मोबाइलमा विश्वकप

- साप्ताहिक संवाददाता

असार १०, २०७५

विश्वकप प्रारम्भ भएपछि जताततै यसको चर्चा छ । उक्त गेमको प्रत्येक रोमाञ्चक क्षणलाई धेरैले छुटाउन चाहँदैनन्, तर सधैं यो अवसर उपलब्ध नहुन सक्छ । त्यसैले आफ्नो मोबाइलमै गेम हेर्न सकियो वा यसका बारेमा जानकारी लिन सकियो भने धेरै सहज हुन सक्छ । यसका लागि विभिन्न एप्स प्रयोग गर्न सकिन्छ । गुगलमा ‘फिफा वल्र्ड कप लाइभ’ टाइप गरेर सर्च गर्दा धेरै नतिजा आउँछन् । तीमध्ये कुनै एप प्रयोग गरी विश्वकप हेर्न सकिन्छ । यस्ता अनगिन्ती एप्स हाल गुगल प्ले स्टोर तथा एप स्टोरमा उपलब्ध छन् ।

कान्तिपुर टिभी एचडी

कान्तिपुर टिभीले विश्वकपलाई लक्षित गरी विशेष एप उपलब्ध गराएको छ । उच्च गुणस्तरीय दृश्य हेर्न सकिने यो एप प्रयोग गरी लाइभ फुटबल हेर्न पाउनुका साथै अन्य विभिन्न जानकारीसमेत लिन सकिन्छ । यो एप खोल्दा सुरुमै लाइभ नाउ इन्टरफेस आउँछ । 

वाउटाइम

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि वाउटाइम एप्स उपलब्ध गराएको छ । उक्त एप प्रयोग गरी विश्वकप फुटबल लाइभ हेर्न पाउनुका साथै खेलका बारेमा विभिन्न नोटिफिकेसनसमेत प्राप्त गर्न सकिन्छ । कम्पनीले यसका लागि विशेष डाटा प्याकेज पनि उपलब्ध गराएको छ । 

फुटबल वल्र्ड–२०१८

हाम्रो पात्रोले नयाँ एप फुटबल वल्र्ड–२०१८ सार्वजनिक गरेको छ । उक्त एपमा खेल तालिका, टाइमलाइन, खेलको ताजा अपडेट तथा रिमाइन्डर एवं फुटबल प्रेमीहरूका लागि रुचिकर जानकारी उपलब्ध हुन्छ । यो एपमा आफूलाई मन पर्ने टिमलाई ‘फेब’ गर्न मिल्ने सुविधासमेत छ । 

२०१८ फिफा वल्र्ड 

कप रसिया

फिफाको आधिकारिक एप ‘२०१८ फिफा वल्र्ड कप रसिया’ डाउनलोड गरे सबै टिमसँग जोडिएको रियल टाइम इन्फर्मेसनका साथै स्कोरसमेत हेर्न सकिन्छ । त्यसैगरी यसमा खेलसँग सम्बन्धित एक्सक्लुसिभ भिडियो तथा तस्बिरहरू उपलब्ध छन् । विश्वकपमा सम्मिलित ३२ वटै टिमसँग सम्बन्धित सबै जानकारी प्राप्त गर्न सकिने यो एपमा खेल सुरु भएपछि नोटिफिकेसन आउन थाल्छ । 

सोनी लाइभ

सोनी लाइभ भिडियो अन डिमान्ड प्लेटफर्म हो । यसमा पनि फिफा वल्र्डकपको लाइभ स्ट्रिमका साथै लेटेस्ट स्कोर, अपडेट, भिडियो हाइलाइट आदि हेर्न सकिन्छ । यो एप पनि नि:शुल्क उपलब्ध हुन्छ । 

ईएसपीएन

यस पटकको विश्वकपका लागि ईएसपीएनले डेडिकेटेड एप उपलब्ध गराएको छ । यसमार्फत विश्वकपको लाइभ स्कोर तथा समाचार अपडेट हेर्न सकिन्छ । यसबाहेक अन्य धेरै एप्स उपलब्ध छन्, जस्तै : फिफा, फोटमोब, याहु स्पोर्ट्स, एपिक स्पोर्ट्स, वानफुटबल सकर न्युज आदि । यीमध्ये कुनै एप पनि प्रयोग गरी फुटबल खेलको मज्जा लिन सकिन्छ ।

प्रकाशित :असार १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्