Teej banner

नेपालले विश्वकप खेल्न पाउने सम्भावना प्रशस्तै छ

- जनक तिमिल्सिना, महेश तिमल्सिना

असार ४, २०७५

४१ वर्षदेखि निरन्तर नेपाली फुटबलमा क्रियाशील छन्– राजुकाजी शाक्य । धरानमा जन्मिएका शाक्य अहिले फुटबल प्रशिक्षकका रूपमा क्रियाशील छन् । उनी नेपाली राष्ट्रिय टिमबाट तीन फरक भूमिकामा स्वर्ण पदक जित्ने भाग्यमानी हुन् । सन् १९९४ मा भएको सागको पहिलो संस्करणमा नेपालले स्वर्ण पदक जित्दा उनी खेलाडी थिए, सन् १९९३ मा उनकै कप्तानीमा नेपालले सागमा स्वर्ण पदक जित्यो भने २०७२ मा उनकै प्रशिक्षणमा नेपालको यु–२३ ले २३ वर्षपछि भारतलाई उसकै भूमिमा हराएर दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक जित्यो । शाक्यसँग फुटबल विश्वकपको सरगर्मी, चम्किन सक्ने सम्भावित खेलाडी आदि केन्द्रित रहेर साप्ताहिकका जनक तिमिल्सिना तथा महेश तिमल्सिनाले गरेको कुराकानी :

विश्वकप–२०१८ लाई कसरी हेरिरहनुभएको छ ? 

म पहिला विश्वकपलाई फुटबल खेलाडीका रुपमा हेर्थे, अहिले कोचका रूपमा हेरिरहेको छु ।  प्रशिक्षकका हिसाबले सबै टिमको खेल हेर्छु, केही कुरा देखिन्छ, केही सिकिन्छ भन्ने रूपमा लिन्छु । नयाँ सिकेका कुरालाई प्रयोग पनि गर्छु । 

 

भैरहेको विश्वकपको सबैभन्दा सन्तुलित टिम कुन लाग्छ ? 

विश्वकपमा ७/८ वटा देश मुख्य छन्, जसले विश्व फुटबललाई नै डोमिनेट गर्दै आएका छन् । अहिले सम्मको इतिहास हेर्ने हो भने ब्राजिल, जर्मनी, अर्जेन्टिना, इटाली, फ्रान्स तथा स्पेनकै वरिपरि यो विश्वकप पनि घुम्नेछ, भलै यस पटकको विश्वकपमा इटाली छैन । अहिले पनि मलाई यिनै टिममाथि विश्वास छ ।

 

अहिलेको विश्वकपमा सबैभन्दा राम्रो टिम कुन हो ?

मलाई पहिलेदेखि नै मन पर्ने टिम ब्राजिल हो । म सबैभन्दा बलियो पनि ब्राजिललाई नै देख्छु, त्यसपछि जर्मनी पनि बलियै छ । यो विश्वकपमा जर्मनी, ब्राजिल, अर्जेन्टिना र फ्रान्स नै बलिया छन् ।

प्रविधि र क्षमताका हिसाबले कसलाई बलियो मान्नुहुन्छ ? 

मचाहिँ ब्राजिललाई मान्छु । किन–किन मलाई ब्राजिलको शैली साह्रै मन पर्छ । जहाँ गएर खेले पनि ब्राजिलका खेलाडीहरू प्रविधिमा आधारित र क्षमतावान् देखिन्छन् ।

सोसल मिडियामा त मेसी र रोनाल्डोका नेपाली फ्यानहरूबीच वाकयुद्ध नै छेडिन्छ नि ? 

फुटबलको क्रेज भनेकै त्यही हो । काठमाडौंमा पनि सुनिन्थ्यो एनआरटी कि आरसीटी भन्ने भारतमा मोहन बगान र इस्ट बंगालबीच त्यस्तो हुँदो रहेछ । रियल मड्रिड र बार्सिलोनाले गर्दा पनि त्यस्तो भएको हुनसक्छ । उनीहरूबीच प्रतिष्ठाको लडाइँ नै चल्छ । रोनाल्डोका फ्यानहरू पनि क्बलबाट खेलोस् वा जहाँबाट खेलोस् रोनाल्डोले जितोस मेसी चाहि खत्तम होस् भन्ने अनि मेसीका फ्यानहरू जताबाट पनि मेसीले नै जितोस रोनाल्डो खतम होस् भन्ने । 

विश्वकपमा चम्किने सम्भावित खेलाडी को–को हुन सक्छन् ? 

सबै खेलाडीको नाम मैले याद गरेको छैन् । म खेलाडीभन्दा पनि उनीहरूले कसरी खेल्छन् भन्ने कुरामा बढी ध्यान दिन्छु, गोलकिपरको मुभमेण्ट के छ, डिफेन्सहरू कसरी बस्छन् भनेर हेर्छु । व्यक्तिगत खेलाडीतर्फ त्यति जाँदिनँ । धेरै देशका खेलाडी युवा छन्, जस्तै जर्मनी, फ्रान्स, बेल्जियम, ब्राजिल आदि देशलाई युवा खेलाडीहरूले प्रतिनिधित्व गर्दैछन् । यस्तो स्थितिमा ठ्याक्कै यो नै चम्किन सक्छ भन्न सकिँदैन । 

तीन सुपरस्टार लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र नेयमार मैदानमा उत्रँदैछन् । यी तीनमध्ये कसले प्रभावशाली प्रदर्शन गर्ने देख्नुहुन्छ ? 

मलाई मेसीले नै प्रभावशाली प्रदर्शन गर्लान्जस्तो लाग्छ । व्यक्तिगत खेल हेर्ने हो भने मेसी नै अग्रपंक्तिमा देखिन्छन् । नेयमार चोटसँग जुधिरहेकाले अहिले नै केही भन्न सकिने अवस्था छैन । रोनाल्डोमा स्कोरिङ खुबी छ, तर जति मैदानमा मेसीको प्रभुत्व रहन्छ त्यति रोनाल्डोको प्रभुत्व देखिँदैन । स्कोरिङ लाइनमा रोनाल्डोको प्रदर्शन राम्रो छ, तर व्यक्तिगत रूपमा हेर्ने हो भने मलाई रोनाल्डोभन्दा मेसीको खेल मन पर्छ । रोनाल्डो पनि मन पर्छन् तर म्यानयुलमा खेल्दा जुन प्रभाव रोनाल्डोले हामीमाथि पारेका थिए रियल म्याड्रिडमा आएपछि मैले त्यो देखिन । अलिकति उभिएर खेल्दिने, धेरै मेहनत नगर्ने, धेरै न दौडिने देखिन्छ । उनी स्ट्राइक जोनमा भने पुगिरहेका हुन्छन् । रोनाल्डोको एड्भान्टेज के छ भने उनको सुटिङ र हेडिङ राम्रो छ, त्यसैले उनी स्कोर पनि गरिरन्छन् । मेसीको खुबी चाहिँ चौतर्फी छ । 

डिफेन्सका हिसाबले कुन टिमलाई बलियो मान्नुहुन्छ ?

अहिलेसम्म डिफेन्समा इटली नै राम्रो छ । यद्यपि यसपालिको विश्वकपमा इटली छैन । सन् १९८२ देखि नै उनीहरूको डिफेन्स एकदमै राम्रो छ । नेपाली टिमलाई सिकाउने बेला म युट्युबमा इटलीकै डिफेन्स हेर्छु । मैले त्यसैलाई फलो गरिरहेको छु । अहिलेका टिममध्ये जर्मनीको पनि डिफेन्स राम्रो छ । वास्तवमा भन्ने हो भने अहिलेको फुटबलमा डिफेन्सभन्दा पनि एट्याक्ट नै धेरै देखिन्छ । किनभने डिफेन्समात्र बलियो भएर भएन गोल पनि हान्नुपर्‍यो । ब्राजिल पाँच पटकसम्म च्याम्पियन हुनुको कारण उनीहरूको एट्याकिङ स्किल नै हो । 

यस पटकको विश्वकपको विशेष पक्ष के देख्नुहुन्छ ? 

हुन सक्छ कुनै नयाँ देशले चमत्कारिक प्रदर्शन गर्नेछ । किनभने, फुटबलमा धेरै परिवर्तन आइसकेको छ । अहिले बेल्जियम राम्रो देखिएको छ, एसियन क्षेत्रका केही देशले समेत राम्रो प्रदर्शन गर्न सक्छन् । मिडियाका विश्लेषणहरू हेर्ने हो भने इरानलगायतका देशको दोस्रो चरणमा प्रवेशको सम्भावनालाई पनि नकार्न सकिँदैन । यस्तै र यही नै विशेष पक्ष हुन सक्छ भनेर ठोकुवा गर्न भने गार्‍हो छ । 

नेपाल फुटबल निकै रुचाइने देश हो । यसका पछाडिको मुख्य कारण के होला ? 

फुटबल सारा संसारभर नै रुचाइन्छ । किनभने यो खेल नै त्यस्तै खालको छ, जसले पनि बुझ्ने, सरल खेल, जसले पनि जहाँ पनि खेल्न सक्ने भएकाले पनि यो बढी लोकप्रिय भएको हो । नेपालमा फुटबलको क्रेज सन् १९८२/८६ देखि नै बढेको हो । धरानमा त्यतिबेला ब्रिटिस क्याम्प थियो, त्यहाँ हामी मामा र दाइहरूको पछि लागेर फुटबल खेल्थ्यौं । त्यतिबेला केही पत्रिकामा हामीले ब्राजिल र पेले आदिका सम्बन्धमा केही पढ्न पायौं । त्यसकारण पछि ब्राजिलको समर्थक भइयो । सन् १९८२ मा चीनमा विश्वकप हेर्ने अवसर पायौं जसमा हामी म्याराडोनाबाट निकै प्रभावित भयौं । १९८६ मा म्याराडोनाका कारण फुटबलको क्रेज थप बढ्यो, परिणाम स्वरूप अहिले नेपालमा अर्जेन्टिनाका प्रशंसक पनि प्रसस्तै छन् । इंग्ल्यान्डका समर्थकहरू पनि नेपालमा छन् । 

नेपालले विश्वकपको यात्रा तय गर्न के गर्नुपर्छ ? 

यही तालले हो भने त भन्न सकिँदैन । हामीसँग मैदान नै छैन, त्यो वातावरण नै छैन । केही देशमा सबै वातावरण हुँदा त विश्वकपमा पुग्न सकेका छैनन्, केहीले फुटबलको पूर्ण वातावरण हुँदा पनि जित्न सकेका छैनन् । इंग्ल्यान्डजस्तो सन् १९६६ को विश्वकप जितेको टिमको, त्यसपछि त कुनै रेकर्ड केही छैन । इंग्लिस प्रिमियर लिग यस्तो प्रतियोगिता हो जसलाई सारा संसारले मन पराउँछ । त्यसकारण हामीलाई सजिलो छैन, तर टार्गेट गरेर राम्रो वातावरण (खेलाडीदेखि फुटबलका सबैलाई) दिने हो भने कम्तीमा २० वर्षको लक्ष्य निर्धारण गरौं अहिले नै । २० वर्षपछि हामी विश्वकपमा क्वालिफाई हुन्छौं भनेर लगानी गरौं । त्यो टार्गेट मिट भयो भने ठीकै छ, नत्र अलग तरिकाले सोचौला । 

नेपालको फुटबलमा कस्तो किसिमको परिवर्तन आवश्यक छ ? 

अहिलेको अवस्थामा नेपालको फुटबलमा संरचनागत परिवर्तन जरुरी भैसकेको छ । भारतले पनि यति वर्षमा हामी विश्वकप खेल्छौं भनेर तयारी गरिरहेको छ, चीनले पनि त्यस्तै योजनामा छ । त्यसकारण हामीले पनि नसक्ने होइन्, तर त्योअनुसार सुविधा हामीलाई पनि हुनुपर्‍यो । अहिले कस्तो बिडम्बनापूर्ण अवस्था छ भने एउटा रंगशाला समेत छैन । लिग भएन भनेर एन्फालाई दोष दिइन्छ तर रंगशाला छैन । एउटा पुस्ताका खेलाडी लिएर म ट्रेनिङ गराउँछु, नेपालका लागि राम्रो प्लेयर निकाल्छु भन्ने मेरो ठूलो चाहना छ, यो कुरा मैले बोलेको पनि ३/४ वर्ष भैसक्यो । त्यसैका लागि साथीभाइसँग मिलेर फुटबल मैदान खोलें, खर्च गरेर घाँस लगाए, त्यो बिग्रियो । अहिले मैले च्यासलमा खोलेको मैदान राम्रो छ, तर त्यो सानो मैदानबाट मैले कति जना खेलाडी निकाल्न सक्छु र ? हामीले अन्डर–१२ देखि नै प्रशिक्षकहरू राखेर २० वर्षको लक्ष्य लिएर अघि बढ्नुपर्छ । यसरी अघि बढ्ने हो भने नेपालले विश्वकप खेल्न पाउने सम्भावना प्रसस्तै छ । 

अहिलेको परिस्थितिका लागि एन्फा वा सरकार को उदासीनता देख्नुहुन्छ ? 

म त सरकारलाई नै बढी उदासीन देख्छु । सरकार बलियो भयो भने एन्फा भनेको के नै हो र ? सरकारअन्तर्गत भएको संस्थालाई सरकारले जस्तोसुकै कदम चालेर पनि सक्रिय बनाउन सक्छ, तर सरकारले बोल्ने भन्दा पनि काम गरेर देखाउनुपर्छ । अब सातवटै प्रदेशमा रंगशाला बनाउने कुरा आएको छ यो एकदमै सकारात्मक पक्ष हो तैपनि भएका रंगशालालाई राम्रो बनाए अझ राम्रो हुन्छ । जस्तै पोखरा, वीरगन्ज, विराटनगरका रंगशालालाई अझ व्यवस्थित बनाउने हो भने कम खर्चमै बढी परिणाम प्राप्त हुन्छ । यसरी देशमा राम्रो वातावरण बन्यो भने खेलाडी त जति पनि निकाल्न सकिन्छ । 

नीति–निर्माण तहमा बस्नेहरूले विश्वकपको सपना नै देख्दैनन् ? 

जो आए पनि सपना त देख्लान्, तर त्यसको कार्यान्वयन पनि हुनुपर्‍यो नि । कोही कसैले राम्रो काम गर्‍यो भने त्यो माथि जान्छ, त्यसलाई रोक्नुपर्छ भन्ने भावना मनमा राख्यो भने त कहिल्यै कोही सफल हुँदैन । त्यसैले सबै सकारात्मक हुुनुपर्छ । 

नेपाली फुटबलको हिजो र आजको अवस्थामा के परिवर्तन पाउनुभयो ? 

धेरै फरक छ । हाम्रो पालामा हामीले भविष्यका बारेमा केही पनि सोचेनौं । हामी खेलमा मात्र केन्द्रित भयौं । अहिले खेलाडीहरू पनि प्रोफेसनल भएका छन् । क्लबहरूले पनि दु:ख सुख खेलाडीहरूलाई पैसा दिएका छन् । जसले गर्दा पैसाको अभावले खेलाडीहरू विदेश जानुपर्ने अवस्था छैन । अहिले एउटा खेलाडीले मासिक ७०/८० हजार रुपैयाँ पाइरहेको छ । एन्फाले पनि १०/१५ हजार रुपैयाँ तलब दिइरहेको छ । खेल जितेका बेला नगद पनि दिइरहेकै छ । कतिपय खेलाडीले गाडी घर पाइरहेका छन् । यद्यपि यही नै पर्याप्त भने होइन, तर सकारात्मक दिशातर्फ गैरहेको छ । यसलाई हामीले बढाउँदै लानुपर्छ । 

तीनवटा स्वर्ण जितेको अनुभव पनि तपाईंसँग छ नि ? 

मैले धरानमा फुटबल खेल्दा ए डिभिजनमा खेल्ने दाइहरूसँग खेल्न पाइनँ । ममा पनि माथि खेल्न पाए हुन्थ्यो भन्ने इच्छा थियो । अर्को मलाई राष्ट्रिय टिममा छिर्ने इच्छा थियो, मैले मेहनत गरेँ, मेहनतअनुसार राष्ट्रिय टिममा पनि परेँ । राष्ट्रिय टिममा खेल्दै जाँदा क्याप्टेन बन्ने रहर जाग्यो त्यो पनि भगवान्ले पुर्‍याइदिनुभयो । यसै क्रममा सन् १९८४ मा देशले स्वर्ण पदक जित्यो । यस्तै सन् १९९३ मा मेरै नेतृत्वमा हामीले स्वर्ण पदक जित्यौं । हामीलाई सधैं हेप्दै आएको भारतलाई १९९३ मा हामीले जित्यौं तर भारतलाई उसकै मैदानमा जित्ने मेरो ठूलो इच्छा थियो । त्यसबीच उमेरका कारण मैले सक्रिय खेल जीवनबाट अवकाश लिएँ, त्यसपछि मैले प्रशिक्षणमा धेरै मेहनत गरेपछि १२ औं सागमा टिमलाई ह्याण्डलिङ गर्न पाएँ । त्यहिबेला हामी भारतलाई उसकै मैदानमा हराउन सफल भयौं । त्यसैले एउटा लक्ष्य राखेर अघि बढियो भने सफल भइने रहेछ भन्ने देखियो ।

प्रकाशित :असार ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्