शैलेन्द्रका सपना

- किशोर नेपाल

असार १६, २०७५

शैलेन्द्र साकार नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व हुन् जसको हात कवि, कथाकार र निबन्धकारका रूपमा समानान्तर चलेका छन्, समसामयिक कविता र कथामा उनी खुलस्त उभिएका छन् जनताको पक्षमा । शैलेन्द्र भन्छन्, ‘केही मानिसको सन्तुष्टिका लागि लेखिने रचनाहरूमा लेखकीय स्वत्व हुँदैन । त्यो स्वत्वहीन साहित्यसँग मेरो सरोकार छैन ।’

के अहिलेका कवि, कथाकारहरूले शैलेन्द्रको नाम सुनेका होलान् ? भन्न सकिँदैन । उनी कसैले चिनोस् भनेर लेख्दैनन् । गुणग्राही पाठक छैनन् भने लेख्नुको अर्थ हराउँछ । नयाँ पुस्ताले कविताप्रति मात्र होइन, सम्पूर्ण नेपाली साहित्यप्रति नै कुनै दृष्टिकोण बनाउन सकेको छैन । संसारको साहित्यमा हेर्ने हो भने पुस्तान्तरणका नाममा हाम्रो देश र भाषामा जस्तो अतीतलाई खरानी तुल्याइँदैन, तर नेपालमा कसैले पनि त्यस्तो व्यवहार देखाउन सकेका छैनन् । उनले भर्खरैको एक उदाहरण दिँदै भने— गोविन्द गिरी प्रेरणा यहाँ आएको समयको घटना हो यो । पुस्तक विमोचन र कविता श्रवणका दुवै कार्यक्रम सर्वनाम नाट्यशालामा राखिएको थियो । शैलेन्द्र साकार र सरुभक्त श्रेष्ठ दुवै पुगे निम्ता मान्न । त्यहाँ प्रतिभा पाठकले कविता सुनाइन् । मूल रूपले कार्यक्रमको आयोजना नै त्यसै गरी गरिएको थियो ।

कविता एकै मिनेटमा सकिएपछि शैलेन्द्र र सरुभक्तले एक–अर्कालाई सुनाए, कविताका लागि एक मिनेट पनि सोच्न पर्दैन कि के हो ? न भाव छ, न विम्ब छ । कविता त सपाट पो छ । रंगमञ्चबाट श्रोता बाहिर निस्कियो, कविता पनि बिर्सियो । कविताले आफ्नो स्वत्व हराएको भनेको त्यही हो ।

शैलेन्द्र यसोउसो गरेर पाँच वर्ष बसे अमेरिकामा । त्यहाँको समाजमा उनले आफूलाई एक्लो फिल गरे । यहाँ बिहान–बेलुका साथीभाइसँग भेटेर, चिया पिएर हिंड्ने बानी परेका हामी त्यहाँको जीवन पद्धतिमा भिज्नै सक्दैनौं । त्यहाँ बस्दा समय जुटाएर साथीभाइसँग भेट्नुपर्ने । एकपटक डेनभरमा त्यस्तो संयोग जुट्यो । शैलेन्द्र, मनु ब्राजाकी, हिरण्य भोजपुरे, ज्ञानेन्द्र गदाल र पदम विश्वकर्मा मिलेर जमघटको तयारी गरिएको थियो ।

शैलेन्द्रले अहिलेको राजनीतिक घटनाक्रमका सम्बन्धमा राम्रोसँग अध्ययन गर्न पाएका छैनन । २०४६ को राष्ट्रिय जन–आन्दोलनमार्फत देशमा बहुदलीय शासन पद्धति ल्याउने बुद्धिजीवीमा अग्रणी थिए— शैलेन्द्र । बहुदल आएपछि जनताका यावत् समस्या समाधान होला भन्ने आशा थियो उनलाई, तर उनले सोचेजस्तो भएन । ‘अब अहिलेसम्म हामी पर्ख र हेरकै मुद्रामा छौं । गणतन्त्र आएको राम्रो हो, तर यो कहिलेसम्म व्यवस्थित हुने हो ? केही अन्दाज गर्न सकिँदैन’, शैलेन्द्र भन्छन् ।

अहिलेको सरकारले दुईतिहाइ मत पाएको छ । यसलाई राम्रै मान्नुपर्छ, तर यो सरकार जनताको हितका लागि शासन चलाउन असफल भयो भने जनताको विश्वास भंग हुनेछ । नेपालमा राजनीतिक अस्थीरता नेपाली राजनीतिको एउटा अंग नै भैसकेको छ । कतिबेला के हुन्छ र के हुँदैन भन्न सकिँदैन । सरकारले हालै प्रस्तुत गरेको बजेट पनि सन्तोषजनक छैन । यो ‘कम्युनिष्ट शासन’ का लागि लामो समयदेखि धेरै मानिस लागेका थिए । अब अहिले जे–जति सपना देखाइएको छ जनतालाई त्यो पूरा गर्ने हो भने त्यसअनुसारको संकल्प चाहिन्छ । अब पनि दाउपेचको लडाइँ चल्ला भन्ने मलाई लाग्दैन ।

शैलेन्द्रको विचारमा पहिलेको एकेडमी गरिमामय थियो । अब अहिले त्यो अवस्था छैन कि त्यहाँ जाँदा श्रद्धाले शिर निहुरियोस् । त्यतातिर त जानै मन लाग्दैन । पहिले मोहन दाइ अर्थात् मोहन कोइराला त्यही एकेडेमीमा हुनुहुन्थ्यो । मैले एक दिन उहाँको कविताका सम्बन्धमा टिप्पणी गरेको थिए, ‘तपाईंका कविताहरू हाडे ओखरजस्ता भए ।’ जवाफमा उहाँले भन्नुभयो, ‘हाडे ओखर खानुको मजा नै अर्कै छ । एउटा पीन वा सिन्कोले अलि अलिक गरेर गुदी झिक्दै खाँदा कति मज्जा आउँछ ।’

एकेडेमीमा पार्टीको मानिस होइन, देशले सम्मान गर्ने व्यक्तित्वहरू समावेश हुनुपर्छ । अहिलेको जस्तो झोले प्रवृत्तिका मानिसलाई एकेडमीमा लाने हो भने यसको कुनै अर्थ रहँदैन । एकेडमीलाई आर्थिक रूपले सबल बनाउने योजना बनाउनुपर्छ । आर्थिक रूपले एकेडमीलाई सफल तुल्याउन सबै किसिमका एकेडेमीहरूलाई मिलाएर एउटै बनाउनु राम्रो हो ।

शैलेन्द्रका अहिले केही योजना छन् । उनी आफ्नो कविता–संग्रह प्रकाशित गर्न लागेका छन् । एउटा स्मरण–संग्रहको तयारी छ । आरडी युयुुत्सुको सम्पादनमा आउँदैछ त्यो । कथामा नारी हस्ताक्षरको दोस्रो भागको सम्भावना खोज्दैछन् उनी । शैलेन्द्रको क्रियाशील जीवन प्रेरणदायी छ सबैका लागि ।

प्रकाशित :असार १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्