फुटबलमा ग्ल्यामर पत्नी र गर्लफ्रेन्डको चर्चा

- एकराज सुवेदी

असार ८, २०७५

 

भनिन्छ, प्रत्येक सफल पुरुषको पछाडि महिलाको हात हुन्छ, तर इंग्ल्यान्डका खेलाडीको सन्दर्भमा भने अर्कै भनाइ प्रचलित छ, ‘इंग्ल्यान्डका अधिकांश फुटबलरको पछाडि ग्ल्यामरस श्रीमती वा गर्लफ्रेन्ड हुन्छन् ।’

यद्यपि फुटबल खेल्दा पनि सधै उनीहरू साथमा भए भने के होला ? ध्यान उनीहरू तिर पनि जान सक्छ । खेल राम्रो नहुन सक्छ । यही कुरालाई मनन गरी सन् २०१० को विश्वकपमा इंग्ल्यान्डका प्रशिक्षक फावियो कापेलोले खेलाडीका श्रीमती वा गर्लफ्रेन्डहरूलाई सातामा एक दिन मात्र भेट्न सक्ने व्यवस्था मिलाएका थिए । यद्यपि हालका प्रशिक्षक गेरेट साउथगेटले भने खेल सकिए पछि अर्को दिन होटलमा परिवारसँग भेट्न सक्ने व्यवस्था मिलाएका छन् । 

जर्मनीमा सम्पन्न सन् २००६ को विश्वकप पश्चात यस्तो व्यवस्था गरिएको हो र यसपटक पनि उक्त नियम कायमै हुनेछ । त्यतिबेला जर्मन मिडियाले उनीहरूतिर बढी ध्यान दिएकाले खेलाडीको भन्दा बढी चर्चा उनीहरूका श्रीमती वा गर्लफ्रेन्डको भएको थियो । उनीहरूकै तस्बिर तथा समाचार बढी छापिएका थिए । 

इंग्ल्यान्डका प्रत्येक खेलाडीका पत्नी वा प्रेमिका चर्चित छन् । इंग्ल्यान्डको ओके म्यागजिनले प्रत्येक खेलाडीका श्रीमती वा गर्लफ्रेन्डका बारेमा विस्तृत जानकारी सार्वजनिक गरेको छ । तीमध्ये ३६ वर्षीया रेवेका भार्डी पनि एक हुन् । जेमी भार्डीसँग २०१६ मा विवाह गरेपछि उनीहरूकी छोरी सोफिया जन्मिएकी छिन् । २३ वर्षिया मोडल रुबी मे सन् २०१६ देखि इंग्ल्यान्डका फुटबलर डेल अलिसँग डेटिङमा छिन् । मिड फिल्डर एरिक डायर मारिया हान्सेनसँग डेटिङमा रमाउँछन् । २४ बर्षिय गोलकिपर जोर्डन पिकफोर्ड टिनएज देखि नै मेगान डेभिसनसँग डेटिङमा छन् । इंग्ल्यान्डका सर्बाधिक प्रौढ खेलाडी ३२ बर्षिय एस्ले योङले सानैदेखि मन पराएकी निकी पिकसँग विवाह गरेका छन् । अर्का गोलकिपर ज्याक बटल्यान्डले पूर्व एयर होस्टेस एनाबेल पेटोनसँग हालै विवाह गरेका हुन् । उनीहरू विभिन्न स्थानमा घुमेका तस्बिरले बेला–बेला चर्चा बटुल्छन् । यस्तै कथा अन्य खेलाडीका पनि छन् । 

इंग्ल्यान्ड फुटबल फेडरेसनले खेलाडीका श्रीमती वा गर्लफ्रेन्डका लागि छुट्टै सुरक्षाको व्यवस्था समेत गरेको छ । आइएसआइको धम्कीका कारण उनीहरूलाई समेत खेलाडीलाई जस्तै सुरक्षा प्रदान गर्ने योजना बनेको हो । कतिपय खेलाडीले त आफ्नै खर्चमा समेत सुरक्षाको व्यवस्था मिलाएका छन् । 

विश्वकप प्रारम्भ भएको छ । सबैका आँखा खेलाडीतर्फ मोडिएका छन् तर ग्ल्यामरको दुनियामा रमाउनेहरूका लागि पर्दा पछिल्तिर अर्को आकर्षण पनि छ । रसियामा हुने विश्वकपलाई अझै आकर्षक बनाउन ती खेलाडीका श्रीमती तथा गर्ल फ्रेन्डले पनि फरक भूमिका खेल्नेछन् । धेरैले फुटबलतिर ध्यान दिने समयमा कतिपयको ध्यान भने ती श्रीमती वा गर्लफ्रेन्डतिर जान सक्छ । यति मात्र होइन, खेलको अघि वा पछि उनीहरूले गर्ने विभिन्न हर्कतका कारण पनि अनेक चर्चा चल्छन् । यस पटकको विश्वकपमा उनीहरूले कस्तो चर्चा बटुल्ने हुन्, त्यो भने पछि थाहा हँुदै जाला । यद्यपि धेरै सञ्चार माध्यमहरूले अहिले नै उनीहरूका बारेमा विभिन्न चर्चा गर्न थालिसकेका छन् । 

खासगरी इन्टरनेट र सामाजिक सञ्जालले उनीहरूका गतिविधिलाई फैलाउन भूमिका खेलिरहेका छन् । कतिपय ग्ल्यामर म्यागजिन तथा सामाजिक सञ्जालमा उनीहरूका वारेमा विभिन्न जानकारी समेटिएको पाइन्छ । टेलिभिजन अन्तर्वार्ताले यसमा थप भूमिका खेल्छन् । खेलाडीका यी श्रीमती वा गर्लफ्रेन्डमध्ये अधिकांश ग्ल्यामर क्षेत्रमै क्रियाशील पाइन्छन् । कतिपय अन्य कारणले समेत चर्चामा छन् । 

शाकिराको नाम विश्वकपसँगै जोडिएर आउँछ । सन् २०१० को विश्वकपमा वाका वाका गीत गाएकी शाकिराले २०१४ मा ला ला ला गीत गाइन् । त्यही गीतको भिडियोमा उनका ब्वाई फ्रेन्ड फुटबलर जेरार्ड पीकले पनि अभिनय गरेका छन् । विश्वकपमा शाकिराले गाएको वाका वाका गीतले निकै चर्चा पाएको थियो । उक्त विश्वकपको समापन पश्चात नै यो जोडीको डेटिङ प्रारम्भ भएको थियो । कोलम्बियन गायिका शाकिरासँगको डेटिङ पश्चात नै पिकले आफ्नो समूहका साथ विश्वकप बाहेक युरोपियन च्याम्पियनसिप तथा ३ पटक च्याम्पियन लिग जिते भने शाकिराका ७ करोड भन्दा बढी एल्बम बिक्री भए । पछिल्लो विश्वकपका लागि गाइएको ला ला ला गीतको भिडियोमा शाकिराकै आग्रहमा पिकले समेत अभिनय गरेका छन् । 

नेयमारको चर्चा फुटबलमा प्रसस्तै हुन्छ । धेरैलाई थाहा नभएको सत्य के हो भने फुटबल जति नै चर्चा उनकी गर्लफ्रेन्डको पनि हुन्छ । उनका गर्लफ्रेन्डको एउटा लामै सूची छ । नेयमार १९ वर्षकै उमेरमा छोराको बुबा भएका थिए । यद्यपि उनले ती आमा र छोरालाई लामो समयसम्म सार्वजनिक गरेनन् । नेयमारको सर्वाधिक लामो सम्बन्ध मार्केजिनसँग रह्यो । धेरैले ब्राजिलियन मोडल मार्केजिन नै नेयमारकी वास्तविक गर्लफ्रेन्ड भएको बताउँछन् । 

मेस्सीलाई नचिन्ने फुटबलप्रेमी कमै होलान्, तर मेस्सीले आफू यसरी चर्चित हुनुअघि नै एन्टोनिलालाई चिनिसकेका थिए । सन् २००८ देखि डेटिङ जान थालेको यो जोडीले सन् २०१२ मा पहिलो सन्तान जन्माए । मेसी भद्र श्रीमान्का रूपमा परिचित छन् । जर्मन खेलाडी मेसुत ओजिललाई उनकी गर्लफ्रेन्ड एमिन गल्सले चियर गर्ने छिन् । सन् २०१४ की मिस वल्र्ड टर्की एमिन टर्किस टीभीमा सो चलाउँछिन् । उनीहरू सन् २०१७ देखि डेटिङमा छन् । 

स्पेनिस खेलाडी कोकेले हालै फेसन एन्ड लाइफस्टाइल ब्लगर बिट्रिज एस्पेजेल जिमेनेजसँग विवाह गरेका हुन् । उनीहरूले सेयर गरेको तस्बिरमा लेखिएको थियो, ‘नेभर डज अ फोटो रियल्ली रिफ्लेक्ट द रियालिटी×’स्पेनिस फुटबलर सेस्क फेब्रिगासकी श्रीमती डानियला सिम्यानले खेल अवधिभर सधै उनलाई पछ्याउने छिन् । उनीहरूको प्रेमको कथा सधंै चर्चामा रहन्छ । फेब्रिगासको बर्थडेको अवसरमा उनले दस लाख मायाको कुरा गरेकी थिइन् । त्यसैगरी संसार, चन्द्रमा र ताराका साथै उनको मुटुले चाहिने सबै कुरा दिन सक्ने बताएकी थिइन् । 

स्पेनिस गोलकिपर डेभिड डे गीलाई उनकी गायिका श्रीमती एड्युर्नले चियर्स गर्ने छिन् । सन् २०१५ को युरोभिजन सङ कन्टेस्टमा स्पेनबाट भाग लिएकी एडयुर्नले आफ्नो व्यस्त समयका वावजुद डेभिडलाई साथ दिने छिन् । 

एरिका चोपेरेना पेशाले चाइल्ड साइकोलोजिस्ट हुन् । फ्रेन्च फुटबलर एन्टोइन ग्रिजम्यानसँग २०१७ मा विवाह गरेर हाल छोरी मियालाई हुकाइरहेका छिन् उनी । मिडियामा खासै आउन नरुचाउने एरिका विश्वकप हेर्न रुस भने पुगिसकेकी छिन् । 

कुनै समय पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोको नामसँग रसियन मोडल इरिना सायकको नाम जोडिन्थ्यो तर उनले हाल जियोर्जिना रोड्रिगेजसँग विवाह गरेका छन् र उनीहरूकी सानी छोरी पनि छिन् । छोरीका लागि बेबी सिटर बोकेरै भए पनि उनी विश्वकप हेर्न पुग्दै छिन् । 

इन्ना झिर्कोभा सन् २०१२ को मिसेज रसिया ब्युटफुलकी विजेता हुन् । रसियन फुटबलर युरी झिरकोभसँग २००८ मा विवाह गरेकी इन्ना आफ्ना सन्तान सहितको तस्बिर इन्स्टाग्राममा पोस्ट गर्छिन् । 

लोरलेई ट्यारोन अर्जेन्टिनी खेलाडी राडामेल फाल्काओकी श्रीमती हुन् । म्यानचेस्टर युनाइटेडबाट फुटबल खेल्दा सन् २०१४ मा उनी सर्बाधिक धनी खेलाडीकी श्रीमतीमा मानिन्थिन् । उनकी चार वर्षिया छोरी डोमिनिक गार्सियाको समेत आफ्नै इन्स्टाग्राम एकाउन्ट छ । 

चिलीका फरवार्ड एलेक्सी साँचेजकी श्रीमती मेट रोड्रिगेज नायिका तथा मोडल हुन् । उनी चिलीमा आफ्नो श्रीमान् जत्तिकै लोकप्रिय छिन् । उनी यात्रा रुचाउछिन् र आफ्नो यात्राका तस्बिरहरू इन्स्टाग्राममा राखिरहन्छिन् । 

रसियन खेलाडी सर्जेई निकोलायभिच इग्नासेभिचकी श्रीमती हुन्– नतालिया । हेल्थ एन्ड जिम इन्स्ट्रक्टर नतालियाले हालै विश्वकपको सन्दर्भमा एउटा ठट्टा समेत गरेकी थिइन् । उनले विश्वकपका कारण आफूहरूको रोमान्टिक भ्याकेसनमा जाने सपना तुहिए पनि होम ग्राउन्डमा वल्र्ड च्याम्पियनसिप खेल्न पाएकोमा गौरव लागेको कुरा बताएकी थिइन् । 

स्पेनका कप्तान सर्जिओ रामोसकी प्रसिद्ध टेलिभिजन प्रस्तोता श्रीमती पिलर रुबिओले सर्जिओ जुनियरलाई जन्माउनु परेकाले गएको विश्वकप हेर्न पाएकी थिइनन् । च्याम्पियन लिग बिजेता रामोससँगको सम्बन्धलाई खासै चर्चामा ल्याउन नचाहे पनि रामोसले नै टेलिभिजन शोकै माध्यमबाट यो सम्बन्धलाई सार्वजनिक गरेका थिए । 

स्पेनिस प्लेयर इस्कोकी गर्लफ्रेन्ड २६ वर्षिया सारा सलामो फिल्मी नायिका हुन् । सन् २०१७ देखि रिलेसनसिपमा रहेको यो जोडीको चर्चा गत मार्चमा एकाएक चुलियो । इस्कोले आफूले खेलमा राम्रो गर्न नसक्नुमा साराको हात भएकाले उनलाई मार्ने धम्की दिएको कुरा साराले त्यतिबेला सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् । 

यद्यपि कतिपय खेलाडीले आफ्नी श्रीमती वा प्रेमिकाबाट टाढा रहने प्रयास गरेको समाचार पनि आएका छन् । ब्राजिलका खेलाडी केभिन ट्रयाप यस्तै समाचारका कारण चर्चित भए । राल्फ लरेन, डोल्स एन्ड गब्बाना, गिवेन्ची जस्ता प्रसिद्ध ब्रान्डमा मोडलिङ गरिसकेकी केभिनकी गर्लफ्रेन्ड इसाबेलसँग उनले केही समयका लागि दुरी बनाएको समाचार सार्वजनिक भयो । इसाबेल सुन्दर भएकीले आफ्नो मनलाई बसमा राख्न नसके पनि राष्ट्रिय हितका लागि आफूले यस्तो हिम्मत गरेको उनको भनाइ छ ।

 पत्नीभक्त हेजार्ड

विश्वकपमा बेल्जियम फुटबल टिमका क्याप्टेन इडेन हेजार्डले आफ्नी पत्नी नताचा वानलाई उनी १४ वर्षको हुँदा पहिलो पटक भेटेका थिए । नताचा आफ्नो लजालु स्वभावका लागि परिचित छिन् । एक पटक अन्तर्वार्ताका क्रममा हेजार्डले ‘यदि मेरी पत्नीले मलाई चेल्सी क्लब छोडेर पीएसजी क्लबमा जाउ भन्छिन् भने म जान तयार छु’ भनेका थिए । त्यतिबेला देखि नै मिडियामा उनको छवि पत्नीभक्तका रूपमा परिचित छ । अप्रिल २०१२ मा उनीहरूको विवाह भएको थियो र हाल उनीहरूका ३ सन्तान छन् । 

कलगर्लसँगको पार्टीमा गएनन् राफेल मार्केज

मेक्सिकन टिमका सदस्यहरूले रसिया प्रस्थान गर्नुअघि कलगर्लसँग पार्टी गरेको समाचार सार्वजनिक भएको थियो । मेक्सिकोको एक अखबारले कलगर्लसँग खेलाडीहरूको तस्बिर समेत प्रकाशित गरेको थियो । यद्यपि उक्त पार्टीमा मेक्सिकोका डिफेन्डर राफेल मार्केज सहभागी थिएनन् । फुटबल फ्यानहरूका बीचमा यो खबर पुगे पछि सोसल साइटमा मार्केजको प्रशंसा भैरहेको छ । मार्केजलाई संसारकै सबैभन्दा भद्र व्यक्ति समेत भनिएको छ । मार्केजले सन् २०१९ मा नायिका तथा मोडल जयदी मिसेलसँग विवाह गरेका थिए । 

जुत्तामा पत्नी र 

सन्तानको नाम

इंग्ल्यान्ड फुटबल टिमका सदस्य जेमी वार्डी हिजोआज आफ्नो जुत्ताका कारण चर्चित छन् । जेमीले आफूले लगाउने जुत्तामा आफ्ना छोरी सोफिया र एलाका साथै श्रीमती रेबेकाको पनि नाम लेखाएका छन् । जेमी वार्डीले एक अन्तर्वार्ताका क्रममा आफूले परिवारलाई निकै माया गर्ने बताएका थिए । खेलको समयमा पनि परिवार आफ्नै साथमा छ भन्ने अनुभूतिका लागि आफूले जुत्तामा उनीहरूको नाम लेखाएको जेमीले बताएका छन् । 

प्रकाशित :असार ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्