Teej banner

डियर तलब

- अधिकारी रवीन्द्र

असार ३, २०७५

श्री तलब महोदय, एक तलबजीवी तलबपीडित कर्मचारीको न्यानो अविभादन स्वीकार गर । इच्छा–आकांक्षा निरन्तर बेलुनजसरी फुल्दै छन्, महँगीले सगरमाथा छेक्न आँटिसक्यो, तर तिम्रो साइज ज्यूँका त्यूँ अर्थात् उस्ताको उस्तै छ । अलिकति भए पनि साइज बढाउँछौँ  कि भनेर एक वर्ष कुरियो । जेठ १५ मा बजेट भाषण पनि आयो । हिस्स बूढी हरिया दाँत भो । बरु बजेटमा तिम्रो शत्रु (कर) को निकै हालीमुहाली देखिन्छ । तिम्रो आफ्नो आकार भने कम्तीमा एक वर्षका लागि पुन: उही रहने निश्चित भयो । यसपालि नबढ्ने तिम्रो निर्णयले लाखौँको संख्यामा रहेका म जस्ता मध्यवर्गीय आशामुखीहरू मर्माहत भएका छौं । 

तिमी नबढ्नाले तिम्रो ठूल्दाई (पेन्सन) पनि बढेन । तिम्रो बा (वृद्धभत्ता) चुनाव अघिदेखि नै निकै फाँइफुट्टी लाउँथे, यसपालि उनी पनि बढ्न सकेनन् । खैर, तिम्ले धोका दिए पनि तिम्री सौतेनी आमाको छोरो (महँगी भत्ता) ले भने हामीलाई केहि सहानुभुति दिएको छ । २ हजारले बढेको छ त्यो । 

प्रिय तलब, जागिरे जीवन दु:खी जीवन रहेछ । यो दु:खी जीवनमा प्रवेश गरेको पूरै १० वर्ष लागेछ । यसबीच पाँच पटक तलब हेरफेर हुँदा २ सय ५० प्रतिशत बढेछ । यही समयमा दस पटक जति पेट्रोलियम पदार्थको मूल्य वृद्धि भयो होला । बजारभाउको त कुनै लेखाजोखा नै छैन । सुरुमा २० रुपैयाँमा एक छाक टर्ने सब्जी पाइन्थ्यो, अहिले त्यही स्तरको सब्जी सय रुपैयाँमा मुस्किलले आउँछ । १३ सयमा बस्दै आएको कोठाको भाडा अहिले ४५ सय तिर्दैछु, तसर्थ यो एक दशकमा कमाइको तुलनामा खर्च निकै बढेको आभास गर्दैछु । 

प्रिय तलब, तिम्रै दर्शनका खातिर हामी तलबजीवीहरू मरिमरी २५–३० दिन काम गर्छौं । तलब आउने साता खल्ती रित्तिएर पूरै टाट भइन्छ । यो सरसापटको याम हो । फेरि सबैको हालत उही भएकाले कसैले ठूलो रकम सापट दिँदैनन् । बिहे नभएका ठेट्ना साथी परे भने अलिक फाइदा हुन्छ, कारण उनीहरूसँग यतिबेलासम्म पनि राम्रै रकम एकाउन्टमा हुन्छ । यही साता हो, तलब आएपछि यसो गर्छु र उसो गर्छु भनेर सपना बुन्ने । आफ्ना इच्छा तथा योजनाहरू पूरा गर्न ठुलै ग्रान्ड डिजाइन तयार पारिन्छ । 

तलब, तिमी आउने दिन त मन यति फुरुङ्ग हुन्छ कि कुरै छाडौँ  । नयाँ पाइन्ट किन्न पाइन्छ भनेर आफू दङ्ग । नातेदार वा साथीभाइको विवाहमा लगाउन पार्टी सुज किन्न पाइन्छ भनेर श्रीमती दङ्ग । बाउले फिजेट स्पिनर किनिदिन्छन् भनेर पाँचवर्षे छोरो दङ्ग । पसलको उधारो तिर्दिन्छ भनेर हजुरबा दङ्ग । डिस टिभी रिचार्ज गर्दिन्छ भनेर बुवा दङ्ग । सबै जना दङ्ग हुने दिन, महिनाको अन्तिम दिन अर्थात् तिमी आउने दिन । 

बैंकको खाता निमिट्यान्न हुने गरी सबै पैसा निकालेर जब घर ल्याइन्छ तब सुरु हुन्छ एक महिनाको यात्रा, जुन तिम्रै भरमा अघि बढ्छ । पहिलो साता बिन्दास चल्छ । रहरका कपडा, रेस्टुराँ, क्यापिचिनो, सिजलर, कबाब, थिएटर, विकेन्ड क्लब डान्स वा फेन्सी टुर । दोस्रो साता आउने हप्तालाई ग्रोसरीको जोहो, पानी, बिजुली, टिभी, इन्टरनेट, फोन आदिको बिल, छोराको मोन्टेश्वरीको फी, हजुरबुवाको अक्सिजन सिलिन्डर, बुवाको प्रेसरको औषधी, श्रीमतीको आइलाइनर, छोराको एक्सरसाइज बुक । खाजाको स्तर यो साता मम र चाउमिनमा झरिसक्छ । पहिलो साता फेसबुकमा अपलोड गरिएका तस्बिरमा आएका लाइक कमेन्ट हेरेर रमाउने पनि दोस्रो साता नै हो । 

पहिलो साता मोज गरेर टन्नै पैसा मासिन्छ । दोस्रो साता बचेँखुचेको सकिन्छ । तेस्रो साता अब तानतुन गर्दै अघिल्लो महिनाको सापटी तिर्नैपर्ने हुन्छ । नतिरे अब आउने साता फेरि कसरी सापटी पाउनु ? चौथो साता लाग्दा त गोजी टक्कनटाट नै हुन्छ । 

कसैले कुनै योजना अघि सारिहाले भने पैसो न सैसो टिकी ट्यास्–ट्यास् भनेर पन्छिने काम गरिन्छ । सीधा अफिस जाने, सिधा घर आउने । न दायाँ न बाँया । छोराको बिहे परे भिन्नै कुरा नत्र छोरीको बिहेको निम्तो पनि मानिँदैन । ससुराली वा मामाघरतिर केही कार्यक्रम परे खामको लोभमा टाउकोले टेकेर पुगिन्छ । तलब आउनासाथ तिर्छु भन्दै साथीभाइसँग दारा ङिच्याउँदै २–४ हजार सापट माग्न पुगिन्छ । कतिले दिन्छन्, कतिले यसपालि मैले चाहिँ तसँग माग्न आँटेको भन्दिन्छन् । अब भने सामान पनि उदारो ल्याइन्छ । यो साता आर्थिक दुरावस्थाले परिवारमा किचलो र अशान्ति मच्चिन्छ अनि कहिल्यै विश्वास नलाग्ने राशिफलका पानाहरू पल्टाउन बाध्य हुनुपर्छ । तिमी आएपछि सब थोक ठीक हुन्छ भन्ने आशैआशमा यो हप्ता बित्छ । 

यसरी तिम्रै सेरोफेरोमा हामी जागिरेको परिवार टिकेको छ । यसपालि तिमी नबढेर धेरै इच्छाको हत्या भएको छ । थाइल्यान्ड घुम्न नपाइने भो, छोरालाई राम्रो स्कुलमा हाल्न नपाइने भो । घरमा बार्दली थप्न नपाइने भो— सूची निकै लामो छ । बजारभाउ हेर्दा तिमी साह्रै दुब्लो देखिएका छौ । अर्को बजेटमा तिमी यति मोटाउ कि कर्मचारीको दरिद्रता घुस र कमिसनमा गएर नठोक्कियोस् । 

                                                                                                        उही तिम्रो

                                                                                                        तलबपीडित

ravinems@iom.edu.np

Facebook.com/AdhiQarie

प्रकाशित :असार ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्