नेपाली फुटबल विश्लेषकको भविष्यवाणी

- साप्ताहिक संवाददाता

असार ४, २०७५

 

रसियामा जारी विश्व फुटबलको २१ औं संस्करणमा संसारभरका फुटबलप्रेमीहरूको ध्यान केन्द्रित भएको छ । फुटबलको महाकुम्भ, त्यसमा सहभागी ३२ टिमले गर्ने प्रदर्शन, विश्वका ठूला स्टारहरूको परफन्मेन्स आदिलाई लिएर यतिबेला विश्वभर नै चर्चा र बहस चलिरहेको छ । साप्ताहिकले फुटबलसँग जोडिएका केही प्रशिक्षक, खेलाडी तथा विज्ञहरूलाई सन्तुलित टिम, चम्कन सक्ने सम्भावित खेलाडीलगायत विविध प्रश्नमा केन्द्रित रहेर उनीहरूका धारणा बुझ्ने प्रयास गरेको थियो । 

श्रीराम रञ्जितकार

फिफा रेफ्री 

सधैंजस्तो यस पटक पनि म घरमै एक्लै बसेर फुटबल हेर्छु । आफैं रेफ्री भएकाले रेफ्रीलाई विशेष ध्यान दिएर हेर्छु । रेफ्रीमा भिडियो एसिस्टेन्ट रेफ्री (भीआर)को नयाँ कन्सेप्ट आएको छ, यस विषयमा पनि जान्नु छ । ‘भिडियो एसिस्टेन्ट रेफ्री’को प्रयोग गर्न लागिएकाले यो विश्वकप मेरा लागि थप रुचिकर हुनेछ । विश्वकपको नकआउट चरणमा चौथो सब्सिच्युट गर्न पाइने व्यवस्था पनि लागू हुँदैछ । अहिलेसम्म तीन जना खेलाडी फेर्न पाइन्थ्यो, अब ९० मिनेटको खेल पूरा भैसकेपछि थपिएको ३० मिनेटमा चौथो खेलाडी फेर्न पाउने नियम बनाइएको छ । 

मेरो पहिलो समर्थन सधैं ब्राजिललाई हुन्छ । दोस्रो जर्मनी र तेस्रो इटली हो । इटाली क्वालिफाइड नभएकाले मैले स्पेनलाई तेस्रो रोजाइमा राखेको छु । यस पटकका बलिया टिम अर्जेन्टिना र फ्रान्स पनि हुन् । यसपटक फ्रान्स, जर्मनी, ब्राजिल, अर्जेन्टिना, स्पेन, बेल्जियम आदि टिम बलिया छन् । जापान, कोरिया र इरानजस्ता देशले क्वाटरफाइनलसम्म बढी भए सेमिफाइनलसम्मको लक्ष्य बनाएका छन् । 

मिडफिल्ड फ्रान्सको राम्रो छ । फ्रान्ससँग धेरै स्टार खेलाडी छन् । स्ट्राइकमा चम्किने कुरा भाग्यको कुरा पनि हो । सामान्यत: रोनाल्डो, मेसी, क्रिग म्यान, कोष्टा, नेयमारहरू नै चम्किएलान् । इंग्ल्यान्डका हेरी केन पनि छन् । नयाँ अनुहार अर्जेन्टिनाका पाउलो डेवाला छन् । एकल प्रदर्शनका बलमा टिमलाई विश्वकपसम्म पुर्‍याउने इजिप्टका सलाह पनि राम्रा खेलाडी हुन् । 

सञ्जीव शिल्पकार

खेल समीक्षक एवं महासचिव थ्रीस्टार क्लब 

म डिस होम एक्सन स्पोर्टसँग आबद्ध भएर विश्वकपभरि यसको कमेन्ट्री गर्दैछु । यसपालि पहिलो पटक विश्वकप फुटबलको कमेन्ट्री नेपालीमा हुँदैछ । त्यसकारण मैले विश्वकपलाई अत्यन्तै ध्यान दिएर हेर्नुपर्नेछ । यस पटकको विश्वकपमा चारवटा टिम सन्तुलित छन् । ब्राजिल र फ्रान्स सन्तुलित देखिन्छन् । स्पेन पनि सन्तुलित नै छ । जर्मनी र स्पेनको गोलपोस्ट अरूको तुलनामा निकै मजबुत छ । कोस्टारिकाको गोलपोस्टलाई पनि बलियो नै मान्नुपर्छ ।

डिफेन्समा ब्राजिल बलियो छ । मिडफिल्डमा स्पेन तथा जर्मनी बलिया टिम हुन् । स्टाइकिङमा सबैभन्दा राम्रो अर्जेन्टिना नै हो । मेसी एकजना मात्र होइन सर्जियो एगुइरो, गोन्जालो हिनगुइनजस्ता वेष्ट स्टाइकर त्यहाँ छन् । जस्तो ब्राजिलले नेयमार, पोर्चुगलले रोनाल्डोमा पूर्ण भर पर्नुपर्छ तर अर्जेन्टिनासँग वल्र्डका राम्रा क्लबबाट खेल्ने स्ट्राइकिङ क्षमता भएका खेलाडीहरू छन् । 

नयाँ खेलाडीहरूको पनि उत्तिकै सम्भावना छ । इजिप्टका सलाहको राम्रो सम्भावना थियो तर उनी घाइते भएकाले फुल फर्ममा खेल्न सक्ने कुरामा आशंका छ । ब्राजिलका ग्राबियल जेसस पनि चम्किने सम्भावना भएका नयाँ खेलाडी हुन् । एसियन टिमहरूले खासै अनपेक्षित नतिजा ल्याउलान् जस्तो लाग्दैन । अफ्रिकन टिमहरू इजिप्ट तथा नाइजेरियाले अनपेक्षित खेल देखाउन सक्छन् । 

न्युट्रलमा बसेर कमेन्ट्री गर्नुपर्ने भएकाले मैले यस पटक कुनै पनि देशलाई समर्थन गरेको छैन् । एसियाका टिमहरूले राम्रो गरून् भन्ने सहानूभूतिचाहिँ छ । म यस पटक डाइहार्ट फ्यान भएर कसैको पनि समर्थन गर्दिनँ ।

उपेन्द्रमान सिंह

प्रशिक्षक, पूर्व कप्तान, राष्ट्रिय फुटबल टिम 

मैले घरमै परिवार तथा साथीभाइहरूसँग बसेर विश्वकपको आनन्द लिने योजना बनाएको छु । यस पटकको विश्वकपको सबैभन्दा राम्रो र सन्तुलित टिम जर्मनी हो । डिफेन्डिङ च्याम्पियन जर्मनीको टिम सन्तुलित छ । जर्मनीले सधै टिम गेम खेल्छ, यो नै उसको सबैभन्दा बलियो पक्ष हो । 

यसपालि फ्रान्सको युवा टिम पनि राम्रो छ, इंग्ल्यान्डले पनि राम्रो फुटबल देखाउन सक्छ । जे–जस्तो भए पनि विश्वकप फुटबलमा इतिहास बोकेका देशहरू ब्राजिल, अर्जेन्टिना, स्पेन, जर्मनीमध्येबाटै कसैले विश्वकप लानेछन् । 

मिडफिल्ड र डिफेन्स जर्मनीकै राम्रो छ, मिडफिल्ड ब्राजिलको पनि कम छैन । स्ट्राइकिङमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनल मेसी, जर्मनीका मुलरले राम्रो खेल देखाउने अपेक्षा गर्न सकिन्छ । विश्वकपमा नयाँ प्रतिभाहरू आउने सम्भावना पनि उत्तिकै छ । अघिल्लो विश्वकपमा कोलम्बियाका रोडिग्वेज चम्किए । यो वल्र्डकपले पनि केही नयाँ खेलाडी जन्माउनेछ ।

हरि खड्का

पूर्व कप्तान तथा प्रशिक्षक 

मैले विश्वकपमा समर्थन गर्ने जर्मनीलाई हो । टिमहरू त सबै उत्तिकै बलिया छन् । २ सय ९ वटा देशबाट विश्वकपका लागि ३२ वटा राष्ट्र छानिन्छन्, त्यसैले कमजोर टिम विश्वकपमा पुग्दै पुग्दैनन् । यस पटकको विश्वकपमा जर्मनी, फ्रान्स, ब्राजिल, अर्जेन्टिना, बेल्जियम आदि टिम नै सन्तुलित र तुलनात्मक रूपमा बलिया देखिन्छन् । जर्मनी त डिफेन्डिङ च्याम्पियन नै भैहाल्यो, तर अहिले नै यसैले जित्छ भनेर ठोकुवा गर्न सकिँदैन, लिग चरणका गेमहरू सकिएपछि विश्लेषण गर्न सजिलो हुन्छ । 

यस पटक फ्रान्सको युवा तथा इन्र्जेटिक टिमले अनपेक्षित नतिजा ल्याउन सक्छ । बेल्जियम पनि राम्रो नतिजा ल्याउन सक्षम छ । डिफेन्समा जर्मनी राम्रो छ, जर्मनी समग्रमै सन्तुलित टिम हो । अट्याकिङमा अर्जेन्टिना र ब्राजिलका खेलाडीहरू राम्रा छन् । फ्रान्सको युवा टिमलाई पनि कम आक्न मिल्दैन । स्ट्राइकिङमा सबैभन्दा बढी चम्किने मेस्सी नै हुन् । त्यसपछि जर्मनीका मुलर पनि छन् ।

 

विराज महर्जन

कप्तान, राष्ट्रिय फुटबल टिम

विश्वकप हाम्रा लागि ठूलो र रमाइलो चाडजस्तै हो । मैले साथीभाइहरूसँग रमाइलो गर्दै फुटबल हेर्ने योजना बनाएको छु ।  केही साथीहरूले अहिले नै निम्तो गरिसक्नुभएको छ । हामीलाई यस पटकको विश्वकप समयका हिसाबले पनि राम्रो छ, राति निद्रा मारेर बस्नुपर्ने अवस्था छैन । 

यसपटकको विश्वकपमा सबै टिम उत्तिकै सन्तुलित देखिन्छन् । केही नयाँ टिमले पनि राम्रो प्रदर्शन गर्न सक्छन् । जर्मनी, स्पेन, पोर्चुगल, इंग्ल्यान्डजस्ता देशका टिम बढी सन्तुलित छन् । अर्जेन्टिना तथा ब्राजिल पनि बलिया छन् । पेरुले पनि बेला–बेलामा धक्का दिन्छ, कोलम्बियाले पनि राम्रो खेल देखाइरहेको हुन्छ । 

म सधैं ब्राजिलको समर्थक हुँ । ब्राजिलसँग अहिले योङ एण्ड कम्प्याट टिम छ । मलाई लाग्छ, ब्राजिल यो विश्वकपकै ‘वान अफ द बेस्ट टिम’ हो । केहीले विश्वकपमा अनपेक्षित नतिजा समेत ल्याउन सक्छन् । ब्राजिल पनि अनपेक्षित नतिजा ल्याउने टिममा पर्न सक्छ । उसले सबै पोजिसनमा राम्रा–राम्रा खेलाडी उतार्दैछ । डिफेन्समा जर्मनी पनि निकै राम्रो छ, अट्याकिङमा अर्जेन्टिना र मिडफिल्डमा स्पेन राम्रो छ । हरेक टिमको एउटा न एउटा विशेषता छ, तर तीनवटै पोजिसनमा ब्राजिल नै सशक्त देखिन्छ ।

फुटबलमा खेलाडी चम्किने कुरा यसै भन्न सकिँदैन, जसको दिन राम्रो छ, उही चम्किने हो । विश्वकपमा जुन बेला जो पनि चम्कन सक्छ । यसपटकको वल्र्डकपमा धेरैको आँखामा नपरेको नयाँ प्लेयर चम्किन्छ जस्तो लाग्छ मलाई ।

प्रकाशित :असार ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्