Teej banner

नेपाली कलाकारमा फुटबल फिभर

- रामजी ज्ञवाली

असार ५, २०७५

बिहीबारदेखि विश्वकप फुटबलको महासंग्राम सुरु भएको छ । यसको रौनक भने एक महिना अघिदेखि नै थियो । विश्वकप फुटबलको फिभर विदेशमा मात्र होइन नेपालमा पनि उत्तिकै छ, यसले नेपालीहरूलाई राम्रैसँग तताएको छ । यद्यपि विश्वकपमा नेपालको टिम सहभागी छैन । नेपाली प्रशंसकहरू आफूलाई मन पर्ने देशको टिमको समर्थन र विपक्षमा भने राम्रैसँग लागि परेका छन् । चियापसलदेखि होटल रेस्टुराँ तथा क्लबहरूमा समेत विश्वकपको रौनक छ ।

सामाजिक सञ्जालमा आ–आफ्नो टिमको समर्थन र अरू टिमको विपक्षमा उत्रिएका छन्– नेपालीहरू । नेपाली कलाकारहरूलाई पनि विश्वकपले राम्रैसँग छोएको छ । उनीहरू विश्वकपलाई लिएर निकै उत्साहित छन् । कतिपय कलाकारले आफूले समर्थन गरेको टिमको जर्सी लगाएर फेसबुक, ट्विटर तथा इन्स्टाग्राममा तस्बिर अपलोड गरिरहेका छन्, आ–आफ्नो विचार सार्वजनिक गरिरहेका छन् ।

राजेश हमाललाई मन पर्ने खेल हो— फुटबल । यद्यपि उनी खेल मन पराए पनि कुन टिमलाई समर्थन गर्ने भन्ने विषयमा भने अझै पक्का भैसकेका छैनन् । उनी विश्वकप खेल हेर्न छुटाउने छैनन् । क्वाटरफाइनलका खेल सुरु भएसँगै उनले आफ्नो टिम र खेलाडी छान्नेछन् । साधारणतया साथीभाइहरू जम्मा भएर रमाइलो गर्दै फुटबल हेर्ने चलन छ, तर हमालको रुचि भने केही भिन्न छ । उनलाई एक्लै बसेर खेल हेर्न मन लाग्छ ।

अभिनेत्री केकी अधिकारीलाई मनपर्ने खेलाडी हुन्– मेसी । उनले सानैदेखि अर्जेन्टिनालाई सपोर्ट गर्दै आएकी छिन् । मलाई आशा छ यसपटकको विश्वकपमा मेसीको टिमले जित्ने छ, केकीले भनिन्– यसपटकको विश्वकपमा म अस्ट्ेरलियामा हुन्छु, उतै खेल हेर्ने सोचमा छु । मेस्सीको जादुमय खेलले आफूलाई प्रभावित तुल्याउने केकी बताउँछिन् ।

अभिनेत्री झरना थापालाई सर्वाधिक मन पर्ने खेल हो– फुटबल । झरना साथीभाइ एवं परिवारका साथ फुटबल म्याच हेर्दै आएको बताउँछिन् । यसपटकको विश्वकपले राम्रैसँग छोए पनि झरनाले आफ्नो टिम भने रोजिसकेकी छैनन् । थापा भन्छिन्– यद्यपि अर्जेन्टिना र जर्मनी अलि बढी मनपर्ने टिम हुन् ।

अभिनेत्री श्वेता खड्का फुटबलको सौखिन छिन् । उनले विश्वकपका कुनै पनि खेल हेर्न छुटाउने छैनन् । श्वेताले लामो समयदेखि विश्वकपको फाइनलमा बाजी समेत थाप्दै आएकी छिन् । खड्का भन्छिन्– अहिलेसम्म मैले बाजी हारेको थाहा छैन । जस्तोसुकै व्यस्तताका बाबजुद विश्वकप फुटबल हेरेरै छाड्ने स्वेता बताउँछिन् । श्वेतालाई मन पर्ने टिम अर्जेन्टिना हो भने मेसी मन पर्ने खेलाडी हुन् । यद्यपि रोनाल्डोको खेल समेत मन पर्ने उनी बताउँछिन् ।

प्रमोद खरेल पनि फुटबलले तताउने कलाकारमा पर्छन् । यसपटकको विश्वकपमा उनको दैनिकी अलिकति फरक हुनेछ । उनको दिनभरि रेकर्डिङमा व्यस्त हुने, बेलुका फुटबलमा रमाउने सेडुअल छ । प्रमोद यसपालि अर्जेन्टिनाको सपोर्टमा छन् । मेसी उनलाई मन पर्ने खेलाडी हुन् । विश्वकप चलिरहेका बेला प्रमोद अमेरिका र नेपालमा हुनेछन् । यद्यपि अमेरिकामा समेत खेल हेर्न समय मिलाउने उनी बताउँछन् । खरेल विश्वपकप कसले जित्ला भन्ने कुराको ठ्याक्कै अनुमान लगाउन सक्दैनन् । उनी भन्छन्– यसपटकको खेलमा जर्मनी खतरनाक सावित हुनसक्छ । स्पेन एकदमै लयमा खेल्ने टिम हो । ब्राजिलसँग राम्रो टिम छ । यो पटक कुनै पनि वेला फ्रान्सले कसैलाई पनि झुक्याउन सक्छ ।

अभिनेत्री अश्लेषा ठकुरीलाई पनि विश्वकपले राम्रैसँग छोएको छ । लिगमा खासै मतलब नभए पनि विश्वकपमा भने पहिल्यैदेखि चासो दिने ठकुरी बताउँछिन् । अश्लेषा भन्छिन्– म जर्मनीको पक्षमा छु । जर्मनीको अनुशासित खेल तथा खेलप्रतिको लगाव मलाई विशेष मन पर्छ । उनले आफ्नो फेसबुकको प्रोफाइल र कभर तस्बिरमा समेत जर्मनीको जर्सी लगाएको तस्बिर राखेकी छिन् ।

गायक कृष्ण काफ्लेलाई मन पर्ने खेलमध्ये फुटबल पहिलो नम्बरमा पर्छ । विश्वभरिका देशको प्रतिस्पर्धा हुने विश्वकप हेर्न विशेष समय छुटाएको छु, काफ्ले भन्छन्– यसपटक अर्जेन्टिनालाई समर्थन गर्दै विश्वकप हेर्नेछु ।’ गायक काफ्ले विश्वकप कसले जित्छ भन्ने विषयमा भने कुनै दाबी गर्न गाह्रो हुने बताउँछन् । 

गायक यम बराललाई विश्वकपले छोएको एक महिनाभन्दा बढी भैसकेको छ । सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका बराल एकहप्ता अघि मात्र नेपाल फर्किएका हुन् । अब यो महिना सकेसम्म फुटबल हेरेरै बिताउने योजनाअनुसार नेपाल आएको छु, बराल भन्छन्– फुटबल मलाई सबैभन्दा मन पर्ने खेल हो, विश्वकप छुटाउने त कुरै भएन नि । उनी यसपटक अर्जेन्टिनाले जित्नुपर्छ भन्छन् । कारण ? उनले थपे– यो मलाई मनपर्ने टिम हो, अनि यो मेसीको अन्तिम विश्वकप पनि हो ।

अभिनेता दीपकराज गिरी १९९० देखि अर्जेन्टिनाको समर्थक हुन् । सानैदेखि अर्जेन्टिनाको समर्थक भएकाले उनी अर्जेन्टिनासँग अटुट सम्बन्ध रहेको बताउँछन् । युरोपेली देशले जित्छ विश्वकप, यदि त्यसो भएन भने ब्राजिल वा अर्जेन्टिनाले जित्लान्, गिरीले भने । पहिल्यैदेखि अर्जेन्टिनाको जर्सी सुरक्षित राखेको उनले बताए । विगतमा फेसबुक, टिव्टर, इन्स्टा आदि सामाजिक सञ्जालमा खुलेर आफ्नो टिमको प्रचार गरिन्थ्यो, गिरीले भने– आजभोलि चलचित्रमा अलि बढी व्यस्त छु, त्यसैले एउटाको पक्षमा लेख्दा अर्को टिमका समर्थकको चित्त दुख्छ भनेर मैले यो काम बन्द गरिदिए ।

अभिनेत्री बेनिशा हमाल यसपटकको विश्वकपमा ब्राजिलले जित्नेमा ढुक्क रहेको बताउँछिन् । यसपटक मात्र होइन फुटबल जानेदेखिनै म ब्राजिलको समर्थक हुँ, हमालले भनिन्– सानो छँदा बुवा ब्राजिलको सपोर्टमा हुनुहुन्थ्यो, ममा पनि उहाँको प्रभाव पर्‍यो । अघिल्लो पटकको हार निकै ठूलो थियो ब्राजिलका लागि, बेनिशा भन्छिन्– त्यसले केही पाठ सिकाएको छ, त्यसैले ब्राजिल अहिले थप बलियो भए आएको छ ।

गायक चेतन सापकोटा विश्वकप सुरु हुनुभन्दा दुई महिनाअघिदेखि नै एक्साइटेड भएको बताउँछन् । नयाँबस्ती, जोरपाटीमा ठूलो प्रोजेक्टर राखेर विश्वकप हेर्ने सोच छ, उनले भने । चेतन अर्जेन्टिनाले जित्नमा आशावादी छन् । मेसी, मार्कोस, निकोलस जस्ता उत्कृष्ट खेलाडी भएकाले अर्जेन्टिनाले जित्ने कुरामा उनी ढुक्क छन् ।

अभिनेत्री सञ्चिता लुइँटेल फुटबलमा सानैदेखि क्रेजी भएकाले विश्ककप हेर्न कहिल्यै नछुटाउने बताउँछिन । यसपटकको विश्ककप आफ्नो घरमा नजिकका साथीभाइहरू जम्मा पारेर हेर्ने सोच छ । आई लभ ब्राजिल, लुइँटेलले भन्छिन्– किनभने ब्राजिलको टिमवर्क राम्रो छ, यसपटकको विश्वकप ब्राजिलले नै जित्छ । यसपटक परिवारमा सबैले ब्राजिलको जर्सी लगाएर खेल हेर्ने सञ्चिताले बताइन् । मेरो परिवारमा बुवा अर्जेन्टिनाको फ्यान हुनुहुन्छ, उहाँबाहेक बाँकी सबै ब्राजिलका समर्थक हौं ।

लोक गायक खुमन अधिकारी केही समय अघि मात्र रुस पुगेर आएका छन् । उनी यसपटक ब्राजिलको समर्थनमा छन् । मलाई यो टिम पहिल्यैदेखि मन पर्छ, यसपटक ब्राजिलले नै खेल जित्ने आशा छ । यो टिममा नेयमार र सिल्भा पावरफुल खेलाडी भएकाले मात्र होइन, खेल रणनीतिसमेत राम्रो भएकाले ब्राजिलले जित्ने अधिकारीको दाबी छ ।

 

प्रकाशित :असार ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्