दु:खको मूल्य

- सुविन भट्टराई

असार २, २०७५

दु:ख दु:खै हो । दु:खको रङ्ग सुखको रङ्गभन्दा धेरै फरक छ । हरकोहीलाई दु:ख छेउमै नआइदियोस् जस्तो लाग्छ । हरकोहीलाई यसको छेउछाउबाट पनि गुज्रनु नपरोस् जस्तो हुन्छ । मान्छे दु:खी हुनु नपरोस् भनेर संघर्ष गर्दै गर्दा थाकेर दु:खी छ । मान्छे संसारमा दु:ख किन छ भन्ने सोचेर नै दु:खी छ । मान्छे सुखको धेरै लोभ गर्ने भएकाले दु:खी छ । मान्छे दु:खी छ, दु:खसित बसउठ गर्न नजानेकाले । मान्छे दु:खी छ, दु:खसित राम्रोसँग परिचित हुन नसकेकाले ।

मान्छे दु:खी छ दु:खलाई आत्मसात् गर्न अभ्यस्त नभएकाले । 

दु:खको अस्तित्व देखेर नै सिद्धार्थ गौतम बुद्ध भए । हरदु:ख विष होइन । हर दु:ख दुस्मन पनि हुँदैन । हरदु:खले सधैँ दु:ख दिँदैन । दु:ख सधैँ हाम्रो यात्राको अवरोध बनेर आउने पनि होइन । हर दु:खका बादलले आँसुको वृष्टि गराउने पनि होइन । दु:ख पनि क्षणभङ्गुर हो, सुखजस्तै । मानिसको जीवनमा हरेक दु:खको पनि आयु हुन्छ, सुखको जस्तै । 

०००

प्रकृतिले आँसुलाई परेलीमै कतै थुनिराख्न बनाएको होइन, भित्रैदेखि निचोरिएर बगाइदिन बनाएको हो । आँसु सुकेर रसाएको हाँसो जतिको मीठो संसारमा खै अरू के होला र ?

हरदु:खले सुखलाई पछ्याइरहेको हुन्छ । हरसुखले पनि दु:खलाई पछ्याइरहेको हुन्छ । हरकोहीको जीवनमा यी दुवैको ठाउँ छ । हुनुपनि पर्छ । दु:खसित डराएर जथाभावी दौड्नु पनि मूर्खता हो । सुख देखेर अन्धाधुन्ध पछि लाग्नु पनि मूर्खतै हो । 

केही दु:खले मान्छेलाई मान्छे बनाउँछन् । केही मान्छेले दु:खलाई मनमनमै गुणन गरे जबरजस्त ठूलो बनाउँछन् । केही दु:खले मान्छेलाई दुनियाँ चिन्न सघाउँछन् । केही दु:खले मान्छेलाई जीवनभर कसैले नपढाएको पाठ सिकाउँछन् । 

मान्छेलाई दु:ख मात्र पर्नुपर्छ, साथी र शत्रु पनि सर्लक्कै छुट्टिन्छन् । मान्छेलाई दु:ख मात्र पर्नुपर्छ, ठिक्क पार्ने र माया गर्नेका रङ्ग पनि देखिन्छ ।

दु:खैले त हो आफैँलाई निखार्न सकिने, दु:खैले हो आफैँलाई तिखार्न सकिने । दु:खहरू छन् र त सुखको पनि मूल्य छ । सधैँ हाँस्दा त हाँसोको पनि स्वाद हुँदैन । सधैँ रमाउँदा त रमाइलोको पनि मजा हुँदैन । सधैँभरिको एकनासको खुसीमा त मान्छे खुसी भैरहन पनि सक्दैन । हरेक दिन दीपावली भयो भने उज्यालोको पनि के मूल्य होला ? हरेक दिन शनिबार भयो भने त्यही शनिबार हाम्रो दु:खको कारण बन्ला । हप्ताभरि काम गर्नेले शनिबारको स्वाद जसरी लिन्छन्, त्यसरी लिएको सुखको स्वाद मीठो । दिनभरि थाकेर बेलुकी ओछ्यानमा पल्टँदाको सु:ख र आराम दिनभरिको दु:ख र श्रमका कारण नै मीठो छ । 

दु:ख भन्ने चीज तत्कालका लागि मात्र दु:ख हुन्छ, कालान्तरमा त्यही दु:ख अनुभवको दराजमा एउटा स्मृतियोग्य खजाना बनेर बसिदिन्छ, जसलाई अनुभवको त्यो दराज खोलेर बेला–बेला ओल्टाइ–पल्टाइ गर्न मन लाग्छ । सुमसुम्याउन मन लाग्छ । कुनै समयमा कसैले भोगेको दु:ख नै संसारमा धेरै पढिने पुस्तक भएका छन्, धेरै सुनिने संगीत भएका छन्, धेरै हेरिने चलचित्र भएका छन्, सुनिरहूँ लाग्ने कुरा भएका छन् । दु:ख ऊर्जा हो, जसबाट सयौँ वाटको बिजुली नबले पनि हजारौँ लाखौँ मान्छेका लागि सिक्ने–सिकाउने कुरा निस्कन्छन् । दु:ख पिरो अचार हो, जसले जिन्दगी नाउँको परिकारलाई ट्वाक्क बनाइरहेको छ । 

मलाई सुखको त्यो उचाइ प्रिय लाग्छ जहाँ पुग्नका लागि मैले दु:खका केही खुड्किला पार गरेको छु ।

प्रकाशित :असार २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्