेर सल्लाह दिनै नपर्ने खालको परिपाटी सरकारले बनाएको छ भने विद्यार्थीहरू पनि आफ्नो इच्छाभन्दा पनि सरकारले निर्धारण गरेको बाटोलाई समात्नैपर्ने निर्विकल्प अवस्थामा पुगेका छन् ।
अहिलेको यो व्यवस्थाले निकट भविष्यमा समस्या निम्त्याउन सक्छ, तसर्थ हामी बेलैमा सच्चिन जरुरी छ । त्यसका लागि नीति निर्माताहरूले तीनवटा बाटो रोज्न सक्छन् । पहिलो बाटो विद्यार्थीलाई उनीहरूको क्षमताअनुसार आफैं अघि बढ्न दिने । उदाहरणका लागि विद्यार्थी आफैंले टोफेल परीक्षा दिँदा अंग्रेजी विषयमा कति जानकार छ भनेर सुनाइ, बोलाइ र पढाइ जाँच गर्न पाउँछ त्यसरी नै उसले पढ्न चाहेको विषयमा आफैं मापन गर्न पाउने सिस्टम तयार गरिदिनुपर्छ ।
अर्को विकल्प भनेको विद्यार्थीलाई रुचिअनुसारको विषय अध्ययन गर्न दिनु हो । यदि रुचिअनुसारको विषय पढाउन सम्बन्धित स्थानमा सम्भव नभए विद्यार्थी आफंैले त्यसको तयारी गर्ने वातावरण विद्यालयले बनाउनुपर्छ । यदि विद्यार्थीलाई विज्ञानमा रुचि छ तर उसको ग्रेडिङले त्यो सम्भव छैन भने उसलाई थप ट्युसन, अनलाइन अध्ययन वा स्व–अध्ययनको सुविधा उपलब्ध गराइदिनुपर्छ । ग्रेडिङमा अंक कम आएकै आधारमा उसको रुचि मर्न दिनुहुँदैन ।
तेस्रो कम ग्रेडिङ ल्याउने विद्यार्थीलाई कलेजमा भर्ना हुन गाह्रो हुन्छ । त्यस्ता विद्यार्थीलाई सीप सिक्ने अवसर सिर्जना गरिदिनुपर्छ । त्यस्ता विद्यार्थीको विषयलाई कहीँ न कहीँबाट प्राज्ञिक रूपमा जोडिने वातावरण सरकारले बनाउनुपर्छ ।
प्रकाशित :असार १६, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्