करोडौंको जर्सी बजार

- महेश तिमल्सिना

असार ४, २०७५

 

गौरव भट्टराई काठमाडौं मोडल कलेजका विद्यार्थी हुन् । प्लस टुको परीक्षा दिएर रिजल्टको पर्खाइमा रहेका यी तन्नेरीका लागि केही अघिसम्मका दिनहरू पट्यारलाग्दा थिए । यद्यपि वल्र्डकपको रौनक सुरु भएसँगै उनी त्यसकै रंगमा रंगिन थालेका छन् । गुल्मी स्थायी घर भएका गौरव जर्मनीका डाइहार्ट फ्यान हुन् । त्यसैले वल्र्डकप सुरु हुनु एक हप्ताअघिदेखि नै उनले जर्मनीको जर्सी किनेर आफ्नो टिमलाई चियरअप गर्न थालिसकेको थिए । 

‘जर्मनीको समर्थक हो भन्ने थाहा होस् भनेर मैले जर्सी लगाएको हुँ,’ साप्ताहिकसँगको भेटमा उनले भने, ‘आफूले समर्थन गरेको टिमको जर्सी लगाएर वल्र्डकप हेर्दा आफैँले खेलेजस्तो लाग्दो रहेछ ।’ गौरव त प्रतिनिधि पात्र मात्र हुन्, यतिबेला काठमाडौका अधिकांश युवा तथा प्रौढहरू विश्वकप फुटबलको माहौलमा रमाइरहेका छन् ।

अहिले त काठमाडौंका सडक, चोकहरूमा आफूले समर्थन गरेको टिमको जर्सीमा सजिनेहरू बग्रेल्ती भेटिन्छन् । क्याफे, चोक तथा गल्लीदेखि ठूला डिपार्टमेन्ट स्टोर, मलदेखि काम गर्ने अफिससम्म पनि विश्वकपमा आफूले समर्थन गरेको देशको जर्सीमा सजिनेहरू प्रशस्तै फेला पर्छन् । कतिपयले त फुटबल विश्वकपको सरगर्मीमा अझ रंग थप्ने गरी आफ्नो शरीरमा ट्याटु समेत खोपेर टिमलाई समर्थन गरिरहेका हुन्छन् । 

२१ औं विश्वकपको फोबिया यति चढेको छ कि मानिसहरू सडक चोकहरूमै विजेता, स्टार खेलाडी तथा टिमको प्रदर्शनलाई लिएर बहस गरिरहेका भेटिन्छन् । विश्वकपले सहरबजारमा जर्सीको व्यापार पनि ह्वात्तै बढाएको छ । वल्र्डकपको अवसर पारेर काठमाडौंका कपडा व्यवसायीहरूले मात्र करोडौं रुपैयाँको कारोबार गर्छन् । बानेश्वरको स्पोर्ट्स युनिभर्सका सञ्चालक किशोरकुमार जोशी यस पटकको विश्वकपमा उपत्यकामा मात्र अनुमानित ३ लाख जर्सी बिक्री हुने बताउँछन् । 

व्यवसायीहरूले बेच्ने जर्सीको मिडियम मूल्य ७ सय ५० रुपैयाँ राखेर ३ लाख जर्सीको हिसाब निकाल्ने हो भने २२ करोड ५० लाख बराबरको कारोबार उपत्यकामा मात्र हुने देखिन्छ । अझ पोखरा, धरान, बुटवल, नेपालगन्ज, विराटनगर, धरान, धनगढीजस्ता सहरहरूमा पनि जर्सीको ठूलो बिक्री हुने गरेको छ । 

अहिले राजधानीका फेन्सी पसल तथा स्पोर्ट्स पसल सञ्चालकहरूलाई भ्याइनभ्याइ छ । जावलाखेलस्थित फोर यु सपका सञ्चालक वीरेन्द्र कर्माचार्य आफूले दैनिक ३० वटाभन्दा बढी जर्सी बिक्री गरिरहेको बताउँछन् । कर्माचार्यको पसलमा बालबालिकादेखि वयस्कसम्मका फुटबलप्रेमीहरू जर्सी किन्न आउँछन् । ‘अर्जेन्टिना ब्राजिल तथा जर्मनीको जर्सी बढी बिक्री भैरहेको छ,’ कर्माचार्य भन्छन्, ‘मैले यो वल्र्डकपमा ४ लाख बराबरको जर्सी बेच्ने लक्ष्य लिएको छु ।’

बजारमा फुटबल फ्यानको आवश्यकता, क्षमता तथा प्रकृतिका आधारमा जर्सी उपलब्ध छन् । बजारमा यतिबेला ए, बी र सी ग्रेडका जर्सी खरिद गर्न सकिन्छ । ए र बी ग्रेडका जर्सी सी ग्रेडको तुलनामा महँगा जर्सीमा पर्छन् । ए र बी ग्रेडका जर्सी बिक्री गर्दै आएका कर्माचार्यको पसलमा ९ सय ५० देखि १६ सय रुपैयाँसम्मका जर्सी उपलब्ध छन् भने बालबालिकाका लागि ७ सय ५० सम्ममा जर्सी किन्न सकिन्छ । 

बानेश्वरस्थित स्पोर्ट्स युनिभर्सले एक दिनमा ५० वटासम्म जर्सी बेच्ने गरेको छ । स्पोट्र्स युनिभर्सका सञ्चालक किशोरकुमार जोशीले आफूहरूले अर्जेन्टिना, स्पेन, जापान, जर्मनी, इंग्ल्यान्ड, पोर्चुगल, फ्रान्स आदि देशका जर्सी बिक्रीमा राखेको बताए । ‘यसमध्ये ब्राजिलको जर्सी बढी बिक्री भैरहेको छ,’ जोशीले भने, ‘वयस्कको १ हजार ५० देखि १२ सय ५० रुपैयाँसम्म र बालबालिकाका लागि ८ सय ५० सम्मका जर्सी बिक्रीमा छन् ।’ यसपालिको विश्वकप फुटबलमा ६ हजार पिस जर्सी बिक्री गर्ने लक्ष्य लिएको जोशी बताउँछन् । 

वल्र्डकपका कारण काठमाडौं नै रंगीचंगी देखिन थालेको छ । मल तथा ठूला डिपार्टमेन्ट स्टोरहरूमा विश्वकपका विभिन्न देशका फरक–फरक रंगका जर्सीले झकिझकाउ देखिन्छन् नै, त्यसबाहेक मुख्य भीडभाड हुने राजधानीका क्षेत्रहरू न्युरोड, नयाँ बसपार्क, नयाँ बानेश्वर, गौशाला, कुमारीपाटी, जावलाखेल, कोटेश्वरलगायतका स्थानका पसलहरूमा झुन्डिएका विश्वकपका जर्सी काठमाडौंमा विश्वकपको झझल्को दिन काफी छन् । 

व्यवसायीहरू वल्र्डकपको अवसर छोपेर ब्यापार बढाउने र बढी जर्सी बिक्री गर्ने होडबाजीमा छन् । यस पटकको विश्वकपमा पुरुषको तुलनामा महिलाहरू कमै मात्रामा जर्सी किन्न आएको अनुभव व्यवसायीहरूको छ । स्पोटर््स युनिभर्समा हालसम्म ५० वटा मात्र महिलाको जर्सी बिक्री भएको सञ्चालक जोशीले बताए । जोशी भन्छन्, ‘पुरुषको तुलनामा महिलाहरू थोरै मात्र आउनुहुन्छ, तर विगतको तुलनामा भने यसपालि जर्सी किन्ने महिलाको संख्यामा पनि केही वृद्धि भएको छ ।’ 

वर्षौंदेखि स्पोर्ट्सका सामान बिक्री गर्दै आएको भद्रकाली स्पोर्टस वेयरमा पनि विश्वकप जर्सी किनबेच बढेको छ । यहाँ पनि अर्जेन्टिना ब्राजिल, जर्मनी, पोर्चुगल, स्पेन, फ्रान्स, इङ्गल्याण्ड आदि देशका जर्सी बिक्रीमा छन् । यहाँ ७ सय ७५ देखि ११ सयसम्मका जर्सी बिक्री भैरहेको छ ।

जर्सीको व्यापार रामै भए पनि विगतको तुलनामा यसपालि जर्सीको व्यापार घटेको भद्रकाली स्पोर्ट्सकी सञ्चालिका कृतिका सापकोटा बताउँछिन् । सापकोटा भन्छिन्, ‘विगतमा हामीले दैनिक १ लाख रुपैयाँसम्मको जर्सीको व्यापार गथ्र्यौं, तर अहिले ६० हजार रुपैयाँसम्ममात्र व्यापार भैरहेको छ ।’ सापकोटाले यसपटकको विश्वकपमा १० लाखको हाराहारीमा जर्सीको ब्यापार गर्ने लक्ष्य आफूहरूले राखेको बताइन् । भद्रकाली स्पोर्ट्समा वल्र्डकप जर्सीका साथै किरिङ, झन्डा, टोपी, मेसीको बायोग्राफी आदि बिक्रीमा छ । बजारमा विभिन्न ग्रेडका जर्सी उपलब्ध छन् तर विगतको तुलनामा यसपालि वल्र्डकप जर्सीको गुणस्तर केही खस्किएको तर मूल्य भने बढेको व्यवसायीहरू बताउँछन् । 

त्यसको प्रत्यक्ष असर ब्यापारमा पनि परेको कतिपय व्यापारीको अनुभव छ । कुमारीपाटीस्थित सिन्सियर मार्केट डिपार्टमेन्ट स्टोरमा यो वर्ष विगतका वर्षहरूमा जस्तो जर्सीको व्यापार छैन । सञ्चालक पुष्परत्न शाक्य भन्छन्, ‘गत वर्षको विश्वकपमा दैनिक ७० हजार रुपैयाँको जर्सी बिक्री हुन्थ्यो तर अहिले बिक्री घटेको छ ।’ साना पसलहरूमा पनि दैनिक १० देखि १२ वटासम्म जर्सी बिक्री हुने गरेका छन् ।

कुमारीपाटी, इटीटोलस्थित प्रेसियस फेसन वेयरमा दैनिक १० वटा भन्दा बढी जर्सी बिक्री हुने सञ्चालिका अनुषा पोखरेल बताउँछिन् । उनको पसलमा अर्जेन्टिना ब्राजिल, पोर्चुगल, स्पेन आदि देशका जर्सी बिक्रीमा छन्, जसमध्ये ब्राजिलको जर्सी बढी बिक्री हुन्छ । अनुषाले १ हजारभन्दा कम मूल्यका जर्सी बिक्री गर्दै आएकी छिन् । 

प्रकाशित :असार ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्