रूसमा नदेखिने पाँच प्रमुख देश

- साप्ताहिक संवाददाता

असार १३, २०७५

विश्वकप फुटबलका प्रत्येक संस्करणमा कुनै न कुनै ठूला टिम छुट्ने गरेका छन् । यसले पनि देखाउँछ, विश्वकपमा छनौट हुनु पनि उत्तिकै चुनौतीपूर्ण छ, जत्तिको विश्वकप खेल्नु । विश्वकप–२०१८ मा भने केही ठूलै टिम छुटेका छन् र यसले केही हदसम्म पूरा प्रतियोगिताको मज्जा बिगारेको छ । यति महत्वपूर्ण टिम छुटेको यो नै पहिलो विश्वकप हुन सक्छ । यद्यपि यसले ती देशलाई भविष्यका लागि ठूलो शिक्षा समेत दिएको छ । 

इटाली

यसपटकको विश्वकपमा नदेखिने सबैभन्दा ठूलो फुटबल शक्ति हो— इटाली । यो खबरले धेरैलाई स्तब्ध पनि पारेको छ । यसअघि इटाली सन् १९५८ मा एक पटक मात्र विश्वकपमा छनौट हुन असफल भएको थियो । स्विडेनविरुद्धको युरोपेली प्ले–अफमा चुकेपछि इटालीको रूस जाने बाटो बन्द भएको हो । चार पटकको विश्वकप विजेता इटालीको फुटबल आपैंmमा ओरालो लागेको विश्लेषण गरिएको छ र यसै कारणले यो टिम छनौट हुन सकेन । पछिल्लो विश्वकपमा इटाली नकआउट चरणसम्म पनि पुग्न सकेको थिएन् । उमेर समूहको युरोपेली प्रतियोगिताहरूमा इटालीले राम्रो गरिरहेको हुँदा इटालीबाट भविष्यमा राम्रो प्रदर्शनको आशा गर्न सकिन्छ । 

नेदरल्यान्ड

अर्को फुटबल महाशक्ति हो— नेदरल्यान्ड । यो नै त्यही देश हो, जहाँ ‘टोटल फुटबल’ को सोचको जन्म भएको थियो, तर इटाली जस्तै डच फुटबल पनि ओरालो लागेको छ र यसका प्रमाण पनि उत्तिकै छन् । नेदरल्यान्ड्स यसपटकको विश्वकपमा मात्र होइन, दुई वर्षअघिको युरोकपमा पनि छनौट हुन असफल भएको थियो । अहिले पनि नेदरल्यान्ड्सँग विश्वस्तरीय खेलाडी नभएका होइनन्, तर एउटा टिमका रूपमा उसले राम्रो गर्न सकिरहेको छैन । केही ठूलै परिवर्तन नभएसम्म डच फुटबल माथि आउनेमा शंका छ । 

क्यामरुन

विश्वकप फुटबलबाट आफ्नो परिचय बनाएको देश हो— क्यामरुन । विश्वकपको इतिहासमा क्यामरुन सबैभन्दा सफल अफ्रिकी देश पनि हो । सन् १९९० मा क्यामरुन क्वाटरफाइनलसम्म पुगेको थियो र यो नै अफ्रिकी देशको सबैभन्दा ठूलो सफलता हो, तर यी कुरा अब इतिहास भैसकेका छन् । विश्वकपमा लगातार आकर्षक टिम रहँदै आएको क्यामरुनले अफ्रिकी छनौटमा फिक्का प्रदर्शन गर्‍यो र रूसको टिकट काट्नबाट वञ्चित भयो । संयोग कस्तो भने जुन वर्ष क्यामरुनले अफ्रिकी कप अफ नेसन्स जित्यो, त्यही वर्ष विश्वकप छनौटमा भने खराव प्रदर्शन गर्‍यो । 

चिली

संयोग कस्तो पनि छ भने यसपटकको विश्वकपमा जहाँ अफ्रिकी च्याम्पियन हुने छैन, त्यहाँ दक्षिण अमेरिकी विजेता टिम पनि हुने छैन । चिली त्यही दुर्भाग्यशाली टिम हो । चिली पछिल्ला दुई संस्करणको कोपा अमेरिका विजेता हो । दुवै अवसरमा चिलीले अर्जेन्टिनालाई हराएको थियो । यद्यपि यही टिम दक्षिण अमेरिकी विश्वकप छनौटको छैटौं स्थानमा रह्यो, जुन आफैंमा निराशाजनक थियो । एक समय यो छनौटमा अर्जेन्टिनाको सम्भावना कमजोर देखिएको थियो । अर्जेन्टिनाले राम्रो गर्न थालेयता त्यसको सबैभन्दा ठूलो मार चिलीलाई पर्‍यो । 

अमेरिका

अफ्रिका तथा दक्षिण अमेरिका मात्र होइन, यसपटकको विश्वकपमा कनकाकाफ गोल्डकप विजेता टिम अर्थात्— अमेरिका पनि हुनेछैन । अहिले अमेरिका र रूसबीच राम्रो सम्बन्ध चलिरहेको छैन । दुवै महाशक्तिबीच फेरि एकपटक शीतयुद्धको स्थिति छ । अमेरिकाले रूसमा खेल्न पाएको भए, त्यसको चर्चा नै अर्कै हुने थियो, तर त्यस्तो अवसर जुटेन । छनौटमा एक समय मजबुत सावित भएको अमेरिका अन्तिम दुई खेलमा मेक्सिको र कोस्टारिकासँग पराजित भयो र निकै निर्दयी तरिकाले विश्वकपबाट बाहिरियो । 

प्रकाशित :असार १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्