Teej banner

विश्वकप र सेक्स

- साप्ताहिक संवाददाता

असार ९, २०७५

विश्वकप फुटबलको पूर्वसन्ध्यामा जुन महिनाको पहिलो साता रसियाको मस्कोस्थित द डल्स होटलले पहिलो रोबोट ब्रोथेल सार्वजनिक गर्‍यो । विश्वकप हेर्न आउने दर्शकलाई लक्षित गरेर निर्माण गरिएको वेश्यालयमा रोबोटका लोलिता, सासा र इसिलेल गरी ३ भेराइटी उपलब्ध हुनेछन् । ग्राहकले उक्त डलका लागि प्रतिघण्टा करिब ८ हजार ७ सय रूपैंया तिर्नुपर्नेछ । 

यद्यपि रसियाका युवतीहरू सुन्दर हुन्छन् र उनीहरूसँग सम्बन्ध राख्न पाए आफूलाई भाग्यमानी मान्नेहरू संसारमा प्रशस्तै छन् । एक पटक रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले रसियन बेश्यालयमा काम गर्ने युवतीहरूलाई ‘विश्वकै सर्वाधिक राम्रा’ भनेका थिए । 

प्रहरीले हालको विश्वकप हुने कुनै पनि सहरमा यस्ता वेश्यालय नरहने गरी कडाइ गर्ने घोषणा गरिसकेको छ । यसका कारण यौनकर्मीहरूले गैरकानुनी रुपमा लुकेर यस्ता कार्य गर्न बाध्य हुने र कतिपयले प्रहरी प्रशासनकै आडमा यस्तो कार्य गर्नुपर्ने बाध्यता हुने समेत बताएका छन् । २०१४ को सोची विन्टर ओलम्पिकको समयमा पनि यौनकर्मीहरूमाथि यसरी नै कडाइ गरिएको थियो । 

यौनको मामिलामा विभिन्न धारणा व्याप्त छन् । यसका कारण नै विश्वकपमा भाग लिने प्रत्येक देशले फरक–फरक नीति लिँदै आएका छन् । पनामाका कोच हर्नान डारियो गोमेजले खेलको समयमा श्रीमती र गर्लफ्रेन्डप्रति हेर्न प्रतिबन्ध नै लगाएका छन् । 

ब्राजिलियन खेलाडीहरूलाई भने विश्वकप अवधिभर सेक्समा प्रतिबन्ध लगाइने छैन । ब्राजिलका पहिलेका खेलाडीहरूले पनि सेक्सका कारण खेलमा असर नपर्ने बरु राम्रो हुने बताउँदै आएका छन् । रोनाल्डोले खेलभन्दा पहिले राम्रोसँग राखिएको यौनसम्बन्ध ‘सफलताको शुत्र’ हुने कुरा बताएका थिए । त्यसैगरी रोमारियोले खेल नभएको समयमा यौन सम्बन्ध उत्तम हुने बताएका थिए । 

यही समयमा जर्मन प्रशिक्षक जोआकिम लोले आफ्ना खेलाडीहरूलाई यौनसम्बन्ध नराख्न भनेका छन् भने पोर्चुगलका गोलकिपर रुई प्याट्रिसियोकी श्रीमती तथा सेक्स थेरापिस्ट डा। भेरा रिबेइरोले खेल्नुअघि खेलाडीहरूलाई हस्तमैथुन गर्न सल्लाह दिएकी छिन् । यसबाट खेलाडीहरूमा ताजगीको अनुभूति हुने र खेलमा निखार आउने उनको तर्क छ । रिबेइरो साइकोलोजिस्ट हुन् र उनले सेक्समा विशेषज्ञता हासिल गरेकी छिन् । क्यासिनोबिगेस्टबोनस डटकमले २ हजार ४ सय १२ बेलायतीसँग उनीहरू किन रसिया जान चाहन्छन् भनेर सोधेको थियो । तीमध्ये करिब ३३ प्रतिशतले उनीहरू स्थानीय युवतीहरूलाई हेर्ने र मौका पाए केही गर्ने उद्देश्यका साथ रसिया जान लागेको बताएका थिए । बाँकी ३३ प्रतिशतले पनि रसियन युवतीहरू धेरै राम्रा हुने बताएका थिए । ३३ प्रतिशतले त्यहाँका युवतीहरूलाई भेट्न चाहेको र तीमध्ये आधा जतिले आफूहरू यो कुरामा सफल हुने बताएका थिए । 

उक्त सर्वेक्षणका सहभागीहरूमध्ये ८२ प्रतिशत कुनै न कुनै रिलेसनसिपमा थिए भने १८ प्रतिशत मात्र सिंगल थिए । १८ प्रतिशतले मात्र उनीहरू विशुद्ध रुपमा फुटबल खेल हेर्न जान लागेको बताए । 

वास्तबमा सेक्स र फुटबल खेलबीचको सम्बन्धका बारेमा अझै उपयुक्त धारणा आएको छैन । अध्ययनहरूले करिब १० घण्टा पहिले सम्म गरिएको शारीरिक सम्पर्क ठीक हुन्छ पनि भनेका छन् । कतिपय भने शारीरिक सम्बन्धका कारण सकारात्मक धारणा बन्छ र खेलका लागि राम्रो हुन्छ मान्यता राख्छन् । 

यद्यपि ठ्याक्कै यही नै हो भन्ने कुरा कसैले दाबी गर्न सकेका छैनन् । तैपनि सकारात्मक परिणाम आउँछ भन्ने मान्यताका साथ विश्वकपका क्रममा खेलाडीहरूसँगै उनीहरूका श्रीमती वा गर्लफ्रेन्ड पनि हुन्छन् ।

प्रकाशित :असार ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्