मन्त्री हुँदा पनि अप्रेसन गर्नुहुन्थ्यो

  • (स्व. प्रा.डा. उपेन्द्र देवकोटाका सहकर्मी)

- प्रा.डा. दामोदर पोख्रेल

असार १२, २०७५

डा.उपेन्द्र देवकोटा र मेरो २०३८ सालमा वीर अस्पतालमा भेट भएको हो । त्यहाँ हामी दुवै मेडिकल अफिसरका रूपमा प्रवेश गरेका थियौं । हामी दुवै अब्बल विद्यार्थी हुँदै चिकित्सक भएको हुँदा हामीबीच काममा प्रतिस्पर्धा पनि चल्थ्यो । कसले राम्रो काम गर्ने भन्ने एक किसिमको होडवाजी नै थियो । त्यही होडबाझीले गर्दा हाम्रो ड्युटी पनि फरक–फरक समय तोकिएको थियो । एउटा सिफ्ट उहाँले हेर्नुहुन्थ्यो अर्को सिफ्ट मैले हेर्थें । अझ रमाइलो कुरा त के भने मेडिकल अफिसर हुँदाकै बखत हामी दुई जनालाई सिनियरहरूले सर्जरी गर्न दिनुहुन्थ्यो । 

हामी अब्बल भएकैले होला हामीले सबै किसिमका सर्जरी गरेका थियौं, एक किसिमले भ्याइनभ्याइ हुन्थ्यो । अहिले त मेडिकल अफिसरले सर्जरी गर्ने कुरा हुँदैन तर त्यतिबेला नगरी सुखै थिएन । एउटा सिफ्ट म धान्थे अर्को सिफ्ट डा. देवकोटाले धान्नुहुन्थ्यो । एक्सपोजर पनि प्रसस्तै थियो । कन्सल्टेन्टले विश्वास गरेर दिएपछि हाम्रो अनुभव पनि बढ्दै गयो । त्यो अनुभवले कति काम गर्‍यो भने विशेषज्ञ(एमडी) पढ्न अल इन्डिया इन्स्टि्रच्युट (एम्स)मा भर्ना भएको भोलिपल्टै मैले गलब्लाडरको अप्रेसन गरे । अरू विद्यार्थीहरू धेरै पछि सम्म पनि हर्नियाको अप्रेसन गर्नसम्म डराउँथे । 

वीरमा काम गरेको केही वर्षपछि हामी दुवैजनाले एडी पढ्न विदेश जाने अवसर प्राप्त गर्‍यौं । म भारतको एम्स पुगे भने उहाँ बेलायत जानुभयो । म एम्सको पढाइ सकेर पुन: अस्ट्रेलिया गए । उहाँ बेलायतमै हुनुहुन्थ्यो । उहाँले मभन्दा केही समयअघि बेलायतबाट आएर पुन: वीर अस्पतालमा सेवा गर्न थाल्नुभयो । म सन् १९९६ मा फर्किए । नेपाल आएर मैले काडियो सर्जनका रूपमा काम प्रारम्भ गरेँ र नेपालमा ओपन हर्ट सर्जरी सुरु गरँे । उहाँले न्युरो विभाग सम्हाल्नुभयो । हुन त वीर अस्पतालमा डा. डिएन गंगोलले न्युरो युनिट सुरु गर्नुभएको थियो । डा. देवकोटा आएपछि भने त्यहाँ आधुनिक शल्यक्रिया सुरु भयो । लन्डनमा आफूले पाएको एक्सपोजलाई उहाँले नेपालमा प्रयोग गरी अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्न थाल्नुभयो । डा. देवकोटाको सबैभन्दा राम्रो पक्ष भनेको समय व्यवस्थापन र बिरामीको हेरचाह नै हो । सधैं पंचुवल हुने र प्यासेन्ट केयरमा उहाँसँग प्रश्न गर्ने ठाउँ नै रहँदैनथ्यो ।  

समकालीन ब्याजका हामी दुवै पायोनियर हौं । त्यही पायोनियर भएकै कारण एक अर्कामा काम कसले धेरै गर्ने र कसले राम्रो गर्ने भन्ने प्रतिस्पर्धा चल्थ्यो । अस्पतालमा धेरै केस समकक्षीहरूलाई राखेर सिनियर समक्ष प्रिजेन्ट गर्नुपथ्यो । त्यसरी केस प्रिजेन्ट गर्दा घन्टौं लामो बहस समेत हुन्थ्यो । हामी पहिलैदेखि सँगै काम गरेका र दुवैको फाउन्डेसन दह्रो थियो । विषयमा दख्खल भएका कारण दुवैका तथ्यहरू दह्रो आउँथ्यो । मेडिकल अफिसर हुँदा सबै किसिमको अप्रेसन गरेको हुँदा हामी एक अर्काको विषयमा राम्रो दख्खल राखेर छलफल गथ्र्यांै । कुनै कुरा चित्त नबुझे सिधै भन्थ्यौ । 

त्यसरी छलफल हुँदा कहिलेकाहीँ यस्तो अवस्थासम्म पुग्थ्यो कि त्यही विषयलाई लिएर बोलचाल नै बन्द हुन्थ्यो । त्यतिबेला डा. डिएन गंगोल तथा डा. लोकविक्रम थापाले मध्यस्तता गरिदिनुहुन्थ्यो । त्यस्तो धेरैपटक भएको थियो । डा. थापा र डा. गंगोलले कतिपटक डिपाटमेन्टमै बोलाएर हामीलाई बोल्न लगाउनुहुन्थ्यो । कहिले एक दिन बोल्दैनथ्यौ भने कहिलेकाहीँ दुई तीन दिन पनि नबोली हिँड्थ्यौ । एकै ठाउँमा काम गर्ने र एक अर्काको काममा सहयोग आवश्यक पर्ने हुँदा नबोली पनि हुँदैनथ्यो तर हामी व्यक्तिगत रूपमा एक अर्काप्रति इगो राखेर कहिल्यै रिसाएनौं । 

हामी दुईले वीर अस्पतालमा करिब २० वर्षभन्दा बढी काम गर्यौं तर अचम्मको कुरा के छ भने हामी दुई जनाले एउटै केस चाहिँ कहिल्यै हेन्डिल गरेनौं । मेडिकल अफिसर हुँदा हामी फरक–फरक सिफ्टमा थियौं । मेरो ड्युटीपछि उहाँको पालो आउँथ्यो । उहाँको सकिएपछि मेरो पालो आउँथ्यो । विदेश पढेर आएर पनि हामीले पुन: वीर अस्पतालमै काम गर्‍यौं । मेरो विशेषज्ञता मुटु सर्जरीमा भयो भने उहाँको न्युरो सर्जरीमा । त्यसपछि त हामी आ–आफ्नो क्षेत्र हेथ्र्यौं । त्यति हँुदा पनि केस प्रिजेन्टमा छलफल र बहस भने भईनै रहन्थ्यो । वीरमा सँगै हुँदा हामीले न्याम्सको कन्सेप्ट अघि बढाएका हौं । त्यसमा तत्कालीन स्वास्थ्यमन्त्री शरदसिंह भण्डारीले राम्रो मेहनत गर्नुभयो । उहाँलाई म, डा. देवकोटा, डा. गंगोल तथा डा. थापा आदिले सहयोग गर्‍यौं । 

राजाको शासन काल सन् २००२ मा उहाँ मन्त्री स्वास्थ्यमन्त्री हुनुभयो । मन्त्री हुनु अघि उहाँले वीर अस्पतालबाट राजीनामा दिनुभयो । त्यतिबेला म वीर अस्पतालको निर्देशक थिए । मन्त्री हुँदा पनि उहाँ फुर्सदको समयमा बिरामी जाँच गर्न अस्पताल आउनु हुन्थ्यो । राति–राति आएर अप्रेसन गर्नुहुन्थ्यो । वीरमा म निर्देशक उहाँ मन्त्री हुँदा पनि संस्थाको विषयलाई लिएर हामीबीच छलफल भैरहन्थ्यो भने कतिपटक झगडा नै परेको थियो । त्यो चाहिँ एउटा साथीका रूपमा परेको झगडा हो । एक दिन झगडा परे भोलिपल्ट पुन: कुरा भैहाल्थ्यो त्यतिबेला चाहिँ कसैले पनि मध्यस्तता गर्नुपर्दैनथ्यो । सबैभन्दा खुसीको कुरा हामीले सँगै बसेर प्लान गरेको वीर अस्पताललाई प्रतिष्ठान बनाउने योजना उहाँ मन्त्री हुँदा नै सुरु भयो । 

मन्त्रीबाट हटेपछि उहाँले पुन: वीर अस्पतालमै आएर प्राक्टिस गर्ने चाहना राख्नुभयो । मन्त्री भैसकेको मानिसलाई काम गर्न अफ्ठ्यारो होला कि भन्ने पनि लागेको थियो तर त्यत्रो वर्ष सँगै काम गरेको साथी भएको हुँदा सहज भयो । हामीले उहाँलाई कन्ट्रयाकमा राख्यौं जहाँ उहाँले करिब ४ वर्ष काम गर्नुभयो । पुन: वीर अस्पतालमा आएर पनि उहाँको लगाव पहिलेकै जत्तिको थियो । दिन–रात खट्नसक्नु उहाँको खास क्षमता हो । उहाँ जतिको एक्सपोजर भएको चिकित्सक नेपालले विरलै पाउँछ । करिब ४ वर्ष कन्ट्रयाकमा काम गरेपछि २००६ मा उहाँले आफ्नै अस्पताल स्थापना गरेर वीर अस्पतालमा छोड्नुभयो । 

 

(स्व. प्राडा देवकोटा तथा प्रा.डा. पोख्रेलले वीर अस्पतालमा २० वर्षभन्दा बढी सँगै काम गरेका हुन् )

प्रकाशित :असार १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्