Teej banner

हाँसोको मुहान खोज्दै जाँदा

- मनोज गजुरेल

असार १०, २०७५

उफ्, कस्तो गर्मी ! यस्तो लाग्छ, यो देश सिंगै एउटा कराई हो अनि यहाँको जमिन आगोको भुंग्रो । एक घण्टामा ६ पटक सर्ट फुकाल्दै निचोरियो । सबै जोडेको भए एकबाल्टी पसिना हुन्थ्यो होला । यति पसिना घरकै करेसाबारीमा हाल्न पाएको भए, कस्तो रमाइलो हुन्थ्यो होला ! 

जे होस्, विदेशको पहिलो रात काम गर्नु परेन । अब मेरो तीन वर्ष कस्तो हुन्छ भन्ने कुराको संकेत पाइसकें, आज साथीहरूको दिनचर्या देखेर । कामबाट आठ बजे आयो । आधा घण्टा नुहाइ–धुवाइ गर्‍यो । आधा घण्टामा खानपिन सिध्यायो । एक घण्टा मोबाइलमा झुन्डियो । फेसबुकमा अल्झियो । घरतिर फोन गर्‍यो । साथी भाइलाई सम्झियो । १० बजे सुत्यो । किनभने बिहान ७ बजे उठेन भने जागिर पनि चेट्, काम पनि चेट् हुन सक्छ ।

निदाउन खोज्छु, निद्रा पर्दैन । उठ्छु, बस्न मन लाग्दैन । बानी परिसकेका साथीहरू घुर्न थालिसके । म भने पानीबाट बाहिर उछिट्टिएको माछाजस्तो छटपटिईरहेको छु । बल्ल–बल्ल बिहानीपख निद्रा पर्‍यो । निदाएको मात्र के थिए, सपनामा बाघको खोरमा रहेछु । आत्तिएर उठ्छु, चारतिरबाट चारैजना साथी बाघ घुराइ घुर्दै रहेछन् ।

साथीहरूलाई चुप लगाएर फेरि सुत्छु । फेरि प्लेन दुर्घटनाको सपना देखें । पसिना पसिना भएर ब्युँझन्छु, रुमको बुढो कुलर कोठै कम्पन गराउँदै कराउँदै थियो । पहिलो रात न म निदाउन सकें, न त ब्युझै बस्ने सकें । निन्द्रा र ब्युझाई बिचको तन्द्रामै रात कट्यो । 

मलाई थाहा छ, अब भोलिदेखि मैले सोच्ने, कल्पना गर्ने, निदाउने, ननिदाउने स्वतन्त्रता पाउनेछैन । किनभने निन्द्रा नलागे पनि सुत्नुपर्छ । निदाउन मन लागे पनि उठ्नुपर्छ । किनभने यहाँको हाम्रो जीवन भनेको मेसिनको जस्तै हो । मेसिनको तालमा निदाउनुपर्छ । मेसिनकै समयमा उठ्नुपर्छ । मेसिनजस्तै काम गर्नुपर्छ । 

त्यसैले सोच्ने, कल्पना गर्ने, रुने, हाँस्ने भनेको आजै मात्र हो । भोलिदेखि त चाहेर पनि हास्न सक्दिनँ, नचाहेर पनि रुन सक्दिनँ । मेरो मनमा आज तीनवटा कुरा सबैभन्दा धेरै खेलिरहेका छन् ।

पहिलो, सुतेकै ओछ्यानमा मान्छे मर्छन् रे । हे भगवान्, कसैलाई त्यस्तो नहोस् । कमसेकम मलाई त्यस्तो नहोस् । तातो हावाबाट एकैचोटी चिसो कुलरमा पस्यो । फ्रिजबाट ठण्डा निकाल्यो । पियो । एसिमा सुत्यो । तातो र चिसोको युद्धले मानिसलाई सुतेको सुत्यै बनाउँछ रे । 

दोस्रो, विदेशको जिवन फेसबुकमा राखेको फोटोजस्तो हुँदैन । यो कुरा बुझेर नेपालका दाजुभाइले उतै केही गरून् । दिनको १८ घण्टाका हिसाबले ६ दिन काम गर्‍यो । एकदिनको छुट्टीमा बल्ल बल्ल टाईम मिलाएर घुम्न गयो । राम्रो क्यामेराले सुन्दर फोटो खिच्यो । फेसबुकमा छाप्यो । लाइक र कमेन्ट कुऱ्यो, बस्यो । फोटो पछाडिको दु:खको कथा पनि आफन्त र साथी भाइले बुझिदिए सकेसम्म स्वदेशमै रोजगारी खोज्ने थिए होला । 

मेरो मनमा खेलेको तेस्रो कुरा हो, के स्वदेशमा काम नपाएरै म विदेश आएको हुँ त ? अरुका बारेमा त म भन्न सक्दिनँ, तर मचाहिँ देशमै पाएको ३० हजारको जागिर छोडेर विदेश आएको हुँ । रसुवाको सेन्जेन हाइड्रोमा लेवर काम गर्ने साथीले अहिले पनि २५ हजार बचाउँछ । रसुवागडी हाइड्रोमा मामाको छोराले मासिक ३० हजार खाने गरी काम खोजिदिएकै थियो । काठमाडौं मै पनि पनि हाम्रा कान्छाले बिजुली मर्मत गरेर ४० हजार हात पार्छ । 

यद्यपि म यी सबै सम्भावनालाई त्यागेर विदेश आएको छु, तीन वर्षका लागि । थाहा छैन, ठिक गरें कि बेठीक गरें । 

प्रकाशित :असार १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्