Teej banner

फुटबलको मौसममा पुस्तक

- किशोर नेपाल

असार ७, २०७५

बिहिबारदेखि फुटबलको मौसम सुरु भएको छ । यो मौसममा फुटबलले हामीलाई हँसाउने र रुवाउने मात्र गर्दैन, जरो आउनेसम्म बनाइदिन्छ । कुन खेलाडीले गोल हान्छ ? कुन टिमले जित्छ ? कुन देशले विश्वकपको ट्रफी उचाल्छ ? साथीभाइ, ब्वाइफ्रेन्ड–गर्लफ्रेन्ड, खरिददार–विक्रेता सबैका बीच राम्रै बाजी चल्छ । आफूलाई मन परेको खेलाडीको पराजय सहन नसकेर धेरै मानिस मरेका छन् । विजयको उन्मादमा गोल भनेर मुटु फुटुन्जेल कराउँदा साँच्चै हर्ट अट्याक भएर मर्ने पनि उत्तिकै छन् । 

यस्तो वातावरणमा स्तम्भकार चर्चा गर्दैछ पुस्तक प्रदर्शनीको । अघिल्लो साता शनिबार सम्पन्न राष्ट्रिय पुस्तक प्रदर्शनी व्यापारको दृष्टिले सफल वा असफल के थियो ? त्यसको लेखाजोखा गर्ने मुडमा स्तम्भकार छैन । भृकुटीमण्डपमा आयोजित पुस्तक मेलामा यसपटक पनि, सधैंझैं, थुप्रै मानिस पुगेका थिए । नेपालका मानिसमा पढ्ने रुचि बढेको छ । यो सुखद खबर हो, तर के पढिन्छ र कसरी पढिन्छ ? भन्ने विषयमा कसैले केही बताउन सक्दैन, न प्रकाशकले न लेखकले न पुस्तक विक्रेताले । ‘फिक्सन धेरै पढिन्छ,’ व्यवसायिक हिसाबले पुस्तक प्रकाशनसँग जोडिएका एक जना मित्रले बताए, ‘खोइ किन हो, प्रकाशकहरूले फिक्सनमा जोड दिंदै आएका छन्, तर नेपालमा पठन संस्कृतिको विकासका लागि फिक्सनले मात्र पुग्दैन । हामीकहाँ फिक्सनबाहेकका अरू विधा त्यति बिकेका छैनन् । तुलनात्मक हिसाबले फिक्सन बढी लेखिए पनि एक–दुई जनाबाहेक अरू फिक्सन लेखक जम्नसमेत सकेका छैनन् । व्यवसायिक र आर्थिक हिसाबले त फिक्सन लेखकहरू पनि जमेका छैनन्,’ ती मित्रको भनाइ थियो ।

पुस्तक प्रदर्शनीका क्रममा आफूलाई फाफुरा अर्थात् फाइँफुट्टीराजका रूपमा पनि चिनाउन चाहने ब्रजेश खनालले फोनमा निम्तो दिए, ‘आउनुपर्‍यो जासुसी उपन्यासको चर्चा गर्न ।’ चर्चा कार्यक्रम शनिबार १ बजे राखिए पनि हल २ बजेसम्म खाली भएन । स्वतन्त्रता सेनानी डीबी परियारमाथि शंकर तिवारीको पुस्तकको विमोचनले हल अड्किएको थियो । यो राम्रो संकेत थियो कि नेपालमा राजनीतिक साहित्यका पाठकहरू पनि जन्मिदैछन् । अन्तत: ब्रजेशको कार्यक्रम सुरु भयो । कार्यक्रमका मोडरेटर शेखर खरेलको छरितो मन्तव्यपछि नेपाली जासुसी साहित्यका बारेमा मन्थन सुरु भयो । नेपालमा जासुसी साहित्य यति थोरै लेखिएका छन् कि त्यसमाथि गन्थन गर्न सकिने सम्भावना नै थिएन । 

नेपालका पहिलो र लोकप्रिय जासुसी उपन्यासकार दीर्घबाहु अर्थात् श्रीधर खनाल । इन्स्पेक्टर खरेल र रोजीका सिर्जनाकार । डबल अमलेट र कफी खाएपछि जासुसीको जाँगर चल्ने इन्स्पेक्टर खरेल । यो इन्स्पेक्टर खरेलको सिर्जना कसरी भएको थियो ? थाहा भएन । उपन्यासको प्रकाशन मितिअनुसार हेर्ने हो भने इन्स्पेक्टर खरेल भनेको त्यतिबेलाका मसहूर र लोकप्रिय पुलिस इन्स्पेक्टर अच्युत खरेल त होइनन् भन्ने भान पर्न सक्छ । जे होस्, आधुनिक नेपाली जासुसी उपन्यास श्रीधर खनालको देन हो । त्यसकालमा एसके दीन पनि उपन्यासकारका रूपमा देखिएका थिए, तर उत्कृष्ट उपन्यास भने दीर्घबाहुले नै लेखे । 

त्यही समयमा जासुसी उपन्यासका नाममा अरू धेरै अल्लारे लेखकहरू सक्रिय भए । तिनलाई भोटाहिटीका सामान्य पुस्तक विक्रेताहरूले प्रोत्साहित गरेका थिए । एउटा त्यतिबेला निकै नाम चलेको एडभर्टाइजिङ एजेन्सी किशोर एडभर्टाजिङले पनि जासुसी उपन्यासको विकासमा निकै लगानी गरेको थियो । उसले प्रकाशित गरेका झन्डै एक दर्जन जासुसी साहित्य नचलेपछि लगानीको त्यो क्रम बन्द भएको थियो । तिनताक भारतमा जासुसी साहित्य प्रकाशनको जालो फैलिएको थियो । इब्नेशफी बी.ए., ओमप्रकाश शर्मा, वेदप्रकाश काम्बोज, कर्नल रञ्जित अनि सुरेन्द्रमोहन पाठक निकै चल्तीका जासुसी उपन्यासकार थिए । यी लेखकका उपन्यास हजारौं हजारप्रति बिक्री हुन्थे । त्यो जमाना पाकेटबुक साहित्यको थियो । पुस्तकका पाकेटबुक संस्करणहरूको प्रकाशनमा हिन्द पाकेट बुक्स सबैभन्दा माथिल्लो लहरमा थियो ।

नेपालमा दीर्घबाहुपछि जासुसी उपन्यास लेख्ने स्रष्टा देखिएका छैनन् । रत्न पुस्तकजस्ता अनुभवी प्रकाशकहरूले त्यसमा हात हालेका छैनन् । फाइन प्रिन्टले केपी ढुंगानाको पुस्तक ‘ओपन सिक्रेट’ प्रकाशित गर्‍यो, जुन लोकप्रिय पनि भयो तर ढुंगानाको पुस्तक जासुसी थिएन । यो अपराध कथा थियो— यथार्थ घटनालाई रोचक क्याप्सुलमा समेटिएको । 

भाषा र साहित्यको विकासमा जासुसी र अपराध साहित्यले पूरै सघाउन सक्छन् । त्यसबाहेक, हाम्रो समाजमा चलेका अनेकन कुरीति र कुसंस्कारका विरुद्ध पनि यिनको प्रयोग गर्न सकिन्छ । नेपाली भाषामा अपराध साहित्यका केही पत्रिका प्रकाशित भएका छन् सत्यकथामा आधारित । ती प्रकाशन पनि प्रोत्साहित हुन सकेका छैनन् । 

नेपाली लेखकहरूले जासुसी र अपराध साहित्यको वास्तविक महत्व बुझेको देखिँदैन । छि:, जासुसी उपन्यास पनि के लेख्नु भन्ने मानसिकतामा जकडिएका छन् धेरै लेखक । प्रकाशकहरूले लेखकलाई राम्रोसँग परिचालित गरेको पनि देखिँदैन । फाइन प्रिन्टले सुबिन भट्टराईका उपन्यास प्रकाशित गरेपछि ती उपन्यास ह्वात्तै लोकप्रिय भए । सुबिन अहिले हिन्दी भाषामा उपन्यासकार गुलशन नन्दा जसरी लोकप्रिय थिए त्यसरी नै लोकप्रिय छन् । गुलशन नन्दा र सुबिनका विषयवस्तु पनि समान छन् : प्रेम, संयोग र वियोग । प्रकाशकहरूले चाहे वा आँट गरे जासुसी, अपराध कथा, यौन र अरू पनि धेरै नछोइएका विषयमा पुस्तक तयार पार्न नसकिने अवस्था छैन । घुम्टोभित्र टाउको लुकाएर हिंड्ने समाज आधुनिक हुँदैन, आधुनिकताले खुला आकाशमुनि विचरण गर्ने स्वतन्त्र अवस्थाको माग गर्छ ।

प्रकाशित :असार ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्