विश्वकपको खर्च १४ खर्ब रूपैँया

- साप्ताहिक संवाददाता

असार ४, २०७५

विश्वकप सर्वाधिक व्यक्तिले हेर्ने इभेन्ट मानिन्छ । रूसमा यो वर्ष हुने विश्वकप फुटबलका लागि मात्र करिब १४ खर्ब रुपैयाँ खर्च हुने भएको छ । ८८ वर्षको विश्वकप इतिहासमा यो सबैभन्दा बढी खर्च हो । रूसले यातायात, स्वास्थ्य एवं सुरक्षामा ७ खर्ब ३५ अर्ब तथा स्टेडियम, होटल र अन्य शीर्षकमा करिब ६ खर्ब ६५ अर्ब रुपैयाँ खर्च गरेको छ । 

बत्यसबाहेक अन्य धेरै खर्च फरक शीर्षकमा छन् । विज्ञापन र फेसनमा करिब ४ खर्ब ८० अर्ब रुपैयाँ खर्च भएको छ । ४ खर्ब यससँग जोडिएका विज्ञापनमा खर्च गरिनेछ भने ८० अर्ब रुपैयाँ स्पोर्ट्स वेयर, इक्विपमेन्ट तथा फेसनमा खर्च हुनेछ । विश्वका २ सय ११ देशमा देखाइने सबै विज्ञापन खर्च यसमै समेटिएको छ । 

विश्वकपको समयमा पर्यटन, ड्रिक्स तथा फुडमा ४ खर्ब रुपैयाँ खर्च हुनेछ । विश्वकपसँग सम्बन्धित पर्यटन क्षेत्रका लागि ३ खर्ब २० अर्ब तथा ड्रिंक्स एवं फुडमा ८० अर्ब रुपैयाँ खर्च हुनेछ । रूसमा हुने विश्वकपको आधिकारिक बजेट करिब २१ खर्ब रुपैयाँ मात्र थियो । उक्त बजेट खास गरी स्टेडियमका लागि मात्र निर्धारण गरिएको थियो । यद्यपि रूसले गर्ने यातायात, सुरक्षा, स्वास्थ्य र अन्य खर्च जोडेर उक्त खर्च करिब १४ खर्ब रुपैयाँ पुगेको हो । 

विश्वकपका लागि २४ लाख टिकट बिक्री गरिएको छ । तीमध्ये १५ लाख टिकट विदेशीले लिएका छन् । रूसी नागरिकले भने ८ लाख ७२ हजार टिकट खरिद गरेका छन् । अमेरिकीहरूले ८८ हजार टिकट किनेका छन् । यद्यपि अमेरिका विश्वकपमा सहभागी छैन । त्यसैगरी ब्राजिलियनहरूले ७२ हजार टिकट किनेका छन् । विश्वकप खेल्ने देशमध्ये रूसपछि ब्राजिलका नागरिकले बढी टिकट खरिद गरेका छन् । सबैभन्दा धेरै टिकट खरिद गर्नेमध्ये पहिलो नम्बरमा अमेरिकी, दोस्रोमा चाइनिज तथा तेस्रोमा भारतीय छन् । 

विश्वकपका कारण रूसको आर्थिक अवस्था थप मजबुत हुनेछ । यसका कारण २ लाख २२ हजारले रोजगारी पाउनेछन् । अप्रिलदेखि सेप्टेम्बरको बीच रूसको आर्थिक अवस्था शून्य दशमलव २ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । त्यसैगरी विश्वकप हेर्न आउने १५ लाख भन्दा बढी दर्शकका कारण रूसको पर्यटनमा ४ सय प्रतिशतले वृद्धि हुनेछ । 

विश्वकपमा भाग लिने टिमका लागि तयार पारिएको किट बंगलादेशमा निर्माण गरिएको हो । बंगलादेशले त्यसमा करिब ११ अर्ब ८० करोड रुपैयाँको झन्डा तथा स्पोर्ट्सवेयर उपलब्ध गराएको छ । यसमा खेलाडी, फ्यान तथा देशका लागि जर्सी समेत समावेश छ । बंगलादेशमा एडिडास, प्युमा, नाइकी, जी–स्टार, एचएन्डएस तथा माक्र्स एन्ड स्पेन्सर जस्ता इन्टरनेसनल ब्रान्डले स्पोर्ट्स वेयर निर्माण गर्छन् ।

प्रकाशित :असार ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्