पेलेको नजरमा परेका श्याम थापा

- जनक तिमिल्सिना

असार १३, २०७५

फुटबलका राजा पेलेको जीवनका रोचक प्रसंगको चर्चा गर्दा कलकत्ताको इडेन गार्डेन पनि छुट्दैन । पेले राष्ट्रिय टिमबाट संन्यास लिएपछि अमेरिकाको कसमस क्लबबाट फुटबल खेल्थे । यही क्रममा सन् १९७७ मा कसमस क्लब मोहन बंगानसँग मैत्रीपूर्ण खेल खेल्न कलकत्ता आयो, जसमा पेले नआउने कुरै भएन । त्यहाँ पेलेलाई हेर्न हजारौं दर्शक ओइरिए । अझ रोचक त के भने उनलाई भेट्न र हेर्न मानिसहरू अघिल्लो रातदेखि नै इडेन गार्डेनमा धर्ना कसिरहेका थिए । ती हजारौं खेलप्रेमीको क्रेज आफ्नो ठाउँमा छ । त्यसैसँग जोडिएको अर्को प्रसंग छ— पेलेको क्लबविरुद्ध गोल गर्ने नेपाली मूलका खेलाडी श्याम थापाको ।

सन् १९५० मा गुल्मीको भारसेमा जन्मिएका थिए चर्चित भारतीय फुटबलर— श्याम थापा । उनका बुवा विषनसिंह थापा भारतीय सेनामा थिए । भारतीय सेनामा भर्ती भएका गोर्खाहरूको केन्द्र थियो— देहरादून, जहाँ भारतीय सेनामा रहेका नेपाली गोर्खाले आफ्ना श्रीमती तथा छोराछोरीहरूलाई राख्थे, उनीहरू त्यहींको गोर्खा मिलटरी स्कुलमा पढ्थे । 

श्यामका बुवाले पनि उनलाई सानैमा देहरादून लगे । बुवा विषनसिंहको सरुवा भैरहने भएकाले उनकी आमा हिरादेवी पनि उनीसँगै हुन्थिन् । त्यसैले श्याम थापाको शिक्षादीक्षा होस्टलबाटै भयो । ‘म थमान होस्टलमा बस्थे । त्यतिबेला भारतमा गोर्खा ब्रिगेडको छुट्टै फुटबल टिम थियो,’ उनी सम्झन्छन्, ‘भारतमा त्यसको ठूलो नाम थियो ।’ देहरादूनको होस्टलमा बस्दा त्यही गोर्खा बिग्रेडले खेलेको फुटबल हेर्दैहेर्दै थापामा पनि फुटबल खेल्ने भोक जाग्यो । त्यही भोकले उनलाई गोर्खा मिलटरी स्कुलको फुटबल टिमको कप्तान बनायो । 

उनकै कप्तानीमा मिलटरी स्कुलले नयाँदिल्लीमा स्कुले विद्यार्थीहरूको सुव्रतो मुखर्जी कप जसलाई लिटिल डुरेन्ट कप पनि भनिन्छ खेल्यो । ‘मेरो फुटबल करिअर त्यहीबाट सुरु भएको हो,’ थापाले आफ्नो फुटबल करिअरको सुरुवाती दिनका सम्बन्धमा भने, ‘मेरै कप्तानीमा गोर्खा मिलटरी स्कुलले लिटिल डुरेन्ट कप जित्यो ।’ लिटिल डुरेन्ट कप जितेपछि सर्वत्र गोर्खा मिलटरी स्कुलको प्रशंसा हुन थाल्यो । जितपछि उनको स्कुल हाइस्कुलबाट इन्टरमिडियट कलेजमा अपग्रेड भयो भने उनी स्वयंमलाई फुटबल खेल्न थप हौसला मिल्यो । 

सन् १९६५ मा देहरादूनमा एक्जीबीसन म्याच खेल्न आएको थियो—इस्ट बंगाल क्लब । त्यतिबेला देहरादूनको टिममा रामबहादुर, बीरबहादुर, चन्दन सिंहजस्ता नामी खेलाडीहरू थिए, जसले इस्ट बंगालबाट खेलेर नाम कमाइसकेका थिए । मिलिटरी स्कुलको कप्तान भएकाले थापाले पनि त्यो खेलमा मौका पाए । ‘एक्जीबीसन म्याचमा मलाई अन्तिम १५ मिनेट खेल्न दिइएको थियो,’ थापाले सम्झिए, ‘खेलपछि इस्ट बंगालको नजर ममाथि पर्‍यो ।’ इस्ट बंगालले थापासमक्ष कलकत्ता लगेर नि:शुल्क पढाउने र त्यहीबाट खेल्नुपर्ने प्रस्ताव राख्यो । उनले उक्त प्रस्ताव स्वीकार गरे । थापा १६ वर्षको उमेरमा सन् १९६६ मा विद्यार्थीका रूपमा कलकत्ता पुगे । 

कलकत्ता आएपछि इस्ट बंगाल र राजस्थानको एक खेलमा उनले अवसर पाए । ‘स्ट्राइकरको प्रदर्शन राम्रो नभएपछि मैले अवसर पाएको थिए,’ उनले भने, ‘त्यो बेला प्लेइङ लिस्टमा मेरो नाम परेको क्षण सम्भँmदा अहिले पनि रोमाञ्चित हुन्छु ।’ सानो फुच्चे ठिटो ३० हजार दर्शकको अगाडि फुटबल खेल्नुपर्ने, तर थापालाई रत्तिभर पनि डर लागेन । परिणाम उनले इस्ट बंगालबाट आफ्नो डेब्यु खेलमै राजस्थानविरुद्ध ह्याट्रिक गरे । त्यसपछि थापा स्थानीय अखबारहरूको हेडलाइन भैहाले । तैपनि कलिलो उमेर भएकाले इस्ट बंगालले उनलाई त्यसपछिका १५ खेलसम्म ठाउँ दिएन । उनी देहरादून फर्किए । देहरादूनकै मिलटरी स्कुलबाटै म्याट्रिक पास गरे । त्यतिबेला म्याट्रिक पास गरेपछि गोर्खा रेजिमेन्टको अफिसर हुने देहरादूनका गोर्खा परिवारका अधिकांश सन्तानको इच्छा हुन्थ्यो । थापा स्वयंका साथै उनका बुवाआमा तथा नातेदारहरूको इच्छा पनि त्यही थियो । उनी पनि म्याट्रिक पास गरेर गोर्खा रेजिमेन्टमा भर्ती भए । उनले आर्मीमा अढाई वर्ष बिताए, त्यहाँ पनि उनले फुटबल खेलेर नाम कमाए । ‘सन् १९६९ मा डुरन्ड कपमा मेरै गोलमा गोर्खा बिग्रेड विजयी भयो,’ थापा सम्झन्छन्, ‘हामीले फाइनलमा बोर्डर सेक्युरिटी फोर्स (बीएफएस)लाई पराजित गरेका थियौं ।’ थापा फुटबल खेल्न नै जन्मिएका थिए, त्यसैले सन् १९७० मा उनी गोर्खा रेजिमेन्टको जागिर छाडेर फुटबलमा भविष्य खोज्न निस्किए । गोर्खा रेजिमेन्टको जागिर छाडेको चाल पाउने बित्तिकै उनको फुटबल प्रतिभासँग परिचित इस्ट बंगालले थापालाई आफ्नो टिममा अनुबन्ध गरिहाल्यो । सन् १९७३ सम्म इस्ट बंगालबाट फुटबल खेलेपछि थापा मुफ्तलाल मिल्सबाट खेल्न मुम्बई गए । ‘त्यतिबेला नाम चलेका सबै गोर्खाली प्लेयर भूपेन्दसिंह रावत, अमरबहादुर आदि त्यहींबाट खेल्थे,’ थापाले भने । दुई वर्ष मुफ्तलालबाट खेलेपछि उनी अघाए । त्यसपछि पुन: सन् १९७५ मा उनी इस्ट बंगालमै फर्किए । 

सन् १९७७ देखि सन् १९८२ सम्म थापाले भारतको प्रसिद्ध क्लब मोहन बंगानबाट फुटबल खेले । उनले त्यसक्रममा मोहन बंगानको कप्तानी समेत गरे । थापाले भारतको राष्ट्रिय फुटबल टिमबाट दुई वटा एसियन गेम खेले । ‘सन् १९७० मा भारतले ब्रोन्च मेडल जित्यो, त्यसमा मैले भारतका तर्फबाट खेलेको थिए,’ थापाले भने, ‘राष्ट्रिय टिमबाट अर्को एसियन गेम्स सन् १९७४ मा इरानविरुद्ध खेले ।’ उनले भारतको राष्ट्रिय टिमबाट १९८४ मा सन्यास लिए ।

यो अवधिमा कहिल्यै नेपाललाई नबिर्सिएको बताउने थापाले पहिलोपटक सन् १९८४ मा पहिलोपटक ब्वाइज युनियनबाट नेपालको घरेलु प्रतियोगिता खेले । ‘धीरेन्द्र सरकारसँग मेरो राम्रो उठबस थियो, मैले ब्वाइज युनियन क्लबबाट समेत फुटबल खेलें,’ उनले सुनाए, ‘पहिले राजाका नाममा टुर्नामेन्ट हुन्थ्यो । जति पनि नेपाली भारतमा फुटबल खेल्थे, उनीहरूलाई मैले ब्वाइज युनियनबाट फुटबल खेलाए ।’ नेपालमा फुटबल खेल्न आउँदा थापाप्रति दर्शकहरूको क्रेज उत्तिकै देखिन्थ्यो । उनले १० वर्षजति ब्वाइज युनियनबाट फुटबल खेले ।

थापाले नेपालको राष्ट्रिय टिमको प्रशिक्षकका रूपमा चार वर्ष काम गरे । ‘गणेश थापाजीले नेपाली फुटबल टिम हेरिदिन भनेपछि मैले प्रशिक्षकका रूपमा चार वर्ष काम गरे,’ उनले भने, ‘मैले त्यहाँ रहँदा निकै मेहनत गरे । अहिले केटाहरू बस्ने होस्टल मेरै कारणले बनेको हो ।’ उनले काठमाडौंमा युथ डेभलपमेन्ट प्रोग्रामअन्तर्गत काठमाडौंमा एकेडेमी बनाउन सुझाए । ‘कोलकातातिर एकेडेमी थिए, मैले काठमाडौंमा बनाउन भनेपछि त्यो बनाइएको हो,’ उनले थपे । कोलकातामा बस्दै आएका थापा त्यसयता पनि निरन्तर फुटबल गतिविधीमै सक्रिय छन् । 

पेलेसँग खेल्दाको क्षण 

सन् १९७७ को कुरा हो । थापा त्यतिबेला मोहन बंगानबाट फुटबल खेलिरहेका थिए । फुटबलमा श्रीपेचबिनाका राजा भनेर चिनिने खेलाडी पेले त्यतिबेला राष्ट्रिय टिमबाट सन्यास लिएर अमेरिकन क्लब कसमसबाट फुटबल खेलिरहेका थिए । पेलेको क्लबबाट बेकेनवर्ग, स्टोफर कार्लोसजस्ता खेलाडीहरू खेल्थे । बेकेन वर्ग जापानबाटै फर्किए भारत आएनन् । त्यही बेला पेलेसहित कसमस क्लब भारत आयो र त्यसले मोहन बंगानसँग इडेन गार्डेनमा मैत्रीपूर्ण खेल खेल्यो । 

अहिले क्रिकेटका लागि प्रसिद्ध इडेन गार्डेनमा ८० हजारभन्दा बढी दर्शक जम्मा भएका थिए । मोहन बगानविरुद्ध पेलेको क्लब कसमसले एक गोलको अग्रता लिएको अवस्था थियो । ‘पेलेको क्लब २—१ ले अगाडि रहेका बेला मैले मोहन बगानबाट गोले गरेपछि खेल बराबरीमा टुंगियो,’ थापा सम्झन्छन् । खेल सकिएपछि पेलेलाई मिडियाले सोधे, ‘तपाईंलाई सबैभन्दा कुन भारतीय खेलाडी मन पर्‍यो ?’ 

पेलेले उत्तर दिए, ‘२२ नम्बरको जर्सी लगाउने खेलाडी ।’ २२ नम्बरको जर्सी लगाउने भारतीय फुटबलर अरु कोही नभएर श्याम थापा नै थिए । ‘पेले त फुटबलको राजा नै हुन् । तिनै पेले विरुद्ध फुटबल खेल्न पाउनु मेरो सबैभन्दा ठूलो सौभाग्य थियो,’ उनी भन्छन् ।

थापा आफूलाई यसैमा सबैभन्दा सौभाग्यशाली सम्झन्छन् । ‘त्यो मेरो स्वर्णिम समय थियो,’ थापा भन्छन् । त्यसको १ वर्षपछि विश्वका अर्का चर्चित फुटबलर म्याराडोना भारत आए, पेलेसँग खेलेका थापाले फेरि म्याराडोनासँग पनि एक्जीबिसन म्याच खेल्ने अवसर पाए । पेले र म्याराडोनाजस्ता फुटबल दुनियाँका बादशाहहरूसँग खेल्न पाउनुले आफूलाई धन्य बनाएको थापाको अनुभव छ । 

ठूलो जिम्मेवारी 

दुई वर्षदेखि थापाले कोलकातामा फुटबल एकेडेमी चलाइरहेका छन्, जसमा १४ देखि १६ वर्ष तथा १७ देखि २० सम्मका युवाहरूलाई प्रशिक्षण प्रदान गरिन्छ । थापा यसअघि भारतको चर्चित टाटा फुटबल एकेडेमीको टेक्निकल डाइरेक्टर थिए । उनले अल इन्डिया फुटबल फेडरेसनको युथ डेभलपमेन्ट प्रोग्रामको निर्देशक भएर समेत काम गरे । ‘अहिले पनि म अल इन्डिया फुटबल फेडरेसनको टेक्नीकल कमिटीको चेयरम्यान छु,’ उनले भने, ‘एउटा गोर्खाली र नेपालीका लागि यो निकै ठूलो र गौरवको कुरा हो ।’ 

१३ वर्षको हुँदा फुटबल खेल्न घरबाट निस्किएका थापाले सक्रिय खेलाडीबाट संन्यास लिए पनि अहिले पनि फुटबल मैदान छाडेका छैनन् । ‘सन् १९८४ मा मैले खेलाडीबाट सन्यास लिए र कोचिङ सुरु गरे,’ थापाले भने । आफ्नो समयका चर्चित खेलाडी थापाले त्यसयता विभिन्न पदमा रहेर काम गरिरहेका छन् । अझै पनि फुटबलप्रतिको माया र भोक मेटिएको छैन । ‘फुटबल नै मेरो जीवन हो, मलाई फुटबलले सबै चीज दिएको छ । फुटबललाई म कसरी छोडौं ? फुटबलमा अझै केही गरौ भनेर सोचिरहेको छु,’ थापाको फुटबल प्रेम पोखियो । 

भारतीय फुटबललाई कुनै समय गोर्खाहरूले नै धानेको उदाहरण दिँदै थापाले नेपालमा फुटबलको राम्रो सम्भावना भएको बताए । त्यसका लागि नेपाल फुटबल एसोसियसन (एन्फा) र त्यसको नेतृत्व योजनाबद्ध रूपमा लाग्नुपर्ने उनको मत छ । ‘मैले एन्फाका नयाँ अध्यक्ष कर्माछिरिङ शेर्पालाई पनि भनेको छु,’ थापाले भने, ‘पहिले मैले गणेश थापालाई प्लान बनाएर पनि दिएको थिए । नेपालले युथ डेभलपमेन्ट प्रोग्राममा फोकस गर्नुपर्छ ।’ उनले नेपाल फुटबलका लागि उर्वर भूमि भएको बताउँदै नेपालमा राम्रा फुटबल प्रतिभाहरू भएको पनि बताए । भारतको फुटबलमा नेपालीहरूको ठूलो योगदान छ, भाइचुङ भुटिया, रामबहादुर, बीरबहादुरलगायत धेरै नेपालीको उल्लेख्य योगदान छ,’ उनले थपे, ‘अहिलेका कप्तान सुनिलकी आमा पनि त नेपाल कै हुन् ।’ 

अहिलेको दैनिकी 

थापा कोलकातामा श्रीमतीसँग बस्छन् । उनका एक छोरा र एक छोरी छन् । छोरी अस्ट्रेलियाको सिड्नीमा बस्छिन् । छोरा पहिले भारतबाट जुनियर फुटबल खेल्थे, पछि उनी पनि अस्ट्रेलिया गए । अहिले दुवै सन्तान सिड्नीमै सेटल भैसकेका छन् । थापालाई पनि उनीहरूले उतै नबोलाएका होइनन्, तर उनलाई फुटबल छाडेर कतै जान मन लाग्दैन । 

थापा आफूलाई फिट राख्न हप्तामा दुई दिन टेनिस खेल्छन् । दैनिक एकेडेमीको ग्राउन्डमा केटाहरूसँग समय बिताउँछन् । एकेडेमीका कोचहरूलाई गाइड गर्छन् । भारतका विभिन्न ठाउँमा हुने कार्यक्रममा पनि उनलाई प्रमुख अतिथि तथा अतिथिका रूपमा बोलाइन्छ । ‘अहिले पनि विभिन्न कार्यक्रमहरूमा बोलाइन्छ, सम्मान दिइन्छ,’ थापा भन्छन् । 

कोलकातामा उनले सबै कुरा पाएका छन् । थापा भन्छन्, ‘कोलकाता मेरो घरजस्तै हो । बंगालीहरूले खुट्टामा ढोग्छन्, उल्कै माया गर्छन्, मलाई कुनै प्रकारको समस्या हुन दिँदैनन् । यस्तो माया त कहीँ पनि पाइँदैन ।’ यसले थापाको फुटबलप्रतिको लगाब थप बढाउँछ । अहिलेको विश्वकपमा थापाले बंगाली टेलिभिजन च्यानल स्टार आनन्दसँग कमेन्ट्रीका लागि सम्झौता गरिसकेका छन् । उनी पछिल्ला ४ वटा वल्र्डकपदेखि टेलिग्राफजस्तो प्रसिद्ध अंग्रेजी पत्रिकामा स्तम्भ लेखिरहेका छन् ।

विश्वकप नजर 

विश्वकपलाई थापाले नजिकबाट नियालिरहेका छन् । उनी पहिलेको फुटबलको तुलनामा अहिलेको फुटबल कला र शैलीमा परिवर्तन आएको मान्छन् । अहिलेको फुटबलमा इन्डिभिजुअल प्लेयरहरू बढी भए पनि टिम गेम खेलिन्छ’, थापा भन्छन्, ‘कोचहरूको रणनीति बदलिरहन्छ ।’ पहिले रेडियो कमेन्ट्री सुन्ने बेलाका थापा अहिले युट्युब वा भिडियोहरू हेरेर रणनीति बनाउन कोचहरूलाई थप सहयोग पुगेको कुरा बताउँछन् । थापाकाअनुसार पहिलेको फुटबलको पोजिसन अर्कै थियो, पाँच जना फरवार्ड हुन्थे । त्यतिबेला दुई जना डिफेन्समा रहन्थे, अहिले त्यसमा परिवर्तन आइसकेको छ, अहिले सोलिट डिफेन्स गर्ने भनेर चार जनालाई डिफेन्समा खेलाउन थालिएको छ । 

अहिलेका चर्चित खेलाडीहरूले रियल म्याड्रिड, बार्सिलोनाजस्ता क्लबहरूबाट खेल्ने बताउँदै थापाले त्यहाँ खेल्दा टिममा विश्वका उत्कृष्ट प्लेयरहरू हुने भएकाले उनीहरूको खेल अझ निखारिने कुरा बताए । ‘बल बनाएर दिन्छन्, स्टारहरूले मज्जाले गोल गर्छन्,’ थापाले थपे, ‘किनभने, ती क्लबमा दुनियाँका टप टप प्लेयरहरू खेल्छन् ।’ तर क्लबका स्टार खेलाडीहरू आफ्नो देशका तर्फबाट खेल्दा भने उम्दा खेल देखाउन सक्दैनन् । थापा त्यसको कारण विश्वका राम्रा र टप प्लेयरहरू उनीहरूसँग नहुनुलाई मान्छन् । मेसी र रोनाल्डोले विश्वकप खेल्न थालेको धेरै वर्ष भैसक्दा पनि वल्र्डकप जिताउन नसक्नुका पछाडि यसैलाई कारण मान्छन्, उनी । 

एक समयका चर्चित खेलाडी थापाको नजरमा अहिलेको विश्वकपको सबैभन्दा सन्तुलित टिम कुन होला ? उनी निसंकोच भन्छन्— जर्मनी । आखिर जर्मनीमा के छ त ? ‘फुटबलमा सबैभन्दा महत्वपूर्ण प्वाइन्ट मिडफिल्ड हो, जुन टिमको मिडफिल्ड स्ट्रोङ हुन्छ त्यो टिम बलियो हुन्छ र त्यसले राम्रो रिजल्ट दिन्छ,’ थापा कारण खोल्छन्, ‘जर्मनीको त्यही पक्ष बलियो छ । अरु टिममा नाम चलेका ठूलाठूला प्लेयर छन्, त्यसैले हाम्रो ध्यान अर्जेन्टिनाका मेसी, पोर्चुगलका रोनाल्डो, ब्राजिलका नेयरमार अनि जर्मनीका टोनी क्रुजमाथि पर्छ । अहिलेको सबैभन्दा बलियो र सन्तुलित टिम जर्मनी नै हो । उनीहरूको गोलकिपर, डिफेन्सदेखि स्टाइकिङसम्म राम्रो छ, सबैभन्दा राम्रो त उनीहरूको मिडफिल्ड छ । मिडफिल्ड भनेको कुनै पनि टिमको ब्याकबोन हो, जर्मनीको त्यही ब्याकबोन स्ट्रोङ छ ।’ डार्क हर्स टिम पोर्चुगल, अर्जेन्टिना र ब्राजिलमध्ये एक हुन सक्छन् । थापाका अनुसार इंग्ल्यान्डसँग भने अब त्यो चीज छैन । फ्रान्सलाई पनि थापाले राम्रो टिम मानेका छन् । 

थापाका अनुसार खेलाडीहरूमा सबैभन्दा चम्किने मेसी नै हुन्— मेसी इज अ कम्पिलिट फुटबल । त्यसो भए अरू स्टार फुटबलर ? ‘रोनाल्डो बेस्ट स्ट्राइकर हो । नेयमार पनि जेनयुन स्ट्राइकर हो । यद्यपि मेसी इज अ ब्युटिफूल गेम मेकर, गोल स्कोरर, डिब्लर वाहा क्या पास निकाल्छ, क्या फ्रिकिक हान्छ, हि इज द कम्पिलिट फुटबलर । सो आई लभ मेसी,’ थापाको मेसी प्रेम पोखियो, ‘उनको खेल हेर्दा मलाई निकै आनन्द आउँछ ।’

प्रकाशित :असार १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्