मेरो माटो मेरो चन्दन

- अधिकारी रवीन्द्र, बनेपा

असार ६, २०७५

गएको २५ गते शुक्रबार मध्यराततिर सोसल मिडियाका पानाहरू एउटा अप्रीय समाचारले भरिए । पित्तनलीको टर्मिनल क्यान्सरले थलिएका वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको मृत्युको खबर थियो त्यो । सोसल साइटहरूमा बुझ न सुझ कमेन्ट र सेयर गरेर ती पोस्टलाई सुपरहिट बनाउने छुट्टै किसिमको झुन्ड छ । यस्ता झुन्डले कुनै समय राष्ट्रकवि माधव घिमिरेलाई पनि अकालमा मृत्युवरण गराएका थिए । यसपटक देवकोटालाई गराए । 

क्लिक्बेट समाचारहरू डढेलो लगाउनै सिर्जना गरिएका हुन्छन् । देवकोटाको समाचार पनि त्यसरी नै बन्यो । फेरि नेपालका धेरै बुज्रुकहरू कुनै अप्रीय घटना वा कसैको मृत्युको खबरलाई आफ्नै आँखाले देखेर आए जसरी लेखेर पोस्ट गर्न कुनै कैफियत राख्दैनन् । थाहा छैन यसको प्रयोजन के हो, शायद यसले उनीहरूलाई बेग्लै आत्मसन्तुष्टि दिन्छ । स्रोत नबुझी सेयर गर्नेहरूको जमातले त्यो आगोमा घ्यू थपिदिन्छन् । अनलाइनको उक्त डढेलो प्रतिवाद गर्ने कयौं समाचार आइसक्दा पनि निभ्दैन । यसमा हामी सबै भागेदार छौं, किनभने यो हामीले नै बनाएको समाज हो । अनलाइनमा हुने यस्ता मनपरीलाई नियमन गर्ने कुनै ठोस विधि छैन तर आफ्नो विवेक र नैतिकता प्रयोग गरेर हामीले सभ्य अन्लाइन समाज बनाउन भूमिका खेल्न सक्छौं, जुन कुरा हाम्रा सन्ततिहरूले पनि सिक्नेछन् र त्यसले अर्को पुस्तासम्म निरन्तरता पाउनेछ । 

उच्चतम जनचासो भएको कुरामा गलत हेड्लाइन र खबर राखी बढी सेयर पाउने अपेक्षाका साथ समाचार बनाउने काम प्राय: तीनै च्याउसरि उम्रिएका अनलाइन साइटले गर्छन्, जसको अन्तिम उद्देश्य आफ्नो पेजमा ट्राफिक बढाएर व्यवसायिक उपलब्धि हासिल गर्नु हो तसर्थ हामी प्रयोग कर्ताहरू आँफै सजग रहनुपर्छ कि कुन स्रोतले कस्ता खालका समाचार किन प्रवाह गर्दै आएका छन् ? 

अब फर्कौ पुन: देवकोटाकै प्रसङ्गमा । जन्मभूमिको अदृश्य चुम्बकले उहाँलाई लन्डनबाट काठमाडौं तान्यो । परीक्षणात्मक उपचार पद्धतिमा भर पर्नुभन्दा नेपालमै आफन्त इष्टमित्र, शुभचिन्तकहरूसँग बस्ने र जीवनका अनुभव क्रमश: बाँड्दै जाने उहाँको निर्णय थियो । वैशाख १५ मा जब उहाँ काठमाडौंको विमानस्थलमा अवतरण हुनुभयो तब त्यहाँको माटो हातमा लिएर निधारमा टिका लगाउँदै भन्नुभयो– ‘मेरो माटो मेरो चन्दन । यो वाक्यांशले अथाह अर्थ बोकेको छ । भौतिक शरीर आफंैले १२ वर्ष अघि स्थापना गरेको बाँसवारीस्थित न्युरो हस्पिटलमा रहे पनि उहाँको मन मस्तिष्क उही गोर्खाको पण्डित गाँउमा पुगिरह्यो ।

शेष जीवनका दिनहरू गन्ने क्रममा उहाँले मार्मिक इच्छा प्रकट गर्नुभयो– आफ्नै गृहजिल्ला गोर्खा जाने, पण्डित गाँउमा रहेको आफ्नै जन्मघरको पिँढीमा सुस्ताउने, चेपेको पानीमा खुट्टा टेक्ने र सिस्नेधाराको पानी पिउने । तदअनुसार उहाँको इच्छा शनिबार पुरा गरियो । ४० मिनेटको अन्तरालमा दुई पटकसम्म सिस्नेधाराको पानी पिएपछि उहाँको अनुहारमा कान्ती छायो । जन्मभुमिको मुलको पानीले दिने उर्जा कुनै औषधीले कहाँ दिन्थ्यो र ?

यो सबैमा लागू हुने वृत्तान्त हो । हामी जहाँ जाउँm, कता–कता हामीलाई हाम्रो जन्मभूमिले बोलाइरहेको हुन्छ । जुन ठाउँमा हाम्रो अस्तित्व सुरु भयो, जुन ठाउँको हावापानी र अन्नले हाम्रो जीउ ज्यान बन्यो, त्यो ठाउँ हाम्रो आफ्नो हो । भौतिक संसारमा संघर्ष गर्ने क्रममा अन्तत: जब हामी थाक्छाँै, तब जगतकै सबैभन्दा प्यारो त्यही ठाँउको मायाले मुटु पोल्न थाल्छ । हामी उडेर त्यसै बखत पुग्न चाहन्छाँै– आफ्नै जन्मघरको आँगनमा । त्यही धर्तीको धुलोमा उफ्रदै हाम्रो बाल्यकाल गुज्रिएको छ । त्यही माटोमा हुर्किएका आमाबाबु र साथीभाइसँग हामीले हाँस्न, बोल्न र खेल्न सिक्याँै । हामीलाई हामी बनाउने प्रथम जग सुरु भएको भूमि चाहे हामी युरोप वा अमेरिका जहाँ जाउँm अनायासै ह्दयमा स्मृतिको छाल बनेर प्रकट भै नै रहन्छ । अन्तिम सास रहेसम्म त्यो अजबको आफ्नोपनले आँत न्यानो बनाइरहन्छ । नर्वेको ठण्डीमा बस्नेहरूमा पनि त्यो न्यानोपन सेलाएको हुँदैन । खाडीको रापमा बस्नेहरूमा पनि त्यो आफ्नोपनको गर्मीले पिल्साएको हुँदैन । 

कैयन् पुर्खाहरूको आत्माले तुलसामोठ छेवैबाट देहत्याग् गरेको त्यो पूण्य आँगनले पुरै खानदानको असीम इतिहास बोकेको हुन्छ । त्यही इतिहासबाट निर्मित भएकाले हामी जतासुकै जाउँ, त्यहाँको झझल्को उम्लिएर पोखिन खोजिरहन्छ, तसर्थ बाल्यावस्था, वयस्क वा प्रौढावस्थामा समयानुकुल अनेकन् इच्छा जागृत भए पनि अन्तिम घडीमा त्यही आफ्नै जन्मभूमिप्रतिको चाहनाले सताउने रहेछ मानिसलाई– जननी जन्मभुमिश्च: स्वर्गादपी गरियसी ।

(वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ)

                                                  ravinems@iom.edu.np

                                            www.facebook.com/AdhiQarie/

प्रकाशित :असार ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्