रोयल्टीमा उत्साह

- कृष्ण भट्टराई

असार १, २०७५

 

पछिल्ला दुई महिनामा सार्वजनिक यातायातमा प्रयोग भएका नेपाली गीत–संगीतबाट झन्डै ४७ लाख रुपैयाँ रोयल्टी संकलन भएको सार्वजनिक भएपछि सम्पूर्ण सांगीतिक क्षेत्रमा उत्साह सञ्चार भएको छ । अघिल्लो साता काठमाडौंमा संगीतकर्मीहरूका तीन भिन्न संस्थाले आयोजना गरेको एउटै कार्यक्रममा यातायात क्षेत्रबाट संकलन भएको रकमको जानकारी गराइँदा त्यहाँ उपस्थित अग्रजदेखि कनिष्ठ संगीतकर्मीको मुहार हर्षित देखिन्थ्यो । संगीत रोयल्टी संकलन समाज, प्रस्तोता समाज नेपाल तथा संगीत उत्पादक समाज नेपालले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रमको एक मात्र उद्देश्य थियो– संकलित रोयल्टीको न्यायोचित वितरणका लागि राय–सुझाव संकलन गर्नु । 

सरकारले यातायात क्षेत्रमा वर्षौंदेखि चलिआएको सिन्डिकेट तोड्नु तथा सार्वजनिक यातायातमा बज्ने नेपाली गीत–संगीतको रोयल्टी प्राप्त गर्न थाल्नु करिब–करिब एउटै समयमा भएको छ । यद्यपि यातायात कार्यालयका कर्मचारीहरूको असहयोगका कारण जुन गतिमा रोयल्टी संकलन हुनुपर्ने हो, हुन नसकिरहेको गुनासो संगीत रोयल्टी संकलन समाजका महासचिव महेश खड्काको छ । खड्काका अनुसार यातायात कार्यालयका कर्मचारीहरूले सहयोग गर्ने हो भने एक वर्षको अवधिमा सार्वजनिक यातायातबाटै करोडौं रुपैयाँ रोयल्टी संकलन हुन्छ । 

संगीतकार संघ नेपालका उपाध्यक्ष पनि रहेका खड्काका अनुसार संगीत रोयल्टी संकलन समाज, प्रस्तोता समाज तथा संगीत उत्पादक समाज नेपालले नेपालमा करिब ३९ वटा त्यस्ता क्षेत्र निर्धारण गरेका छन्, जहाँबाट नेपाली गीत–संगीतले रोयल्टी संकलन गर्न सक्छ । खड्कामा अनुसार अहिले नेपाल टेलिकम, एनसेल तथा केही रेडियो स्टेसन एवं भर्खरै प्रारम्भ भएको यातायात क्षेत्रबाट मात्र रोयल्टी संकलन भैरहेको छ । होटल, रेस्टुराँ, पार्टी प्यालेस, सभा हल, पिकनिक स्पट, मेला, महोत्सव, फुटबल तथा क्रिकेट मैदानसहित त्यस्ता हरेक सार्वजनिक स्थलबाट रोयल्टी संकलन गर्न सकिन्छ, जहाँ नेपाली गीत–संगीत प्रसारण गरिन्छ । 

संगीत उत्पादक समाज नेपालका अध्यक्ष निर्मल ढकालका अनुसार तीनवटा संस्थाले निर्धारण गरेका स्थानबाट रोयल्टी संकलन गर्ने हो भने एक वर्षको अवधिमै अर्बाैं रुपैयाँ संकलन हुनसक्छ । यो प्रसंगमा प्रस्तोता समाज नेपालका अध्यक्ष तुलसी पराजुली रोयल्टी संकलनका लागि संगीतकर्मीहरू जागरुक भए जस्तै नेपाली गीत–संगीतका प्रयोगकर्ताहरू पनि जागरुक हुनुपर्ने धारणा व्यक्त गर्छन् । 

वैज्ञानिक वितरणको तयारी 

संगीत रोयल्टी संकलन समाज, प्रस्तोता समाज नेपाल तथा संगीत उत्पादक समाज नेपालले हालै आयोजना गरेको छलफल कार्यक्रमको मुख्य उद्देश्य संकलित रोयल्टी कसरी वैज्ञानिक रूपमा वितरण गर्ने भन्नेमा केन्द्रित थियो ।

प्रस्तोता समाज नेपालका अध्यक्ष तुलसी पराजुलीका अनुसार टेलिकम तथा सञ्चारमाध्यमबाट प्रसारण भएका गीत–संगीतको यथार्थ तथ्यांक संकलन गर्न सहज भए पनि सार्वजनिक यातायात, मेला–महोत्सव जस्ता स्थानमा प्रसारण भएका गीत–संगीतको डाटा संकलन गर्न गाह्रो छ । रोयल्टी संकलनको क्षेत्रमा कार्यरत संस्थाले विश्वव्यापी मान्यता अनुरूप रोयल्टी वितरण गर्ने योजना बनाएका छन् ।

छलफल कार्यक्रममा सहभागी अग्रज संगीतकर्मीहरूले योगदानका आधारमा रोयल्टी वितरण गरिनुपर्ने सुझाव दिएका छन् । यद्यपि कुन शैलीबाट रोयल्टी वितरण गरिने हो– निश्चित भैसकेको छैन । 

अहिले प्रस्तोता समाज नेपालले गायक–गायिका तथा प्रस्तोताहरूको रोयल्टी संकलन गरिरहेको छ भने संगीत रोयल्टी संकलन समाज नेपालले गीतकार तथा संगीतकारहरूले पाउने रोयल्टी संकलन गरिरहेको छ । संगीत उत्पादक समाज नेपालले भने संगीतमा लगानी गर्ने निर्माताहरूले पाउने रोयल्टी संकलन गरिरहेको छ । हामी तीनवटै संस्थाले वैज्ञानिक तरिकाबाट कसरी न्यायोचित शैलीमा रोयल्टी वितरण गर्ने छलफल गरिरहेका छौं, समाजका महासचिव खड्का भन्छन्–‘निकट भविष्यमै हामी सबैलाई चित्त बुझ्ने गरी रोयल्टी वितरण गर्न सफल हुनेछौं भन्ने कुरामा विश्वस्त छौं ।’

प्रकाशित :असार १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्