जर्मनीलाई उपाधि रक्षाको चुनौती
असार ३, २०७५
विश्वकप फुटबलमा समृद्ध इतिहास भएको देश हो— जर्मनी । ब्राजिलपछि सबैभन्दा बढी उपाधि जित्ने सफल टिम हो— जर्मनी । यसमध्ये जर्मनीले चार वर्षअघि ब्राजिलमै भएको विश्वकपको समेत जितेको थियो र त्यसक्रममा ब्राजिललाई सेमिफाइनलमा इतिहासकै खराब हारको स्वाद चखाएको थियो । यस्तोमा जर्मनी यसपटक डिफेन्डिङ च्याम्पियनका रूपमा प्रस्तुत हुँदैछ र उसमाथि चुनौती हुनेछ, उपाधि रक्षाको ।
जर्मनीको प्रदर्शन यसपटक कस्तो हुनेछ ? जर्मनी समूह ‘एफ’ मा छ र उसका अरू प्रतिद्वन्द्वी हुन्— मेक्सिको, स्वीडेन र दक्षिण कोरिया । प्रशिक्षक जोचिम लोको नेतृत्वमा जर्मन टिम लयमा छ र उसले सजिलै नकआउट चरणमा प्रवेश गर्नेछ, यसमा शंका नलिए हुन्छ । जर्मन टिमको वास्तविक परीक्षा दोस्रो चरणबाट नै सुरु हुनेछ । युरोपेली छनौट चरणमा पनि जर्मनीको प्रदर्शन उत्कृष्ट नै थियो ।
जर्मनीले छनौटका १० खेलमध्ये सबैमा जित निकालेको थियो र त्यस क्रममा कीर्तिमान ४३ गोल पनि गरेको थियो । टिमको प्रदर्शन धेरै हदसम्म प्रशिक्षक लोमा निर्भर हुनेछ, किनभने उनी टिममाथि निकै हाबी देखिन्छन् । लोको नेतृत्वमा जर्मनीले जति पनि ठूला प्रतियोगिता खेलेको छ, सबैमा राम्रो गरेको छ । जर्मनी कम्तीमा सेमिफाइनलसम्म पुगेको छ । जस्तो सन् २००८ को युरोमा जर्मनी उप–विजेता रह्यो । सन् २०१४ को विश्वकप जितेयता जर्मनीले रूसमै एक वर्षअघि भएको कन्फेडेरेसन कप समेत जितेको थियो ।
त्यति बेला नै देखिएको थियो, जर्मन फुटबल वास्तवकै कति बलियो छ भन्ने कुरा । त्यति बेला जर्मनीले लगभग सबै दोस्रो रोजाईका खेलाडी उतारेको थियो, तैपनि सजिलै उपाधि जित्यो । लोलाई प्रशिक्षक नियुक्त गरेयता जर्मनीले लगभग सबै खेलमा ४–२–३–१ शैलीमा खेल्दै आएको छ । यसको अर्थ जर्मनीले अहिले आक्रामक फुटबल खेल्दै आएको छ । यो शैलीको सबैभन्दा ठूलो विशेषता हो, गोलरक्षकले ‘स्विपर’ को काम गर्ने ।
यसमा गोलरक्षकले चार जना डिफेन्डरलाई आक्रामक हुँदै जोखिम उठाउन प्रेरित गर्ने पाँचौं डिफेन्डरको काम गर्छ । जर्मन टिमको सफलताको मुख्य कारण पनि यही हो । यसपटक पनि जर्मनीले रूसमा यसरी नै खेल्ने अनुमान गरिन्छ । लो एक दशकदेखि जर्मन टिमसँग कुनै न कुनै रूपमा आबद्ध छन् र उनी टिमका प्रत्येक पक्षसँग जानकार छन् । यो पनि जर्मन टिमको अर्को बलियो पक्ष हो । टिममा खट्किने एउटै पक्ष के हुन सक्छ भने चार वर्षअघिका कप्तान फिलिप ल्हाम यसपटक टिममा छैनन, उनले संन्यास लिइसकेका छन् ।
ल्हामको अनुपस्थितिमा पनि टिममा उत्कृष्ट खेलाडीको कमी छैन, जस्तो थोमस मुलर र जुनियन ड्राक्सलर, तैपनि टिमको मुख्य खेलाडी हुनेछन्, २८ वर्षीय मिडफिल्डर टोनी क्रुस । उनी गोल गर्न सिपालु छन् नै, त्योभन्दा पनि गोलको अवसर निकाल्न माहिर छन् । चार वर्षअघि पनि उनले जर्मन टिमको सफलतामा ठूलो भूमिका खेलेका थिए, यसपटक पनि उनीबाट त्यस्तै अपेक्षा राखिनेछ ।
टिमका लागि खालि इतिहास मात्र अवरोध हुन सक्छ । अहिलेसम्म जति पनि टिमले कनफेडेरेसनकप जितेका छन्, तिनले विश्वकप जितेका छैनन् । फेरि विश्वकपमा विरलै कुनै टिमले उपाधिको रक्षा गरेको पाइन्छ । अहिलेसम्म इटालीले सन् १९३४ र १९३८ तथा ब्राजिलले सन् १९५८ र १९६२ मा लगातार उपाधि जितेका छन् । त्यसयता कुनै पनि टिमले लगातार उपाधि जितेको इतिहास छैन । अर्को तथ्य दोस्रो विश्वयुद्धमा जर्मनी रूसी भूमिमै निर्णायक रूपमा पराजित भएको थियो । यस्तोमा जर्मनीमाथि इतिहासलाई गलत सावित गर्ने चुनौती समेत हुनेछ ।
प्रकाशित :असार ३, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्