विश्वकप भकुण्डोको कथा

- साप्ताहिक संवाददाता

असार ७, २०७५

 

रूसमा हुने विश्वकपमा यस पटक ६४ खेल खेलिनेछ । ती खेलमा ७ सय ४ वटा फुटबल प्रयोग हुनेछन् । प्रत्येक खेलमा करिब ११ वटा फुटबल प्रयोग गरिने छ । सबै खेल चिप प्रयोग भएको टेलस्टार–१८ नामक फुटबलबाट खेलिँदैछ । टेलस्टार–१८ एडिडास कम्पनीले निर्माण गरेको फुटबल हो । सन् १९७० देखि नै विश्वकपका लागि एडिडासले फुटबल निर्माण गरिरहेको छ । एडिडास विश्वकपका लागि फिफाको पार्टनर कम्पनी हो । कम्पनीले लगातार १३ पटक फुटबल डिजाइन गरेको छ । 

एडिडासले पहिलो पटक सन् १९७० मा टेलस्टार नामक फुटबल डिजाइन गरेको थियो । त्यसपछि त्यसैको नामबाट यसको नाम राख्ने गरिएको छ । सन् १९७० को दशकमा ब्ल्याक एन्ड ह्वाइट टीभी प्रचलित भएकाले टीभीमा राम्रोसँग देखियोस् भनेर सेतोका साथै कालो प्यानल भएको फुटबल डिजाइन गरिएको थियो । 

टेलस्टार–१८ मा एनएफसी चिप उपलब्ध छ । उक्त चिपको सहयोगले फुटबललाई स्मार्टफोनसँग कनेक्ट गरेर खेलसँग सम्बन्धित विविध जानकारी हासिल गर्न सकिन्छ । सन् १९३० मा पहिलो पटक फुटबल विश्वकप हुँदा अफिसियल बल थिएन । फाइनलको पहिलो हाफमा अर्जेन्टिनाको फुटबल टिएंगो र दोस्रो हाफमा उरुग्वेको फुटबल टी–मोडल प्रयोग गरिएको थियो । सन् १९३४ मा खेलिएको फुटबलको नाम फेडरडेल १०२ थियो । 

सन् १९३८ मा एलन फुटबल आयो जसमा पहिलो पटक कुनै कम्पनीले विश्वकपमा ब्रान्डिङ गरेको थियो । सन् १९५० मा सुपर डुप्लो टी फुटबल प्रयोग गरियो । सन् १९५४ मा स्विस डब्ल्यु सी बल प्रयोग भयो । यो पहिलो १८ प्यानलयुक्त फुटबल थियो । यही वर्ष देखि फिफाले बलको साइज, तौल तथा व्याससम्बन्धी नियम लागू गरेको थियो । 

सन् १९५८ मा टप स्टार प्रयोग गरियो । यसमा बलको एउटा मोडल खैरो रंगको तथा अर्को मोडल सेतो रंगको थियो । सन् १९६२ मा क्र्याक फुटबल प्रयोग गरियो । उक्त फुटबलमा अष्टकोणीय लामो प्यानल थियो । सन् १९६६ मा सुन्तला रंगरको बल प्रयोग भयो । कुनै–कुनै खेलमा पहेंलो र सेतो रंग पनि प्रयोग भएको थियो । 

सन् १९७० मा टेलस्टार फुटबल आयो । सन् १९७४ मा टेलस्टार ड्युरलास्ट प्रयोग गरियो । पहिलो पटक आधिकारिक फुटबलमा लोगो र नाम प्रिन्ट गरियो । यो टेलस्टारकै अपग्रेडेड भर्सन थियो । सन् १९७८ मा ट्यांगो प्रयोग गरियो भने सन् १९८२ मा ट्यांगो एस्पाना । यो विश्वकपमा प्रयोग गरिएको अन्तिम छालाको बल थियो । 

सन् १९८६ मा एज्टेका बल आयो । यही वर्ष देखि पहिलो पटक सिन्थेटिक बलबाट खेल खेलिएको थियो । त्यसैगरी सन् १९९० मा युनिको, सन् १९९४ मा क्वेस्ट्रा, सन् १९९८ मा ट्राइकलर, सन् २००२ मा फेवरनोभा तथा सन् २००६ मा टिम जिस्टको प्रयोग भयो । सन् १९९८ मा फ्रान्समा खेलिएको विश्वकपदेखि बलमा सोतो तथा कालो रंग बिदा भए । यसमा आयोजक राष्ट्र फ्रान्सको राष्ट्रिय झन्डाका तीनवटै रङ प्रयोग गरिएको थियो । सन् २००६ मा प्रयोग गरिएको बलमा टिमको नाम, म्याच नम्बर र स्टेडियमको नाम समेत लेखिएको हुन्थ्यो । 

सन् २०१० मा जबुलानी आयो, जसमा ८ वटा प्यानल थिए । यो बल अलि विवादित पनि भएको थियो । यसबाट सटको ट्रयाजेक्टरी अन्दाज लगाउन मुश्किल थियो । गोलकिपरहरूले यसलाई वहिष्कार गर्नेसम्मका समाचार बाहिर आए । सन् २०१४ मा ब्रजुका फुटबल प्रयोग गरियो ।

प्रकाशित :असार ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्