Teej banner

डेब्यु टिम पनामा र आइसल्यान्ड

- साप्ताहिक संवाददाता

असार १०, २०७५

यसपटक दुई देशले विश्वकपमा डेब्यु गर्दैछन् । पहिलो पटक फुटबलको सर्वोच्च प्रतियोगिता खेल्न लागेका यी दुई टिम आइसल्यान्ड र पनामामाथि सबैको नजर हुनेछ । उनीहरूले कसरी विश्वकपको यात्रा तय गरे, त्यो अरू धेरै देशका लागि प्रेरणा पनि हुन सक्छ । संयोगले दुवै देश क्षेत्रफल र जनसंख्याको दृष्टिकोणले साना छन् । 

पनामा

धेरैले यसपटकको विश्वकपमा छुटेको प्रमुख देशमा अमेरिकाको नाम लिन्छन् । अमेरिका छनौट हुन नसक्नुको कारण हो, उक्त क्षेत्रबाट पनामाको उदय । अहिले पनामाको फुटबल त्यहाँको स्वर्णिम पुस्ताबाट गुज्रिरहेको छ र कम्तीमा विश्वकपका लागि उनीहरू हकदार पनि देखिन्छन् । पनामाले कनकाकेफ विश्वकप छनौटको अन्तिम दिन मात्र रुसको टिकट काटेको हो । त्यो दिन पानामाले कोस्टारिकालाई २–१ ले हराएको थियो । 

छनौटका लागि त्यो मात्र पर्याप्त कारण थिएन । त्यही दिनको अर्को खेलमा अमेरिका ट्रिनिडाड एन्ड टोबागोबाट २–१ ले नै पराजित भयो । पनामाको अन्तिम दिनको जितपनि रेफ्रीको निर्णयका कारण विवादास्पद रह्यो, तर त्यसले पनामालाई छनौट हुनबाट रोक्न सकेन । रुसमा पनामाले समूह चरणमा बेल्जियम, इंग्ल्यान्ड तथा ट्युनिसियाविरुद्ध खेल्नेछ । उसका लागि यो समूह ‘जी’ कठिन हुनेछ र एक अंक बटुल्नु पनि ठूलो उपलब्धि मानिनेछ । 

पनामाको टिममा युरोपेली लिग खेलेको अनुभव प्राप्त चार जना खेलाडी छन् । तीमध्ये जेमी पेनेडो टिममा मुख्य र अनुभवी खेलाडी हुन् । यी ३६ वर्षीय गोलरक्षक कप्तान पनि हुन् । कोलम्बियाली प्रशिक्षक हर्नन गोमेज सन् २०१४ देखि यो टिमसँग आबद्ध छन् । यहाँ उल्लेख गर्नै पर्ने तथ्य के पनि हो भने पनामाको क्षेत्रफल ७५ हजार ४ सय १७ स्क्वायर किलामिटर छ भने जनसंख्या ४० लाखभन्दा केही बढी मात्र छ । 

आइसल्यान्ड

आइसल्यान्डको चर्चा गर्दा सबैभन्दा पहिले यसको क्षेत्रफल र जनसंख्यामा नजर लगाउनु पर्ने हुन्छ । यो देशको क्षेत्रफल १ लाख २ हजार ७ सय ७५ स्क्वायर किलोमिटर छ, तर जनसंख्या भने चार लाख भन्दा कम । यति कम जनसंख्या भएको देशबाट विश्वकप खेल्ने उत्कृष्ट २३ खेलाडीको टिम बनाउनु पनि ठूलो उपलब्धी हो । 

दुई वर्षअघि युरो–२०१६ मा छनौट हुँदै राम्रो प्रदर्शन गर्न सफल भएपछि आइसल्यान्डको फुटबल चर्चामा आउन थालेको थियो । युरोको प्रदर्शन संयोग मात्र थिएन् । युरोपेली छनौटको समूह ‘आई’ मा शीर्ष स्थानमा रहेर स्वत: छनौट भएको थियो आइसल्यान्ड । यो समूहमा उसले क्रोएसिया, युक्रेन तथा टर्की जस्ता टिमलाई पछाडि छाडेको थियो । 

आइसल्यान्डका प्रशिक्षक हेमिर हालगिमसन हुन् । २०१६ देखि टिममा छन् । टिमका स्टार खेलाडी भने गेल्फि सिगुर्डसन हुनेछन । उनी एभरटनबाट खेल्छन्, तर अहिले केही हदसम्म चोटबाट गुज्रिरहेका छन् । आइसल्यान्ड समूह ‘डी’ मा छ र यो समूहका अरु टिम हुन्, अर्जेन्टिना, क्रोएसिया तथा नाइजेरिया । तय छ, आइसल्यान्डका लागि यो समूह कठिन सावित हुनेछ । 

प्रकाशित :असार १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्