यसपटक नयाँ शक्तिको उदय हुने सम्भावना छ
- बद्री पंगेनी, गायक
असार १२, २०७५
कत्तिको विश्वकप लागेको छ ?
विश्वकपको उद्घाटनदेखि आजको दिनसम्म भएका कुनै पनि खेल छुटाएको छैन । यो हिसाबले मलाई जत्तिको विश्वकप अरू कसलाई लागेको होला र ?
यसपटक कुन टिमलाई समर्थन गर्दै हुनुहुन्छ ?
तपाईंलाई अचम्म लाग्न सक्छ, मैले यसपटक धेरैभन्दा धेरै नेपालीलाई रोजगारी दिने मुलुक साउदी अरबलाई समर्थन गरेको छु । त्यसपछि जापान, कोरिया, अष्ट्ेरलिया, बेल्जियम तथा इङ्ल्यान्डलाई समर्थन गरिरहेको छु ।
यी मुलुकले विश्वकप जित्ने सम्भावना कत्तिको छ त ?
पहिलो चरणका खेलहरू समेत पूरा भैसकेका छैनन्, त्यसैले अहिले नै यही टिमले जित्छ भनेर अनुमान गर्नु हतार हुन्छ ।
अहिलेसम्म खेलिएका खेलहरूको संक्षिप्त समीक्षा गर्नुपर्यो भने ?
अहिलेसम्मका खेलहरू हेर्दा के भन्न सकिन्छ भने यसपटक सोच्दै नसोचेको नयाँ शक्ति उदाउने सम्भावना छ । जर्मनी, अर्जेन्टिना, ब्राजिलजस्ता देश पहिलो खेलमा कि त पराजित भएका छन् कि त बराबरीमा रोकिएका छन् । त्यसको ठीकविपरीत मेक्सिको, सर्बिया, फ्रान्स, पोर्चुगल, स्पेन आदि देशले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
यस्तो किन भैरहेको छ जस्तो लाग्छ ?
मैले यसपटकको विश्वकपका खेल नियाल्नुअघि यी मुलुकहरू विश्वकपमा कसरी छनोट भएर आएका छन् भन्ने कुराको सूक्ष्म अध्ययन गरेको छु । त्यस आधारमा भन्ने हो भने यसपटक अर्जेन्टिनाको सम्भावना निकै कम देखिन्छ, किनभने यो मुलुक निकै संघर्षपश्चात् विश्वकपका लागि छनौट भएको हो ।
विश्वकपका खेलहरू कसरी हेरिरहनुभएको छ ?
काठमाडौं प्लाजाको चौथो तल्लामा मेरो आफ्नै नीरमाया दोहोरी साँझ छ, अधिकांश खेल त्यहीं हेर्छु । मध्यरातको खेल भने घरमै आएर हेर्छु । हालसम्म खेलिएका खेलमध्ये अर्जेन्टिना र आइसल्यान्डको खेलचाहिँ मैले मोबाइलमा समेत हेरेको छु । सप्तरीको फत्तेपुरमा सञ्चालित सांगीतिक कार्यक्रमकै क्रममा मैले मोबाइलमै उक्त खेल हेरेको थिएँ ।
फुटबलको क्रेजी हुनुहुन्छ, बाँकी खेल हेर्न सांगीतिक कार्यक्रममा बाधा पुग्ने सम्भावना कत्तिको छ ?
असार १४ र १५ गते काठमाडौंमै लोक गायन प्रतियोगितामा सहभागी हुनुछ, त्यसबाहेक अबको एक महिना मैले कुनै पनि कार्यक्रम लिएको छैन । विश्वकप दोस्रो चरणमा प्रवेश गरेपछि प्रतिस्पर्धा अझ रोमाञ्चक हुने भएकाले यसबीच कार्यक्रममा सहभागी हुने कुनै सम्भावना छैन ।
प्रकाशित :असार १२, २०७५
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्